मकवानपुर गोल्डकपमा जेठ १९ देखि

सुवास विडारी

मकवानपुर — चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ हेटौंडामा यही जेठ १९ गतेदेखि सुरु हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका १० वटा स्थानीय तहको सहयोगमा हुने प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुने छ ।

मकवानपुर गोल्डकपमा जेठ १९ देखि

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित १० वटा चर्चित फुटबल क्लबहरुले सहभागी हुनेछन् । प्रतियोगितामा विभागीय क्बल नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, वाग्मती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा र चितवन–११ सहभागी हुने बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजकका अनुसार विदेशी क्लब एभिनियर एफसी क्यामरुन पनि प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतियोगिता विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने फुटबल संघ अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिताका लागि करिब १ करोड १७ लाख खर्च अनुमान गरिएको छ । ‘यस वर्ष हामीले प्रथम र द्वितीय पुरस्कारमा वृद्धि गरेका छौं । जसकारण प्रतियोगिता अझै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ’, लामाले भने ।

अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो । राष्ट्रिय खेलाडीहरु अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेका कारण यस वर्ष मच्छिन्द्र, थ्रीस्टार र मनाङ भने प्रतियोगितामा सहभागी हुने छैन ।

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कार व्यवस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

प्रतियोगिता पुस महिनामै हुनुपर्ने भए पनि विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र ए डिभिजन लिगका कारण मिति सारिएको हो । केही दिनभित्र खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?