कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उचाइको उन्माद

प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर जोमसोममा शनिबार हुँदै छ, जहाँ १३ औं सागका स्वर्णधारी वसन्त थारु, हिमाल टमाटाले बेलायत, भारत, बंगलादेश र अमेरिकी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्
राजु घिसिङ

जोमसोम — त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र वसन्त थारुले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । यी दुवै ट्रायथलन खेलाडी हुन् । ३० महिनाअघि स्वदेशमै भएको सागमा हिमालले डुवाथलनको स्वर्ण चुमेका थिए । वसन्तले मिक्स रिलेमा स्वर्ण र स्प्रिन्टमा कांस्य जितेका थिए । 

उचाइको उन्माद

तराईमा हुर्किएका यी दुवै खेलाडी अहिले हिमाली जिल्ला मुस्ताङको जोमसोममा डाँडापाखामा दौडिरहेका छन्, हार्नेस र डोरीको सहयोगमा रक क्लाइम्बिङ गरिरहेका छन्, माउन्टेन बाइकमा उकालीओरालीमा हुइँकिरहेका छन् ।

पोखराको ट्र्याकमा १३ औं सागमा पदक जितेका उनीहरू हिमाली जिल्लाको चिसो बतासको झेल्दै किन त्यसो गरिरहेका छन् ? ‘फेरि पनि एक अर्को रेस (प्रतियोगिता) मा सफलता पाउनका लागि,’ दुवैले जवाफ दिए । महेन्द्रनगरका २९ वर्षीय हिमाल समुद्री सतहदेखि करिब २३० मिटरको उचाइमै हुर्किएका हुन् । ३३ वर्षे वसन्त पनि तराईकै अर्को जिल्ला बर्दियास्थित गेरुवा गाउँपालिका ४ का स्थानीय हुन् ।

जोमसोममा एक महिनायता मिहिनेत गरिरहेका यी दुईले एउटै लक्ष्य राखेका छन्, प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर प्रतियोगितामा आफ्नो टिमलाई स्वर्ण दिलाउने । नेपाली सेनाले यसअघि २०७४ र २०७६ सालमा पनि आयोजना गरेको यो प्रतियोगिता पहिलोपल्ट अन्तर्राष्ट्रियस्तरमा सञ्चालन गर्न लागेको हो । समुद्री सतहबाट २,७८० देखि ३,२०० मिटरको उचाइसम्म शनिबार हुने यो प्रतियोगितामा बेलायत, भारत, बंगलादेशका सेना तथा नेपाली–अमेरिकी संलग्न टिम पनि सहभागी हुँदै छन् । त्यसैले पनि हिमाल र वसन्तसहित नेपाली खेलाडीहरू हाइअल्टिच्युडमा जोसिएका छन् ।

पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा दशरथ रंगशालाको ट्र्याकमा ५ हजार मिटरमा दौडिएपछि सेनामा भर्ती भएका हिमालले भने, ‘गेम खेल्छु भनेरै आर्मीमा भर्ना भएको थिएँ । आर्मी बनेपछि साइक्लिङमा लागें । डाँडाकाँडातिरै रमाइलो लाग्न थाल्यो । देशको भौगोलिक अवस्था पनि यस्तै छ । यसरी नै ट्रेल रनिङतिर लागियो । अहिले यही रमाइलो र राम्रो लाग्छ ।’ उनले डुवाथलनमा १२ औं सागमा पनि रजत जितेका थिए ।

‘म त तराईको मान्छे हो, सुरुमा पहाडतिर गाह्रै भयो, पछि विस्तारै अभ्यस्त हुँदै गएँ । उकालो ओरालो कुद्नसक्ने, हिँड्नसक्ने भइयो,’ वसन्तले भने, ‘मुख्य कुरा तालिम हो । आर्मीकै तालिमले यहाँसम्म आइपुगे । यस्तै खालको क्रसकन्ट्री दौड र साइक्लिङ रमाइलो लाग्छ ।’

हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर २०७६ मा हिमाल र वसन्तले १ घन्टा १९ मिनेटमा दूरी पार गर्दै आर्मीलाई स्वर्ण दिलाएका थिए । यसपालि यी दुईले आर्मीकै टिममा फरक सहकर्मी पाएका छन् । हिमाल र मानबहादुर थापा ‘ए’ टिममा छन् भने वसन्त र नवराज न्यौपानेले ‘बी’ टिममा रहेर प्रतिस्पर्धा गर्दैछन् । यो रेसमा रक क्लाइम्बिङ (१ सय मिटर), ट्रेल रनिङ (४.७५ किमि) (साइक्लिङ (१५.३५ किमि) गरी २०.२ किमि दूरी पार गर्नुपर्छ ।

लन्डन र ढाकादेखिको यात्रा

हिमाल र वसन्त नेपाली सेनामा भर्ती भएपछि डाँडापाखा छिचोलेका स्वदेशी भए । समुद्री सतहबाट चार मिटरमात्रै माथि रहेको ढाकाबाट इक्रमुल इस्लाम र हेलाल मिया पनि जोमसोम आएका छन् । यी दुवै बंगलादेशी सेनामा आबद्ध छन् । समुद्री सतहबाट ११ सय मिटरको उचाइस्थित लन्डनमा हुर्किएकी हाना कारस ब्रिटिस गोर्खाको नेतृत्व गर्दै आइपुगेकी छन् । यो उनको दोस्रो जोमसोम यात्रा हो । पहिलोपल्ट घुम्न आएकी उनी अहिले हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरमा प्रतिस्पर्धा गर्न आएकी हुन् ।

‘ट्रेल रनिङ मेरो फेवरेट हो,’ इंग्लिस प्रिमियर लिग क्लब स्पर्स (टोटेनहम) की २८ वर्षीय समर्थक हाना भन्छिन्, ‘अहिले पोखरा क्याम्पमा छु । यहींबाट आएकी हुँ । यो फरक मौसम र उचाइको प्रतिपर्धामा सहभागी हुन पाउनुमा गर्व गर्नुपर्छ । बेलायत फर्के पनि फेरि अर्कोपल्ट यहाँ आएर प्रतिस्पर्धा गर्ने चाहना छ ।’ बेलायती सेनाको क्विन्स गोर्खा सिग्नल्सकी यी क्याप्टेन धादिङको बैरेनी (त्रिशूलि) मा गत वर्ष भएको आर्मीकै अर्को ट्राइ एड्भेन्चरमा सहभागी भएकी थिइन् । बैरेनीमा र्‍याफ्टिङ, दौड र साइक्लिङ गर्नुपर्थ्यो । जोमसोममा रक क्लाइम्बिङ, दौड र साइक्लिङ गर्नुपर्छ ।

हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरमा दुई खेलाडीको एक टिम हुन्छ । हानाले पोखरा क्याम्पमै कार्यरत क्विन्स गोर्खा सिग्नल्सका नवीन श्रेष्ठसँग सहकार्य गर्नेछिन् । धराने नवीन १९ वर्षअघि ब्रिटिस लाहुरे भएका थिए । बेलायती आर्मीको अर्को टिम पनि छ, जहाँ जावलाखेल क्याम्पमा कार्यररत सुन्दर शेरचन र सुरेन बुढामगर संलग्न हुनेछन् । पोखरामा हुर्केर लाहुर लागेका ४५ वर्षे सुन्दरको पुर्ख्यौली थलो मुस्ताङको टुकुचे हो । उनले भने, ‘आफ्नै पुर्ख्यौली थलोमा यस्तो साहसिक खेल हुँदै छ भनेपछि मैले आफैलाई रोक्नै सकिनँ, तयारी थालिहालें । पोहोर तयार भएर पनि महामारीले प्रतियोगिता नै स्थगित भयो । यसपालि जोमसोममा प्रतिस्पर्धा गर्ने धोको पूरा हुँदै छ ।’

