३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘खेलाडी त राजा हुन्, म सेवकमात्र हुँ’

प्रशिक्षक अल्मुताइरीले विद्रोह गर्ने खेलाडीबारे कहिल्यै केही नबोल्ने वाचा गरे
हिमेश

काठमाडौँ — एसिया कप छनोट तेस्रो चरणको तयारीलाई नेपाली राष्ट्रिय फुटबल टोली बुधबार कतार गएको छ । यसैक्रममा नयाँ तथ्य बाहिर आएको छ, नेपालले कतार बसाइका क्रममा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यो टिमोर लिस्टे र ओमानविरुद्ध । यसअघि अफगानिस्तानविरुद्ध खेल्ने कार्यक्रम थियो । त्यो रद्द भइसकेको छ । अब नेपालले नयाँ प्रतिद्वन्द्वी पाएको छ । दुई साताको कतार बसाइपछि नेपाल कुवेत जानेछ ।

‘खेलाडी त राजा हुन्, म सेवकमात्र हुँ’

अबको एक महिनाभन्दा कम समयमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । एन्फाले नै गठन गरेको प्रशिक्षक–खेलाडीबीचको विवाद छानबिन कमिटीले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । त्यसमा भनिएको छ, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई एसिया कप छनोटपछि हटाए हुन्छ । प्रतिवेदनमा अल्मुताइरीको यस्तो र उस्तो कमजोरी छ भनेर औंल्याइएको छ । विद्रोही खेलाडीका कमजोरीहरू पनि केलाइएको छ ।

यसबीच प्रशिक्षक स्वयं लामै समय चुपचाप जस्तै रहे । टिमको प्रशिक्षणमा भने लगातार खटिरहे । प्रतिवेदन आएकै दिन उनले कुवेत जाने टिमको घोषणा गरे । त्यसमा उनीसँग विवाद गर्ने १० खेलाडी त थिएनन् नै । यिनै खेलाडीको समर्थन गर्ने नियमित कप्तान तथा गोलरक्षक किरण लिम्बु पनि थिएनन् । यिनै प्रशिक्षक अल्मुताइरी टिमसँग कतार जानुअगाडि भने कान्तिपुरसँग कुराकानी गर्न तयार भए ।

पहिलो प्रश्न थियो, के यो नेपाली मिडियासँग अन्तिम कुराकानी पक्कै हुने छैन ?

उनको जवाफ थियो, ‘भगवान्ले चाहेमा यस्तो हुने छैन ।’ कतार बसाइका क्रममा टिमले के कस्तो गर्ने योजना छ त ? उनले थपे, ‘कतारमा हामीले तीन मैत्रीपूर्ण खेल खेल्नेछौं ।’ त्यसमध्ये दुई खेल त टिमोर लिस्टे र ओमानविरुद्ध भइहाल्यो । अर्को एक खेल को विरुद्ध हुनेछ, त्यो उनले खुलाउन चाहेनन् । यतिमात्र भने, ‘कतार बसाइ निकै छोटो छ, तर त्यहाँ बस्नेक्रममा खेलाडीको फिटनेस उच्च हुनेछ । टिममा के कस्ता समस्या हुनेछ त्यो थाहा हुनेछ ।’

विश्वकप छनोटमा नजर

प्रशिक्षक अल्मुताइरीले नेपाली टिम र आफ्नो लागि तत्कालका लागि एसिया कप छनोट मुख्य लक्ष्य नभएको बताए । बरू उनको नजर अबको विश्वकप छनोटतिर छ । उनले भने, ‘हाम्रा लागि एसिया कप छनोट निकै गाह्रो छ । जसरी सबै खेल एकै स्थानमा हुन लागेको छ, त्यसले हामीलाई गाह्रो बनाएको छ ।’ यी मैत्रीपूर्ण खेलबाहेक नेपालले कतारमा ६ दिनको कडा प्रशिक्षण पनि गर्नेछ । त्यसपछि नेपाली टिम कुवेत जानेछ । त्यहाँ सुरुआती दुई दिन प्रशिक्षणमै बिताउने छ ।

