कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिग रक्षा

सिजनको अन्तिम दिनका खेलहरु नाटकले भरिपूर्ण थिए र सिटीले पाँच मिनेटको अन्तरमा ३ गोल गर्दै समीकरण आफ्नो पक्षमा पार्‍यो
एएफपी

लन्डन — म्यानचेस्टर सिटीले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर एस्टन भिल्लालाई ३–२ ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । इतिहादमा भएको खेलमा प्राप्त नाटकीय जितपछि डिफेन्डिङ च्याम्पियन सिटीले लिग उपाधिको रक्षा गरेको हो । उसले प्रिमियर लिग जितेको भने यो छैटौंपल्ट हो । पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेर लिग तालिकाको शीर्ष स्थानमा रहन सफल रह्यो ।

म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिग रक्षा

लिभरपुलले अर्को खेलमा उल्भ्सलाई एनफिल्डमा ३–१ ले हरायो । भिल्लाले म्याटी क्यास र फिलिप कोउटिन्होको गोलले २–० को अग्रता लिएको थियो । तर सिटीका लागि इलकेयी गुन्डोगन र रोड्रीले गोल गर्दै खेल बराबरीमा ल्याए । गुन्डोगनले नै खेल सकिन नौ मिनेट अगाडि तेस्रो तथा निर्णायक गोल गरे । उनी बर्नोडो सिल्भाको वैकल्पिकका रूपमा मैदान छिरेका थिए र खेलमा निर्णायक छाप छोड्न सफल रहे । उनले ७६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

लिभरपुलको जितमा भने साडियो माने, मोहम्मद सलाह र एन्ड्र्यु रोबर्टसनले गोल गरे । उसले पनि एक गोलले पछाडि रहेको स्थितिबाट जित निकालेको हो । खेलको तेस्रो मिनेटमै उल्भ्सले पेड्रो नेटोको गोलबाट अप्रत्याशित अग्रता लिएको थियो । अन्तिम दिनको खेलपछि सिटीको ९३ अंक भएको छ भने लिभरपुल ९२ अंकमा रह्यो ।

चेल्सीले ७४ अंकमा तेस्रो स्थानमा रह्यो । उसले वाटफोर्डलाई संघर्षपूर्ण खेलमा २–१ ले पराजित गरेको हो । टोटनहम भने ७१ अंकसहित चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुन सफल रह्यो । उसले नर्विचलाई ५–० ले हरायो । त्यसमा डेजान कुलुसेभेस्की र सन ह्वेङ–मिनले २–२ तथा कप्तान ह्यारी केनले एक गोल थपे । उसको छिमेकी उत्तरी लन्डन क्लब आर्सननल ६९ अंकमा पाँचौं स्थानमा रह्यो । आर्सनलले एभरटनलाई ५–१ ले हरायो । अब अर्को सिजन आर्सनलले युरोपा लिग खेल्नेछ ।

म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा रह्यो र उसले पनि युरोपा लिग खेल्नेछ । सातौं स्थानमा आएको वेस्ट ह्यामले भने युरोपा कन्फ्रेन्स लिग खेल्नेछ । म्यानचेस्टर र वेस्ट ह्याम दुवैका लागि अन्तिम दिनको खेल सुखद रहेन । म्यानचेस्टर क्रिस्टल प्यालेससँग १–० र वेस्ट ह्याम ब्राइटनसँग ३–१ ले पराजित रहे ।

अर्कोतर्फ लिग तालिकाको १८ औं स्थानमा झरेर बर्नली भने रेलिगेसनमा परेको छ र उसले अर्को सिजन च्याम्पियनसिप लिग खेल्नेछ । बर्नली घरेलु मैदानमा न्युकासल युनाइटेडको हातबाट २–१ ले पराजित रह्यो । अन्तिम दिनको खेल सुरु हुन अगाडि बर्नली लिग तालिकामा लिड्स युनाइटेडभन्दा गोल अन्तरले माथि थियो । तर लिड्सले अर्को खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हरायो । यससँगै इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा बर्नलीको छ वर्षको बसाइमा पूर्णविराम लागेको हो ।

न्युकासलले कलम विल्सनले पेनाल्टीबाट गरेको गोल मद्दतले अग्रता लिएको थियो । उनले नै न्युकासलका लागि दोस्रो गोल पनि थपे । बर्नलीका लागि म्याक्सवेल कोरनेटले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन । बर्नली ३५ अंकमा पुछारबाट तेस्रो स्थानमा रह्यो । उसको ठीक माथि लिड्स ३८ अंकमा रह्यो । प्रिमियर लिगबाट यस अगाडि नै वाटफोर्ड र नर्विच रेलिगेसनमा परिसकेका छन् । लिड्सका लागि ज्याक हारमिसनले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । अन्य खेलमा लेस्टरले साउथह्याम्पटनलाई ४–१ ले हरायो ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?