कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

क्यानको निर्णयले ईपीएल दुःखी

काठमाडौँ — एभरेस्ट प्रिमियर लिगले नोभेम्बर १२ देखि २६ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करण घोषणा गरेको थियो । साता दिनअघि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग घोषणा गरेपछि ईपीएलको अस्तित्वलाई संकटमा पारिदिएको छ ।

क्यानको निर्णयले ईपीएल दुःखी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनबाट फुकुवा भएपछि क्यान अहिले आफैं प्रिमियर लिग गर्न लागेको छ । सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी–२० लिग गर्ने जनाइसकेको छ । त्यसका लागि क्यानले भारतीय खेलकुद व्यवस्थापन कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार बनाएको छ । एउटा देशमा एकमात्र लिग हुने आईसीसीको निर्देशनअनुरुप आफूहरू चल्ने क्यानले बताउँदा ईपीएलका संस्थापक आमिर अख्तर विश्व क्रिकेटको सर्वोच्च निकायमा त्यस्तो कुनै प्रावधान नरहेको दाबी गर्छन् । ईपीएललाई निरन्तरता नदिनु दुःखद पक्ष भएको र यसले क्रिकेटलाई नोक्सान पुर्‍याउने उनको दाबी छ । क्यान आफ्नो निर्णयमा यथावत रहेमा आफूहरूले उसका कार्यक्रम बहिष्कार गर्ने चेतावनी ईपीएल र त्यससँग सम्बन्धित फ्रेन्चाइज टोलीको छ ।

‘ईपीएल आगामी संस्करण आयोजना गर्न स्वीकृति दिइएको छैन, आधिकारिक रूपमा कुनै पत्रको जवाफ पनि नदिएकाले हामीलाई साह्रै दुःख लागेको छ,’ अख्तरले भने, ‘पछिल्लो चार संस्करणदेखि हामीले नेपाली क्रिकेटलाई जुन योगदान दिएका छौं, हरेक हिसाबमा निजी क्षेत्रले जसरी लगानी गरेको छ, त्यस हिसाबमा क्यानको निर्णयले दुखित तुल्याएको छ ।’

क्यानलाई आईसीसीले ३–४ वर्ष निलम्बनमा पर्दा र कोभिड–१९ संक्रमणबाट गुज्रिइरहेको अवस्थातर्फ इंगित गर्दै उनले भने, ‘नेपाली क्रिकेटलाई कठिन समयमा हामीले ईपीएलको माध्यमबाट चलायमान बनायौं । सबैले हामीलाई यो अवधिमा सहयोग पनि गरे । तर, अहिले केही आशालाग्दो समयमा हामीलाई बेवास्ता गरिएको छ ।’

उनले लगातार चारपल्ट फ्रेन्चाइज लिग आयोजना गरेको हिसाबमा ईपीएल विश्वको पाँचौं नम्बरको लिग बनेको दाबी गरे । आईपीएल, पीएसएल, सीपीएलपछि ईपीएललाई यो सूचीमा राखे पनि उनले नियमित हुँदै आएका विश्वका उत्कृष्ट ट्वान्टी–२० लिग अस्ट्रेलियाको बिग बास र इंग्ल्यान्डको भाइटालिटी ब्लास्टको चर्चा गरेनन् । उनको अर्को दाबी ईपीएल एसोसिएट राष्ट्रमा उत्कृष्ट लिग भएको थियो ।

‘ईपीएलले जति सफलता पाएको छ, त्यो सबै फ्रेन्चाइज टिम, प्रायोजक, मिडिया, समर्थककै कारण हो । तर क्यानले आफूहरूको योगदान, कार्यक्रम र भविष्यको योजनाप्रति न्याय गरेन,’ अख्तरले भने, ‘गत वर्ष टेलिभिजन प्रसारण अधिकार विश्वव्यापी बनाएका कारण ईपीएल अन्तर्राष्ट्रिय उत्पादन बन्यो । ८० देशमा पछिल्लो ईपीएल प्रत्यक्ष प्रसारण गरिएको थियो । तर क्यानले यो योगदानको कदर गरेन ।’

पोखरा राइनोजका मालिक साहिल अग्रवालले पनि क्यानको निर्णयप्रति दुखेसो पोखे । ‘भविष्यमा कुनै दिन प्रतिफल आउला भनेर हामीले लगानी गरेका थियौं । उद्देश्य भनेको खेलकुदमा लगानी गर्ने, प्रवर्द्धन गर्ने भनेर यत्रो ६–७ वर्षदेखि कार्य गर्दै आयौं । कुन स्तरबाट सुरु भएको ईपीएल आज कुन स्तरमा पुग्यो स्पष्ट नै छ,’ उनले भने, ‘अहिले आएर नयाँ लिगलाई मात्रै लाइसेन्स दिने अनि भएका लिग रद्द गर्ने प्रक्रिया गलत छ । भएका लिगलाई निरन्तरता दिनुपर्‍यो भने हाम्रो माग हो । यो गर्न नदिनु भनेको यति ठूलो लगानी पानीमा खन्याउनु जस्तै हो ।’

...

