कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आर्मीका हिमाल र मानबहादुरले कोर्स रेकर्डसहित ट्राई–एड्भेन्चर जिते

हिमालयन गर्ल्स टिमका हुमी बुढामगर र इन्द्रकला नेम्बाङ पनि कोर्स रेकर्ड बनाउँदै महिलातर्फ पहिलो भए
राजु घिसिङ

जोमसोम, मुस्ताङ — त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले १ घन्टा १५ मिनेट २ सेकेन्डको कोर्स रेकर्ड बनाउँदै शनिबार जोमसोममा सम्पन्न प्रधानसेनापति हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् ।

आर्मीका हिमाल र मानबहादुरले कोर्स रेकर्डसहित ट्राई–एड्भेन्चर जिते

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ट्रायथलनको स्वर्णपदक जितेका हिमालले हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको खुला स्पर्धामा लगातार दोस्रोपल्ट उपाधि जितेका हुन् । उनले वसन्त थारुसँग सहकार्य गर्दै तीन वर्षअघि भएको दोस्रो संस्करणमा १ घन्टा १९ मिनेट ४२ सेकेन्डसाथ २०.२ किमि दूरी पार गर्दै सफलता हात पारेका थिए । उनले त्यही कोर्स रेकर्डलाई यसपाली मान बहादुरसँग मिलेर तोडेका हुन् । यो जोडी पहिलो संस्करण (२०७४ साल) मा दोस्रो भएको थियो ।

समुद्री सतहदेखि २,७८० मिटरदेखि ३,२०० मिटरसम्मको उचाइमा आयोजित रक क्लाइम्बिङ (१ सय मिटर), ट्रेल रनिङ (४.७५ किमि) र साइक्लिङ (१५.३५ किमि) को प्रतियोगितामा नेपाली सेनाकै टिमले शीर्ष तीन स्थान कब्जा गर्यो । वसन्त थारु र नवराज न्यौपाने दोस्रो स्थानमा आए । १३ औं सागका स्वर्ण विजेता वसन्त र यो रेसका नयाँ खेलाडी नवराजले १ घन्टा १७ मिनेट १६ सेकेन्डमा दूरी पार गरे । कमल ओली र प्रेमसिंह मन्याल १ घन्टा २१ मिनेट ३० सेकेन्डसहित तेस्रोमा रहे ।

महिलातर्फ हिमालयन गर्ल्सका हुमी बुढामगर र इन्द्रकला नेम्बाङले पनि १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड बनाउँदै पहिलो स्थान हासिल गरे । आर्मीका उषा खनाल र मन्जु कुमारी खड्का (१ घन्टा ५० मिनेट ३६ सेकेन्ड) दोस्रोमा रहे । १३ औं सागमा रजत हात पारेका हुमी र उषाको जोडी हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको दोस्रो संस्करणमा उपविजेता भएको थियो ।

दुई संस्करणमा स्वदेशी खेलाडीले प्रतिस्पर्धा गरेको हाई अल्टिच्युड ट्राई–एड्भेन्चरलाई यसैपाली आएर अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरियो । अन्तर्राष्ट्रिय विधामा भारतीय आर्मी (पिट्टु शिव कृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटे) १ घन्टा ३५ मिनेट ६ सेकेन्डसाथ पहिलो भए । यसमा ब्रिटिश आर्मीका दुई र बंगलादेशी सेनाका एक टिम पनि सहभागी थिए ।

नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा छनोट भएका २२ टिम सहभागी भएका थिए । जसमध्ये ५ टिमले महिलातर्फ प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?