नेपालको पहिलो खेल जोर्डनविरुद्ध खेल्नेछ । त्यसपछि कुवेत र इन्डोनेसियाको पालो आउने छ । उनी यी तीनै टिम नेपालका लागि कडा प्रतिद्वन्द्वी हुने मान्छन् । इन्डोनेसियाविरुद्धको खेल पहिले भएको भए नेपाललाई केही राहत हुने अल्मुताइरीको तर्क छ । तर नेपालको पहिलो खेल नै उच्च वरीयताको टिमविरुद्ध हुनेछ । खेल समय पनि नेपालीका लागि कठिन हुन सक्नेछ । किनभने दुई खेल स्थानीय समयअनुसार राति १० बजे सुरु हुनेछ ।

त्यस समयको खेलका लागि टिमको व्यवस्थापन गर्नु निकै गाह्रो हुने मान्छन् उनी । कुवेतविरुद्धको खेल भने स्थानीय समयअनुसार सवा ७ बजेतिर हुनेछ । तर उनलाई के विश्वास छ भने कुवेतविरुद्धको खेल छाडेर अन्यमा स्थानीय दर्शकले समर्थन गर्ने भनेको नेपालकै लागि हो । यस छनोटमा नेपालको सम्भावनालाई लिएर उनको भनाइ छ, ‘हाम्रो फुटबल भर्खर जस्तो विस्तारै अगाडि बढ्दै छ । हामीले भर्खर केही सही पाइला चालेका छौं, त्यसैले छनोटमा हाम्रो प्रदर्शन सम्माजनक हुनुपर्छ, धेरै आस गर्नुहुन्न ।’

कुवेत जान लागेको टिमको सबैभन्दा ठूलो विशेषता हो, खेलाडीको औसत उमेर छ २१ वर्ष । यसलाई लिएर उनी खुबै उत्साही छन् र भन्छन्, ‘यो टिमले मज्जाले अबका ८–१० वर्ष खेल्न सक्छ । एसिया कप छनोटपछि हाम्रो ध्यान विश्वकप छनोटमा केन्द्रित हुनुपर्छ । अबको विश्वकप छनोट हामीजस्तो तल्लो वरीयताका टिमका लागि निकै फाइदाजनक छ, किनभने यस छनोटमा बढी खेल र अवसर हुनेछ । यो हाम्रा लागि राम्रो छ ।’

साफ जित्ने लक्ष्य

अहिले तत्कालका लागि नेपाली फुटबलको लक्ष्य समृद्ध राष्ट्रिय टिम बनाउनुपर्ने मान्छन् प्रशिक्षक अल्मुताइरी । उनी खेलको नतिजालाई त्यसपछि मात्र स्थान दिन्छन् । उनी भन्छन्, ‘तर दक्षिण एसियाली स्तरमा कुरा गर्ने हो भने हाम्रो लक्ष्य जित र उपाधि नै हुनुपर्छ । मेरो लक्ष्य विश्वकप छनोटमात्र होइन, साफ च्याम्पियनसिप पनि छ । साफमा राम्रो प्रदर्शन गर्ने हो भने हामीलाई तीन तत्व आवश्यक पर्नेछ । ती हुन्, खेलाडीको समूह यही हुनुपर्छ, कडा मिहिनेत जारी राख्नुपर्छ अनि हामीलाई भाग्यको केही साथ पनि चाहिन्छ ।’

उनी नेपाल एकपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेपछि त्यसमै मात्र सीमित हुन नहुने पनि मान्छन् । उनकै नेतृत्वमा एक वर्षअघि नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । उनी भन्छन्, ‘अबको साफ च्याम्पियनसिपमा हाम्रो लक्ष्य भनेको कम्तीमा फाइनल पुग्नुपर्छ । हामीसँग अब एक फाइनल खेलेको अनुभव त भइसक्यो, त्यसैले अब उपाधिका लागि खेल्नुपर्छ । मलाई विश्वास छ, अर्को संस्करणमा पनि हामी फाइनल पुग्नेछौं । त्यतिबेला हाम्रो लक्ष्य जितमात्र हुनुपर्छ ।’

