वसन्तले टोकियो लिगको युथ टोली सम्हाल्ने

काठमाडौँ — नेपालका पूर्वराष्ट्रिय फुटबलर वसन्त गौचनले टोकियोमा अवस्थित चोफुओच्का सकर क्लबको युथ टोलीलाई प्रशिक्षण दिन सुरु गरेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपालि यो लिग ढिला सुरु भएको छ । 

वसन्तले टोकियो लिगको युथ टोली सम्हाल्ने

अप्रिलदेखि टी लिग सुरु भइसकेको छ । गौचनका अनुसार चोफुओच्काले तीन खेल खेलिसकेको छ । त्यसमा एक खेल जित, एक खेल हार, एक खेल बराबरीको नतिजा निकालेको छ । टी लिगमा ६८ टोली छन् । विभिन्न समूह बनाएर वर्षभर लिग खेल्नेछ । चोफुओच्काले वसन्तलाई एक वर्षका लागि अनुबन्धन गरेको हो ।

जापानको क्लबमा युथ टोली हेर्न पाउनु ठूलो चुनौती र अवसर भएको जनाउँदै वसन्तले भने, ‘विदेशी प्रशिक्षकका हिसाबमा यो आफैंलाई सिक्न पाउने अवसर हो । जापानीको आफ्नै फुटबल संस्कार हुन्छ, त्यसमा मैले के थप्न सक्छु त्यो महत्त्वपूर्ण हो । पुरानो क्लब भएकाले यसमा खेलाडीका अभिभावकको ठूलो समर्थनमा छु ।’

एउटा नेपालीले जापानमा युथ टोलीको प्रशिक्षण गर्न पाउनुलाई उनी ठूलो सफलताको रूपमा लिन्छन् । युथ आफ्नो रोजाइ पनि रहेको र भविष्यमा नेपालमा फर्केर पनि युथमै केन्द्रित हुन चाहेको गौचन बताउँछन् । गत वर्ष चोफुओच्का टी लिगको मध्य स्थानमा थियो । अहिले त्योभन्दा लाने चुनौती वसन्तसामु छ ।

जन्मथलो पोखरामा ड्यामसाइडबाट फुटबल यात्रा सुरु गरेर पोखरा फुटबल क्लब हुँदै रानीपोखरी कर्नर टिम, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिमबाट क्लब फुटबल खेलेका वसन्तले नेपालको यू–१६ हुँदै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । सन् १९९८ को एसियाली खेलकुद, १९९७ को ओलम्पिक छनोट र १९९९ को आठौं दक्षिण एसियाली खेलकुदपछि वसन्त नेपाली टोलीका परिचित अनुहार बनेका थिए ।

४० वर्षीय वसन्तले दुई दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आएका छन् । पछिल्लो एक दशक उनी प्रशिक्षण पेसामा छन् । एफएसीबाट प्रो लाइसेन्स गरिसकेका वसन्त पछिल्लो ७ वर्ष फन रुट्स एकेडेमीमा अनुबन्धित थिए । त्यसअघि जाक्पामा उनले दुई वर्ष बिताए । फन रुट्सकै सम्बन्धबाट आफू चोफुओच्कामा पुगेको वसन्तले सुनाए ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?