पोखरामा र्‍याफ्टिङ, दौड र साइक्लिङ समावेश ट्राइ एड्भेन्चर गरिसकेका २७ वर्षे इक्रमुलले भने, ‘मैले त पहाड र हिमाल देखेको पनि नेपालमा आएर नै हो । यो उचाइ (२,७०० मिटरमाथि) पहिलोपल्ट आएको हो । यहाँ (जोमसोम) निकै चिसो भए पनि खुबै रमाइलो लागिरहेको छ ।’ करिब ३५ डिग्री सेल्सियसको ढाकाबाट ६–७ डिग्री सेल्सियसको मौसममा आइपुगेका उनले भने, ‘अल्टिच्युडले गाह्रो भएको छैन । तर, मैले कहिल्यै रक क्लाइम्बिङ गरेको छैन, वाल क्लाइम्बिङको मात्रै अनुभव छ । उकाली ओराली र घुमाउरो बाटोमा साइक्लिङ पनि गाह्रै हुन्छ । योपल्ट रेस जित्न सक्दैनौं होला, अर्कोपल्ट आएर जित्ने प्रयास गर्नेछौं ।’ गत वर्ष तयारी गरे पनि महामारीले प्रतियोगिता प्रभावित भएको र यसपालि बिदामा रहेको अवस्थाबाटै तयारी नगरी सहभागी हुन आएको उनले बताए ।

तीन वर्षअघि महिला स्पर्धामा दोस्रो भएकी हुमी बुढामगर भन्छिन्, ‘कम उचाइमा कुद्दा धेरै सजिलो हुन्छ, यो हाइटमा (जोमसोम) धेरै गाह्रो हुन्छ । यसैको तयारीमा माथिल्लो मुस्ताङमा भएको १७० किमिको आठ दिने दौडमा सहभागी भएकी थिइन् । हाइअल्टिच्युडका कारण अरू ठाउँभन्दा यहाँ अलि गाह्रो नै हुन्छ । हिँड्नलाई पनि सजिलो हुन्न । तर, म सक्छु होला ।’ स्याउलीबास, प्युठानकी २३ वर्षीया उनले हङकङ र जापानका तीन वटा ट्रेल रनिङमा पदक जितिसकेकी छन् । उनले १३ औं सागमा डुवाथलनमा रजत हात पारेकी थिइन् ।

‘साहसिक खेलको संस्कार’

हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर प्रतियोगिता कोभिड–१९ महामारीका कारण २०७६ सालयता पहिलोपल्ट आयोजनाको संघारमा आइपुगेको हो । यस प्रतियोगिताका निर्देशक राजीव चन्द भन्छन्, ‘यही प्रतियोगिताका लागि विशेष तयारी र छनोट प्रक्रियाकै लागि पनि ट्रेनिङ गर्न थालेको छ । यो साहसिक खेलको संस्कार बस्न थालेको छ । यो धेरै राम्रो हो ।’

‘एस्ट्रिम लेवलको एड्भेन्चरको रूपमा यो खेल अगाडि बढाउने प्रयास नेपाली सेनाले गरिरहेको छ,’ निर्देशक चन्दले थपे, ‘यसका लागि मुस्ताङ संसारकै राम्रो स्थान हो र यसैको प्रवर्द्धनमा यहाँ हाइअल्टिच्युड ट्राइ एड्भेन्चर आयोजना गरिएको हो ।’ उनका अनुसार विभिन्न देशका ४२ टिम यसपालि सहभागी हुन चाहेका थिए । त्यसमध्ये विभिन्न प्रक्रियाबाट २५ टिम छनोट गरिएको छ । त्यसमध्ये २३ टिमले जोमसोममा अन्तिम तयारी गरिरहेका छन् । खेलाडीको चोटका कारण दुई टिम अझै पोखरामै छन् ।

यो संस्करणमा नेपाली सेनाका चार टिमसहित स्वदेशी १२ टिम खुला स्पर्धामा सहभागी हुँदै छन् । यसमा ब्रिटिस आर्मीका २, इन्डियन आर्मीका १, बंगलादेश आर्मीका १, अमेरिकन–नेपालीका मिश्रित टिम २ गरी १८ टोली जोमसोम आएर अभ्यास गरिरहेका छन् । महिलातर्फ ५ टिम छन् । सबै स्वदेशी हुन् । प्रत्येक टिममा २ खेलाडी हुनेछन् र त्यसमध्ये अन्तिममा दूरी पार गर्ने खेलाडीको समय नै प्रतिस्पर्धामा निर्णायक हुनेछ । सबै खेलाडीको शुक्रबार स्वास्थ्य परीक्षण हुनेछ, यसमा समस्या देखिएका खेलाडी सहभागी हुने छैनन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?