१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल-अमेरिकाको क्रिकेट कूटनीति

काठमाडौँ — नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ औं वर्ष हो । संयोगले नेपाली क्रिकेट टोली यसै साता विश्वकप लिग २ लिग खेल्न अमेरिका जाँदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपालबाट कुनै पनि टिम गेम अमेरिका गएर आधिकारिक प्रतियोगिता खेल्न लागेको यो पहिलो हुन सक्ने जनाउँछन् । 

नेपाल-अमेरिकाको क्रिकेट कूटनीति

अर्को एउटा संयोग प्रशिक्षक पुबुदु दासानायकेको छ । श्रीलंकामा जन्मिएर क्यानडाको नागरिक बनेका दासानायके सन् २०११ देखि २०१६ सम्म नेपालको मुख्य प्रशिक्षक थिए । २०१७ देखि २०१९ सम्म दासानायकेले अमेरिका क्रिकेट टोलीको प्रशिक्षण गरेका थिए । दासानायके नेपाल पुनः फर्किएको ६ महिना अगाडि मात्र हो ।

उनै दासानायकेको प्रशिक्षणमा नेपाली क्रिकेट टोली अहिले अमेरिका जान लागेको छ । नेपाली क्रिकेट टोली आउने भएपछि अमेरिकामा रहेको नेपाली समुदाय निकै उत्साहित रहेको दासानायके बताउँछन् । नेपालले जुन ६ देखि १६ सम्म टेक्सासको हजटनमा हुने विश्वकप लिग २ मा अमेरिका र ओमानसँग २–२ खेल खेल्दै छ ।

‘धेरै नेपाली मूलका खेलाडीहरू अमेरिकामा क्रिकेट खेलिरहेका छन्,’ दासानायकेले नेपाल–अमेरिकाको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा क्यानले आयोजना गरेको कार्यक्रममा भने, ‘अमेरिकामा हुँदा मैले लगभग त्यहाँको सबै राज्यमा गएर उत्कृष्ट प्रतिभाहरूलाई हेरें, त्यो बाहेक नेपाली समुदायले मलाई राम्रो सम्मान दिएका थिए ।’

लिग २ मा नेपालको यो चौथो शृंखला हो, जसमा नेपालले ६ खेलमा जित र ६ खेलमा हार बेहोरी ७ सहभागी टोलीमा छैटौं स्थानमा छ । नेपालले अमेरिकामा ओमानविरुद्ध जुन ९ मा, अमेरिकासँग ११ मा, ओमानसँग १४ मा र अमेरिकासँग जुन १५ मा खेल्नेछ । त्यसअघि नेपालले जुन २ मा नेपाली अलस्टार्स र ४ हजटन हरिकन्ससँग दुई अभ्यास खेल खेल्नेछ ।

त्यसमा नेपाली अल स्टार टोलीबाट नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरू पृथु बाँस्कोटा र वसन्त रेग्मीसहित न्युजिल्यान्डका कोरे एन्डरसन, पाकिस्तानका एहसान आदिललगायत खेलाडीले नेपालविरुद्ध खेल्ने बताइएको छ । पृथुको कप्तानीमा रहने नेपाली अल स्टारलाई विश्वकप विजेता इंग्ल्यान्डका लिएम प्लुनकेटले प्रशिक्षण दिनेछन् ।

पृथु र वसन्त पछिल्लो समय अमेरिकामा टेक्सासलाई नै कर्मथलो बनाउँदै आएका छन् । ‘अमेरिकामा क्रिकेट माथि उठिरहेको छ, उनीहरूसँग खेल्न पाउनु नेपाललाई ठूलो अवसर हो,’ दासानायकेले भने ।

अमेरिकी दूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करसनले आइतबार आयोजित कार्यक्रममा नेपालका कप्तान सन्दीप लामिछानेलाई एउटा क्रिकेट ब्याट प्रदान गरेका थिए । सन्दीप र उनका समकक्षी अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले त्यसमा हस्ताक्षर गर्नेछन् । विल्करसनले नेपालसँगको खेल अमेरिकाका लागि पनि राम्रो अनुभव हुने जनाए ।

क्यान अध्यक्ष चन्दले नेपालको अमेरिका भ्रमणले नेपाल–अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?