खेलाडीको सेवक हो प्रशिक्षक

यसका लागि उनी समग्र नेपाली फुटबलले नै कडा मिहिनेत गर्नुपर्ने मान्छन् । मिहिनेतसँगै अनुशासन पनि । उनी भन्छन्, ‘विना अनुशासन फुटबलमा केही पनि हुन्न । नियम सबैमा लागू हुन्छ, खेलाडी र प्रशिक्षक दुवैमा । म के भन्छु भने भविष्यमा जो कोही पनि नेपाली राष्ट्रिय टिममा पर्न सक्छ । उनको नाम के हो र उनले के कस्तो खेलेको छ, त्यसबारे पछि मात्र सोचिने छ । मेरो एकमात्र प्रश्न हुनेछ, के ती खेलाडी अनुशासनमा बस्ने छन् र नियम पालना गर्नेछन् ?’

अझ उनी के पनि भन्छन् भने यो नियम उनको आफ्नो हुने छैन । बरू, फिफा र एएफसीले तयार पारेको आचारसंहिताअनुसार हुनेछ । भन्छन्, ‘धेरैले भन्न थालेका छन् म तानाशाही छ, हिटलर हो, सद्दाम हो भनेर । तर सबैले नियम पालना गर्ने हो भने केही पनि समस्या हुने गर्दैन । अहिले जे जति विवाद भइरहेका छन्, त्यसले स्थिति वास्तवमै खराब गरेको छ, तर मेरो आफ्नै लागि भने राम्रो भएको छ । अब विश्वकप छनोटमा कस्तो टिम हुनुपर्छ भनेर मलाई स्पष्ट चित्र अगाडि आएको छ ।’

उनले आफूलाई हुनसक्ने बर्खास्तगीको निर्णयप्रति पनि प्रस्ट धारणा राखे । उनले भने, ‘यसबारे मेरो स्पष्ट धारणा छ, मेरो अनुबन्ध सन् २०२४ को डिसेम्बरमा सकिन्छ । यदि एन्फाले मलाई बर्खास्त गर्छ भने त्यस निर्णयको म सम्मान गर्नेछु र घर फर्केनेछु । होइन, मलाई राख्न चाहनुहुन्छ भने म अझ बढी मिहिनेतले काम गर्नेछु । मसँग केही कसैप्रति खराव धारणा छैन् । कोही कसैसँग मेरो समस्या छैन । कोही खेलाडीसँग पनि समस्या छैन । अझ भनौं, कोही नेपालीसँग पनि मेरो समस्या छैन ।×’

अल्मुताइरीले अब आफ्नो ध्यान काममा मात्र सीमित हुने सुनाए । उनले थपे, ‘म के भन्छु भने नेपाली राष्ट्रिय टिमका प्रत्येक सदस्य राजा हुन् भने म तिनको सेवक हुँ । मेरो काम नै खेलाडीको सेवा गर्ने हो । म मात्र के हो र, पूरा विश्वकै प्रशिक्षकको काम यही हो ।’ उनी के मान्छन् भने प्रशिक्षकले काम गर्दा केही राम्रो हुन्छ, केही नराम्रो हुन्छ । सबै राम्रो र सबै नराम्रो भन्ने हुन्न । उनले थपे, ‘नेपाली प्रशिक्षक भएर मैले पनि केही भुल गरेको छु, विशेषतः भारतविरुद्धको साफ च्याम्पियनसिपको खेलमा ।’

त्यस्तै साफ च्याम्पियनसिपपछि फेरि नेपाल फर्कनु केही हदसम्म गलत भएको मान्छन् उनी । उनी के भन्छन् भने उनलाई विश्वास थियो, नेपाली फुटबलमा राम्रो हुनेछ । भन्छन्, ‘मसँग नेपाली फुटबललाई लिएर तीन वर्षको योजना थियो । मलाई लाग्छ, फुटबलमा मात्र होइन, समग्र नेपाली समाजमै परिवर्तन आइरहेको छ । मन परे पनि मन नपरे पनि परिवर्तन भइरहेको छ । चुनावबाट काठमाडौंमा बालेन्द्र साहको उदय पनि परिवर्तन हो । यो युवाले समाजमा ल्याएको परिवर्तन हो ।’