के भन्छन् ईपीएल खेल्ने टिमका मालिक ?

किशोर महर्जन

मालिक, ललितपुर प्याट्रियट्स

हामी फ्रेन्चाइज टोली सबैलाई पीडा भएको छ । ५–६ वर्षअगाडि जब यो यात्रा सुरु गरेका थियौं, हामीले यसमा भिजन राखेका थियौं । हामीले यसबाट पैसा कमाउँछौं, करोडपति हुन्छौं, अरबपति हुन्छौं भन्ने सपना थिएन । नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्‍याउँछौं भन्ने थियो । यसमा धेरै लागत छ । खर्च धान्न सक्ने लिग हुनुपर्छ । पहिलो चारै संस्करण घाटामा गएर खेलिएको थियो, हामीले आफ्नो घरको पैसा खन्याएका थियौं । एकदिन हामी आईपीएल स्तरको १० प्रतिशत हाराहारीमा पुग्छौं भन्ने थियो । अब त्यो स्थितिमा पुग्न लागेको अवस्थामा अकस्मात क्यानको निर्णयले हामी स्तब्ध भएका छौं ।

सञ्जय अग्रवाल

मालिक, काठमाडौं किंग्स

हामीले कसैलाई दोष लगाएका होइनौं । हाम्रो जुन ५ वर्षको मिहिनेत छ, निस्वार्थ भावनाले गरेकाले आईसीसीजस्तो संस्थाले कुनै प्रश्न उठाएका छैनन् भने ईपीएललाई किन रोकियो ? यो इभेन्टमार्फत खेलकुदमा हजारौं रोजगारी सिर्जना गर्न सक्छौं, त्यही भएर ईपीएललाई क्रिकेटसँग मात्र जोडेर नहेरौं । प्रायोजन गर्न र मिडियामा फोटो छाप्न हामी यहाँ बसेका होइनौं ।

किशोर भट्टराई

मालिक, चितवन टाइगर्स

ईपीएलमा मात्र नभएर हरेक खेलकुद इभेन्टमा यस्ता उल्झनहरू आउँदा निजी क्षेत्रले नेपाली खेलकुदमा कसरी काम गर्न सक्छ ? हिजोका दिनमा विदेशी कम्पनीहरूले खेलकुदमा लगानी गरेका छन्, तर उनीहरूले त्यसको प्रतिफल पाउन सकेनन् । आज हामीले गरेको लगानीको प्रतिफल के हो ? हामीसँग क्यानले कुनै सल्लाह गरेको छैन । आज एउटा अध्यक्ष हुँदा एउटा लिग हुन्छ, भोलि अर्को अध्यक्ष आयो भने अर्को लिग हुन्छ । नेपालको बजार एकदमै सानो छ । हामीले जुन लगानी गरेका छौं, त्यो निकै ठूलो छ । भोलिका दिनमा यसको असर कस्तो हुनसक्छ, हामी अहिले नै बुझ्न सक्छौं । यो सम्पूर्ण नेपालको खेलजगतकै चुनौतीको रूपमा देख्छु । व्यावसायिक खेलकुद ऐन नआएसम्म यस्तो झमेला भोगिरहनुपर्ने हुन्छ ।

दीपा अग्रवाल

मालिक, पोखरा राइनोज

व्यापारिक हिसाबबाट हेर्ने हो भने हामीले विभिन्न खेलकुदका कार्यक्रम प्रायोजन गरिरहेका छौं । तर ईपीएलमा जुन लगानी गरेका छौं त्यो एकरूपमा छ । त्यसैले ईपीएल प्रत्येक वर्ष हुनुपर्छ भन्ने हो । यसलाई कुनै हातमा रोक्नुभएन ।

आदित्य सांघाई

मालिक, भैरहवा ग्लाडियटर्स

क्यानले अहिले जुन निर्णय गरेको छ, त्यसले नेपाली खेलकुदमा लगानी गर्ने सबैलाई निरुत्साहित बनाएको छ । यसले भविष्यमा फेरि लगानी गर्न कि नगर्ने भनेर प्रश्नचिन्ह खडा गरिदिएको छ । ५–६ वर्ष लगाएर एउटा ईपीएल ब्रान्ड बनेको छ तर एकै दिनमा विना सूचना त्यो ब्रान्ड धराशायी हुन लागेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?