शारजहाँमा पारा खेलाडी रञ्जनाले जितिन् कांस्य

जेष्ठ १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालकी पारा तेक्वान्दो खेलाडी रञ्जना धामीले चीनको हाङझाउमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य जितेकी छन् ।

यूएईको शारजहाँमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि रञ्जना सेमिफाइनलमा काजकिस्तानकी मिलानासँग १८–१६ ले पराजित गरिन् ।

शीर्ष दुई स्थानमा रहने खेलाडीमात्र एसियाली पारा खेलकुदमा छनोट हुने प्रावधान रहेकाले रञ्जना छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

नेपालका अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भएका छन् । के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसँग ३३–३७ ले पराजित भए ।

पारा ओलम्पियन पलेशा गोबर्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी गराएका छन् ।

कान्तिपुर

Link copied successfully