२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रोयल तेस्रोपल्ट च्याम्पियन

काठमाडौँ — आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जीएए तेस्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलको यो ह्याट्रिक उपाधि जित हो ।

रोयल तेस्रोपल्ट च्याम्पियन

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स कलेजलाई ८५–८४ स्कोरले हरायो । ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो । यसपल्ट रोयलको जितमा निकेश मगरले ३४ स्कोर गरे । टाइम्सबाट मनीष केसीले ३७ स्कोर जोडेका थिए ।

निर्धारित क्वाटरको खेल ६७–६७ स्कोरको बराबरीमा सकियो । त्यसपछि पनि दुई पटक अत्तिरिक्त समय थप्नुपरेको थियो । थप पहिलो ५ मिनेटको अत्तिरिक्त समय पनि १०–१० को बराबरीमा टुंगियो । दोस्रो पटक थप गरिएको ५ मिनेट अत्तिरिक्त समयमा रोयल ८–७ ले अगाडि भयो । अन्ततः समग्रमा फाइनल १ स्कोर अन्तरले जित्यो ।

रोयलले ५० हजार र टाइम्सले १५ हजार रुपैयाँ पुरस्कार पाए । रोयलका आशिष बस्नेत मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । उनले ५ हजार नगदसहित शेर्पा चाइको गिफ्ट ह्याम्पर पाए । धरान मेघा कलेजले उदीयमान टिमको ट्रफी जित्यो ।

विजेतालाई नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङ, गोदावारी अल्मुनाइ एसोसिएन (जीएए) का अध्यक्ष प्रकाशबाबु केसी र शेर्पा चाइका हेड ब्रिवर दिल्लीराम कोइरालाले पुरस्कृत गरे ।

रोयलकै कोर्टमा भइरहेको फादर वाटरिन स्मृति महिला खुला बास्केटबल प्रतियोगिताको उपाधिका लागि रोयल र जेभियर कलेज बिहीबार प्रतिस्पर्धा गर्दैछन् ।

पाठशालामा बास्केटबल

पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसईई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा जनाइयो । प्रतिस्पर्धी टिमलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड छन् । विजेताले १५ हजार र उपविजेताले ८ हजार पुरस्कार पाउनेछन् । तीनदिने प्रतियोगिताका खेल आयोजक पाठशालाकै कोर्टमा हुनेछ ।


प्रकाशित : जेष्ठ ११, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?