१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टी-२० सिरिजको अन्तिम खेलमा युगान्डाविरुद्ध नेपाल विजयी

काठमाडौँ — युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी–२० श्रृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले जितेको छ ।

टी-२० सिरिजको अन्तिम खेलमा युगान्डाविरुद्ध नेपाल विजयी

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गरेको थियो । यस क्रममा नेपालले ३३ रनको जित निकालेको हो ।

यद्यपि पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन । जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए ।

सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे । कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई/दुई विकेट निकाल्दा आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक/एक विकेट आफ्नो नाममा लेखाए ।

जितपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिइन् । धेरै पछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमी कमजोरी औल्याउँदै १०/१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उनले बताएकी थिइन् ।

यसअघि, ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो । अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धसतक बनाउन १ रनले चुकिन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?