एन्फा निर्वाचन

शेर्पाको उम्मेदवारी

‘फुटबललाई संस्थागत, सामूहिक र विकेन्द्रीकरण गर्ने काम गर्‍यौं’

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षको कार्यकालमा आफ्नो वचनअनुसार सबै काम पूरा गरेको दाबी गरेका छन् ।

शेर्पाको उम्मेदवारी

सोमबार उनले असार ६ गते हुने एन्फा निर्वाचनमा फेरि नेतृत्वका लागि चुनौती पेस गर्ने घोषणा गरेका छन् । शेर्पाले यस अवधिमा कोरोना महामारीका कारण पर्याप्त काम गर्न नसकेको भने स्विकारे ।

अर्को कार्यकालका लागि आफू निर्वाचित भए ती सबै अपूर्ण काम पनि पूरा गर्ने दाबी गरे । अध्यक्षमा उम्मेदवारी घोषणाका क्रममा अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा भएका उपलब्धि र भावी कार्यक्रम पनि प्रस्तुत गरे । उनले भने, ‘हामीले नेपाली फुटबल र एन्फालाई बलियो बनाउन संस्थागत, सामूहिक र विकेन्द्रीकरण गर्नेलगायतका काम सफलतापूर्वक गर्‍यौं । हामीले आर्थिक नियमावलीदेखि अन्य धेरै काम गरेका छौं ।’

शेर्पाले एन्फा र नेपाली फुटबल आफ्नो घरखर्च चलाउने माध्यम नभएको बताए । उनले भने, ‘मैले घरको माली र भान्छेका लागि भनेर नेपाली फुटबलको पैसा खर्च गरेर राखेको छैन । मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन । फुटबल घर चलाउने माध्यम हुनुहुन्न भन्ने मेरो मान्यता हो ।’

उनले आगामी निर्वाचनमा आफ्नो कार्यकाल मूल्यांकन गरेर नै मत प्रदान गर्न अपिल गरे । शेर्पा प्यानलले कार्यक्रममा आफ्नो पक्षमा ५४ भन्दा बढी मत रहेको दाबी पनि गरे । एन्फा निर्वाचनमा कुल ८७ मत रहेको छ । कार्यक्रमका शेर्पा प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिनेको नाम घोषणा गरिएको थियो ।

त्यसअनुसार सरस्वती क्लबका शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेछन् । पूर्वकप्तान उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उपाध्यक्षमा उम्मेवारी दिनेछन् । दीपक थापा, प्रवीण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरुङ, राजाराम गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुढाथापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनीष जोशीले सदस्य पदमा उम्मेवारी दिनेछन् ।

महासचिवको प्रतिप्रश्न

एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यक्रममा संघभित्र लागेको भ्रष्टाचार सत्य हो भने सम्पूर्ण कार्यसमिति त्यसको जिम्मेवार हुनुपर्ने दाबी गरे । उनले भने, ‘यो आरोपमा सत्यता छैन । तर यदि हो भने त्यसको जिम्मेवार आरोप लगाउनेहरू पनि हुनेछन् ।’ यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फामा आर्थिक अनियमितता व्यापक रहेको आरोप लगाएका थिए । उनले पनि अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अनियमितता भएको भन्ने आरोपको जवाफ दिनेक्रममा महासचिव तुलाधरले भने, ‘उहाँहरू पनि कार्यसमितिमै हुनुहुन्छ, जिम्मेवारी उहाँहरूको पनि हो ।’

उनले एन्फामा यसअघि जुन समूहविरुद्ध परिवर्तनको नारा लगाइएको थियो, अहिले त्यही समूहसँग आरोप लगाउनेहरू नजिक भएको दाबी गरे । सहिद स्मारक लिग ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्र क्लबका अध्यक्ष सुनील कपालीले शेर्पा नेतृत्वलाई फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले यसैक्रममा आफ्नो टिमले लिग जितेपछि प्राप्त गर्नुपर्ने आर्थिक पुरस्कार अहिलेसम्म हात नपरेको हुनाले एन्फामा भ्रष्टाचार नभएको तर्क पनि पेस गरे । उनको दाबी थियो, ‘एन्फामा आर्थिक अनियमिता छैन ।’ उनले एन्फामा यसअघि तानाशाही प्रवृत्ति रहेको दाबी गर्दै अहिले नेपाली फुटबलले त्यसलाई तोड्न सफल भएको बताए ।

पौडेल पनि प्रत्याशी

फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले पनि एन्फाको अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गर्ने भएका छन् । असार ६ मा हुने निर्वाचनमा नेतृत्वका लागि चुनौती पेस गर्न लागेको पौडेल एन्फाको मार्केटिङ एन्ड एजुकेसन समितिका प्रमुख हुन् ।

उनले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले एन्फा नेतृत्वमा उम्मेवारी दर्ता गर्ने घोषणा गरेका हुन् । उनले वैचारिक बहस सुरु गर्न उम्मेदवारी दिने दाबी गर्दै आफ्नो योजना फुटबल विकास रहेको सुनाए । उनले त्यसका लागि पाँच पेजको आफ्नो कार्यक्रम पनि तयार पारेका छन् । त्यसमा उनले एन्फामा सुशासनलाई जोड दिएका छन् ।

उनले अहिले एन्फामा जुन गुट र उपगुट देखापरेको छ, त्यसले नेपाली फुटबललाई कहिल्यै पनि फाइदा नहुने दाबी गरे । पौडेलले भने, ‘निर्वाचनमा मेरो स्थिति के हुन्छ, त्यो पछि थाहा होला, तर मेरो उम्मेदवारीले बौद्धिक बहस सुरु हुनेछ र कम्तीमा अब आउने पुस्ताका लागि यसले मुद्दा दिनेछ ।’

प्रकाशित : जेष्ठ १०, २०७९ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?