विद्रोही खेलाडीबारे नबोल्ने

प्रशिक्षक अल्मुताइरीले आफूविरुद्ध विद्रोह गर्ने खेलाडीबारे कहिल्यै केही नबोल्ने वाचा गरे । उनले भने, ‘यस विषयमा मैले केही र कहिले पनि बोल्ने छैन । म यति भन्छु, कसैलाई पनि त्यसै आरोप लगाउनुहुन्न ।’ उनी के मान्छन् भने यी विद्रोही खेलाडीविना नेपाल एसिया कपमा छनोट हुन्छ भने ती सबै खराब भन्ने हुन्न । अथवा नेपाल एसिया कपमा छनोट हुन्न भने अहिलेका खेलाडी खराब भन्ने पनि हुन्न । एउटै तथ्य भनेको सबैले नियम मान्नुपर्छ, अनुशासनमा बस्नुपर्छ ।

अल्मुताइरी भन्छन्, ‘म सबैको राम्रो होस् भन्ने चाहन्छु । सबै नेपाली खेलाडीको पनि । तर जतिबेलासम्म म नेपाली टिमको प्रशिक्षक रहने छु, खेलाडी छनोट गर्ने काम मेरोमात्र हो । कोही कसैलाई नेपाली टिममा पर्नु छ भने एउटै काम मात्र गर्नुपर्छ, लिगमा राम्रो खेल्ने । जसले लिगमा राम्रो खेल्छन्, त्यही राष्ट्रिय टिममा पर्नेछ । जसले राम्रो खेल्दैनन्, उनीहरू राष्ट्रिय टिममा पर्ने छैनन् । खेलाडीको नाम, उमेर, उनको क्लबबारे मलाई केही मतलब हुने छैन ।’

सेप्टेम्बरतिर एनएसएल भयो भने प्रशिक्षक अल्मुताइरी नेपालमै केही अन्तर्राष्ट्रिय खेल खेलाउने योजनामा छन् । उनी एसियाकै राम्रो टिम नेपाल ल्याउन सक्ने दाबी गर्छन् । यदि एनएसएल भएन भने नेपालले विदेशमा खेल्ने बताउँछन् । सायद युरोपमा । हामी फिलिपिन्स र लाओसविरुद्ध पनि खेल्न सक्छौं भन्छन् उनी । तर यो सबै योजना सफल पार्न एन्फाको निर्णय अन्तिम हुनेछ । उनी भन्छन्, ‘एन्फा चाहन्छ भने म फर्कने छु, होइन भने पनि ठीक छ ।’

एसिया कपपछि स्वास्थ्यमा ध्यान

अहिलेको एसिया कप छनोटपछि प्रशिक्षक अल्मुताइरीले तत्कालका लागि आफ्नो ध्यान आफ्नै स्वास्थ्य स्थितिप्रति हुने बताए । उनले शल्यक्रियाको सम्भावना रहेको बताए । उनले भने, ‘मैले केही लुकाएको छैन । सुरुदेखि भनेको छु, मुटुमा मलाई समस्या छ । थाइल्यान्डविरुद्धको खेलअघि म शल्यक्रियाबाट गुज्रिएको थिएँ । तर यो कसैलाई भनिनँ, किनभने यो व्यक्तिगत कुरा थियो । त्यसैले थाइल्यान्डविरुद्धको खेलका बेला म उभिन सक्ने स्थितिमा पनि थिइनँ ।’

उनले थपे, ‘तर अहिले सबैले मेरो स्वास्थ्य स्थितिबारे कुरा गरिरहेका छन् । तर मैले भन्नैपर्छ, नेपाली फुटबललाई लिएर मेरो धेरै जिम्मेवारी छ । मैले आफ्नो स्वास्थ्य स्थितिभन्दा नेपाली फुटबललाई प्राथमिकतामा राखें । नेपाल र नेपालीप्रति मेरो माया अगाध छ । अझै भन्छु, नेपाली फुटबलमा सबैले आ–आफ्नो काममात्र गर्ने हो भने केही समस्या हुने छैन । मलाई अझै नेपाली फुटबलका लागि धेरै गर्नु छ । एकले अर्कोलाई आरोप मात्र लगाउँदैमा केही हुन्न ।’

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?