ग्रिष्मा टिम फुटसल विजेता- खेलकुद - कान्तिपुर समाचार

ग्रिष्मा टिम फुटसल विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रीष्मा मल्टिपर्पोजले दोस्रो एनआरएस फुटसल उपाधि जितेको छ । ढुकु फुटसलमा भएको फाइनलमा ग्रिष्माले ज्याकी प्वाइन्ट हेल्थलाई ४–० गोलले पराजित गरेको हो ।

एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाएका हुन् ।

यसअघि ज्याकी प्वाइन्टले फाइनल पुग्नेक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टिमलाई हराएको थियो । उत्कृष्ट खेलाडी विजेता टिमका संजोग श्रेष्ठ र उत्कृष्ट गोलकिपर संयोग बाँस्कोटा घोषित भए । फेयर प्ले कुमारी टिमले जित्यो ।

उत्कृष्टले समान ५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा २१ टिमले भाग लिएका थिए ।


प्रकाशित : जेष्ठ ८, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

‘जातीय विभेद अन्त्य गर्छु’

सन्जु पौडेल

लुम्बिनी — उनी निर्धक्क आफ्नो कुरा राख्छिन् । गाउँघरमा आइपर्ने समस्याका समाधान खोज्ने बानी छ । पाँच वर्षअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी थिइन् । ‘त्यतिबेला मतदाताको विश्वास जित्न सकिनँ,’ उनले भनिन, ‘यसपटक त्यही पदमा उम्मेदवारी दिएर चुनाव पनि जितें ।’

पाँच वर्षअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाकी २९ वर्षीया कल्पना हरिजन तत्कालीन माओवादीबाट उम्मेदवार बनेकी थिइन् । यस पटक एमालेबाट चुनाव जितेकी हुन् । दुई वर्षदेखि गरेको मिहिनेत सार्थक बनेको उनले बताइन् । ‘मेरो परिवारको राजनीतिक इतिहास छ,’ उनले भनिन्, ‘त्यही पृष्ठभूमिमा रहेर मैले राजनीति र सामाजिक कार्यलाई जोडें ।’

विवाह भएर लुम्बिनी आएपछि त्यहाँका पिछडिएका महिलालाई शिक्षामा अघि बढाउन कोसिस गरेको बताइन् । पदमा नहुँदा पनि सामाजिक काम गर्दै आएकाले स्थानीय बासिन्दासित घुलमिल भएको उनको भनाइ छ । गत स्थानीय निर्वाचनमा उनी चौथो स्थानमा थिइन् । तत्कालीन माओवादी र एमालेबीच एकीकरण भएपछि लुम्बिनीमा एमालेको संगठन विस्तारका लागि धेरै कसरत गरेको उनले बताइन् । ‘त्यसैले टिकट पाउन गाह्रो भएन,’ उनले भनिन्, ‘जातीय विभेदका कारण धेरै अवसर गुमाएँ । यसपटक चुनाव जितेपछि विभेदविरुद्ध काम गर्ने अवसर मिलेको छ ।’

दलित समुदायकी भएकाले उपप्रमुख बनेपछि ‘लाज हुन्छ, इज्जत जान्छ’ भनेर हतोत्साही गरिएको उनले बताइन् । ‘यसअघि जनताको मन जित्दाजित्दै चुनाव हारें,’ उनले भनिन्, ‘यस पटक जितें, अब अघि बढ्न जातले छेक्दैन, काम गरेर सावित गर्छु ।’

चुनावी भेटघाटका क्रममा पानी पिउँदा, अंकमाल गर्दा र हात मिलाउँदा आफूलाई असहज लाग्ने गरेको उनले बताइन् । ‘सुरुसुरुमा यसरी घुलमिल भएर मत माग्दा डर लाग्थ्यो,’ उनले भनिन्, ‘अझै पनि जातीय भेदभाव छ । जसले गर्दा डर लाग्थ्यो ।’ जातका आधारमा छुवाछूत गर्नु हुँदैन भन्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् । स्वच्छ, सफा र पर्यटक आउँदा रमाउने लुम्बिनी बनाएर महिलाका लागि स्वरोजगार सिर्जना गर्ने उनको योजना छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×