कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

‘सबै पक्षको सल्लाहमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने निर्णय भएको हो’

काठमाडौँ — गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद चार महिना पछाडि सरेर असोज–कात्तिकमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले मंगलबार यो निर्णय गरेको हो । त्यसअनुसार अब असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव हुनेछ । 

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

यसअघि प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुने तय भएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मंगलबार पत्रकार सम्मेलन गर्दै सबै पक्षको सल्लाहमा प्रतियोगिता सार्ने निर्णय भएको जानकारी गराए । उनले भने, ‘अब हामीसँग प्रतियोगिता आयोजनाका लागि पर्याप्त समय छ । त्यसैले यसअघिका प्रतियोगितामा भएका सबै कमीकमजोरी सच्याएर सफल आयोजना गर्नेछौं ।’

उनले थपे, ‘बजेट कार्यान्वयन अवधि पनि पुगेन । हामीले फास्ट ट्र्याकमा बजेट ल्याउने योजना बनाएका थियौं, त्यो भएन । स्थानीय निर्वाचनले गर्दा पनि सबै तयारी पुगेन । आयोजक गण्डकी प्रदेशले पनि तयारी नपुगेको बतायो । अब मौसम, शैक्षिक कार्यक्रम, सांस्कृतिक चाडपर्व सबै मिल्ने गरेर नयाँ मिति तय गरेका छौं ।’ प्रतियोगिता पछाडि सरे पनि यसलाई लिएर पूर्वनिर्धारित कार्यक्रम भने त्यसैअनुसार सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ औं एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ । एसियाली खेलकुद स्वयं पछाडि सरेको स्थितिमा राष्ट्रिय खेलकुद पनि पछाडि सरेको हो । प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् ।

समावेश खेलमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आईटीएफ तेक्वान्दो,सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ रहेको छ । रग्बी पहिलो पटक समावेश गरिएको हो । दुई परम्परागत ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको तयारीसम्बन्धी राखेपको ११२ औं बोर्ड बैठक बसी निर्देशिका तथा बजेटको प्रकृया अगाडि बढाएको जनाउँदै लोगो, मस्कट र नारा सार्वजनिक भइसकेको बताए । उनले टिम छनोटका लागि सबै प्रदेश र संघहरूलाई पत्राचार भइसकेको बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?