नवयुग बने २० औं कप्तान

हिमेश

काठमाडौँ — खेलको नियम नै हो, कोही बाहिरिनुको अर्थ कसैका लागि अवसर बन्नु हो । सबथोक ठीक चल्ने हो भने नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका २० औं कप्तान हुनेछन् । नेपालले एसिया कप छनोट तेस्रो चरणको आफ्नो पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । जेठ २५ मा हुने उक्त खेलमा नवयुग कप्तानको आर्मब्यान्डसहित खेलको सुरुदेखि मैदानमा उत्रनुपर्नेछ । 

नवयुग बने २० औं कप्तान

सम्भवतः मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई पहिलो रोजाइकै खेलाडीमा राख्नेछन् । एसिया कप छनोट तेस्रो चरणका लागि टिम कतार जानु अगाडि आयोजित बिदाइ समारोहमा नवयुगलाई कप्तानीको जिम्मेवारी दिने घोषणा गरिएको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीसँग विवादका कारण ११ खेलाडीलाई टिमबाहिर राखिएपछि नवयुगको भाग्य खुलेको हो ।

त्यसमध्ये १० खेलाडीले प्रशिक्षणका क्रममा टिम छाडेका थिए । नियमित कप्तानको भूमिकामा रहेका गोलरक्षक किरण लिम्बूले पनि विद्रोही खेलाडीको समर्थन गरेपछि उनलाई पनि टिममा राखिएन । इलामका नवयुगले सन् २०१५ मा भारतविरुद्ध पुनामा भएको मैत्रीपूर्ण खेलसँगै नेपालका लागि डेब्यु गरेका थिए ।

प्रशिक्षक ध्रुव केसीले नवयुगलाई ५५ औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गराएका थिए । उनी जगजित श्रेष्ठको स्थानमा मैदान छिरेका थिए । अहिलेको घोषित राष्ट्रिय टोलीमा उनी नै सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले अहिलेसम्म ४० क्याप जितेका छन् । उनको अन्तिम खेल भारतविरुद्ध साफ च्याम्पियनसिपको फाइनल रहेको थियो । नेपालका लागि नवयुगले ७ गोल गरेका छन् । त्यसमा सन् २०१६ को बंगबन्धु गोल्डकपमा गरेको ह्याट्रिक पनि पर्छ ।

सोही प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको यू–२३ टिमलाई पराजित गर्दा एक गोल नवयुगले नै गरेका थिए । उनी सन् २०१६ मै नेपालले भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा स्वर्ण जित्दाका नायक खेलाडी हुन् । उनले प्रतियोगितामा दुई ह्याट्रिकसहित ७ गोल गरेका थिए । यो ह्याट्रिक भुटान र माल्दिभ्सविरुद्ध थियो । उनले भारतविरुद्धको फाइनलमा पनि एक गोल गरे ।

नेपाली टिम बुधबार कतार जानेछ । पूर्वनिर्धारित कार्यक्रमअनुसार कतारमा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहे पनि त्यो स्थगित भइसकेको छ । कतारमा नेपाली टिमले थप तयारी गर्नेछ र त्यसपछि कुवेत जानेछ । जोर्डनविरुद्धको पहिलो खेलपछि नेपालले समूह ‘ए’ का खेलमा अन्य खेलमध्ये जेठ २८ मा कुवेत र ३१ मा इन्डोनेसियाको सामना गर्नेछ ।

तेस्रो चरणको समाप्तिमा प्रत्येक समूहका विजेता र दोस्रो स्थानमा रहने पाँच टिम चीनमा हुने एसिया कपका लागि छनोट हुनेछन् । अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टिममध्ये गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा छन् । यस्तै डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल छन् ।

मिडफिल्डरमा आकाश बुढाक्षेत्री, एरिक विष्ट, नीरकुमार राई, पूजन उपरकोटी, रोशन रानामनगर, सन्तोष तामाङ, सेसेहाङ आङदम्बे, सुनील बल र सुरजज्यु ठकुरी रहेका छन् । फरवार्डमा नवयुगसँग आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की र मनीष डाँगी छन् । यो टोलीमा चार खेलाडीले नेपालका लागि डेब्यु गर्न बाँकी छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?