कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अब नेपाल टी–२० लिगमात्रै

‘देशमा अब एउटै लिग हुन्छ, अरु कुनै लिग हुँदैन । क्यानले अरु कुनै लिगलाई मान्यता दिएको छैन ।’ 
विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै आयोजनामा नेपाल टी–२० लिग क्रिकेट हुने भएको छ । आधिकारिक लिग प्रतियोगिता असोजमा हुने बुधबार घोषणा गरिएको हो । विगतमा निजी क्षेत्रबाट लिग हुँदै आए पनि अहिले नेपाली क्रिकेटको सर्वोच्च निकायले नै ट्वान्टी–२० लिग गर्ने निर्णय गरेको हो ।

अब नेपाल टी–२० लिगमात्रै

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म प्रतियोगिता गरिने जानकारी गराए । घोषित मितिअनुसार २८ दिने प्रतियोगिताको बीचमा नेपालीको महान चाड दसैं पर्नेछ । उनका अनुसार ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जहाँ होम एन्ड अवेका झल्को दिँदै प्रतियोगिता गरिने क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । अर्को वर्षदेखि ८ टोली पुर्‍याइने क्यानको लक्ष्य छ ।

‘नेपाल क्रिकेट निलम्बनमा भएका बेला विगतमा आईसीसीले विभिन्न लिग आयोजना गर्न दिएको र अहिले क्यान आएपछि देशमा अब एउटामात्र क्रिकेट लिग हुनेछ । आईसीसीले पनि एउटा देशमा एकमात्र लिग आयोजना गर्न दिन्छ,’ अध्यक्ष चन्दले नेपाल टी–२० लिग घोषणा गर्दै भने ।

प्रतियोगिताका लागि सन् २०२० को जनवरी ९ मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । तर, कोभिड–१९ कारण प्रतियोगिता हुन नसकेको चन्द बताउँछन् । उनका अनुसार सेभेन थ्री स्पोर्टस नेपाल ट्वान्टी–२० लिगको कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार हुनेछ । त्यसवापत सेभेन थ्रीले ८ वर्षको ३३ करोड रुपैयाँ शुल्क तिर्नेछ । त्यसअनुसार वार्षिक ४ करोड १२ लाख ५० हजार क्यानले पाउने छ । सेभेन थ्रीले त्यसबाहेक मैदानको स्तरोन्नति पनि गरिदिने चन्दले बताए ।

सम्झौता भएपछि १५ प्रतिशत रकम क्यानको खातामा सेभेन थ्रीबाट दाखिला भइसकेको, अर्को १५ प्रतिशत त्यसको ४५ दिनपछि र बाँकी ७० प्रतिशत प्रतियोगिता सुरु हुने अघिल्लो दिनसम्म दाखिला गरिसक्नुपर्ने प्रावधान रहेको सचिव मल्लले जनाए । ‘क्यानको साधारणसभाबाट नेपाल टी–२० लिग आयोजना दुई पटक सर्वसम्मत पारित भएर आज यो स्थितिमा आएका छौं,’ उनले भने । नेपाल सरकारसँग स्वीकृति लिएर क्यानले नेपाल टी–२० लिग आयोजना गर्न लागेको हो । क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौतामै सरकारको अनुमति राखिएको थियो ।

घोषणा कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सरकार नेपाल टी–२० लिगलाई सबैखाले सहयोग गर्न तयार रहेको जनाए ।

खेलाडी पारिश्रमिक ५ देखि १५ लाख

अक्सन र त्यसको मोडालिटीबारे हाल तय नभए पनि खेलाडीले नेपाल टी–२० लिग खेलेर पाउने पारिश्रमिक तय भइसकेको अध्यक्ष चन्दले सुनाए । त्यसअनुसार प्रतियोगिता खेल्ने नेपाली खेलाडीलाई समूह ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरिने छ ।

समूह ‘ए’ का खेलाडीले न्युनतम १५ लाख, समूह ‘बी’ का खेलाडीले न्युनतम १० र समूह ‘सी’ का खेलाडीले न्युनतम ५ लाख रुपैयाँ पाउने अध्यक्ष चन्द बताउँछन् । धनगढीमा सम्पन्न अघिल्लो साधारणसभामा नेपाल टी–२० लिग खेलेर न्युनतम ५ लाख पाउने घोषणा आफूले गरेको र त्यहीअनुरुप सेभेन थ्री स्पोर्टससँग खेलाडीको पारिश्रमिकका लागि वर्गीकरण गरिएको चन्दले बताए ।

‘नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने र दर्जनौं खेलाडीलाई आर्थिक हैसियत उकास्न नेपाल टी–२० लिग गर्न लागेका हौं, दुई वर्षको प्रयासपछि आज हामी यो प्रतियोगिताको घोषणा गर्न गइरहेका छौं,’ चन्दले भने, ‘नेपाल टी–२० लिगले नेपालमा क्रिकेट विकासमात्र होइन क्यान पनि आर्थिक रूपमा बलियो हुनेछ । यो नेपाली खेलाडीको टेक्ने आधार बन्ने छ । व्यावसायिक र पर्यटकीय हिसाबमा पनि फड्को मार्ने विश्वास क्यानको छ ।’

नेपालको पहिलो आधिकारिक ट्वान्टी–२० लिगलाई लिएर आफूहरू उत्साहित रहेको जनाउँदै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले भने, ‘नेपाल टी–२० लिगले खेलाडीको व्यावसायिक स्किल बढाउन मदत गर्नुका साथै खेलाडीलाई चाहिएको अनुभव दिलाउने छ । नेपाली क्रिकेटका लागि यो कोसेढुंगा पनि हो ।’

यद्यपि विना टेन्डर क्यानले सेभेन थ्री स्पोर्ट्सलाई व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको छ । सचिव मल्लले भने विना टेन्डर अधिकार दिने क्यानको प्रक्रियाबारे रक्षा गरे । ‘संसारको परिपाटी हेर्नुभयो भने पनि कमर्सियल पार्टनर भित्र्याउदा टेन्डर गरेको हुँदैन । यो नेपाल क्रिकेट संघको आफ्नो सम्पत्ति हो । क्रिकेट लिगका लागि विभिन्न मान्छेहरू प्रस्ताव लिएर आए । सबैभन्दा राम्रो र आकर्षक प्रस्ताव सेभेन थ्री स्पोर्ट्सबाटै आयो । त्यसलाई हामीले आफ्नो हिसाबमा निर्णय गर्ने हो । सर्वोच्च निकाय क्यानको साधारणसभा हो, त्यसले नै पास गरेको छ ।’

उनले थपे, ‘हरेक देशमा त्यस देशको बोर्डले जसरी गरेको छ, क्यानले पनि त्यसैगरी कमर्सियल साझेदार खोजेको हो । हामीले ३३ करोड रुपैयाँको सम्झौता गरेका छौं । टेन्डर आह्वान गर्दा १५ करोडभन्दा बढी नआएको भए के हुन्थ्यो ? १८ करोड घाटा कसले बेहोर्थ्यो ? त्यो स्थिति पनि हेर्नुपर्ने हुन्छ । आजको क्रिकेटको स्तर जुन छ, त्यो हेरेर हामीले मूल्यांकन गर्‍यौं, हाम्रो क्रिकेटमा आउने पैसा र यो पैसाको मूल्यांकन गर्दा यो राम्रो रकम हो भनेर साधारणसभा लगेर पास गरेका हौं । यो रातारात भएको होइन । दुई वर्षको अवधिमा हरेक पाटो केलाएका छौं । हामी भ्रष्टाचारको पाटोमा अवगत छौं ।’

पछिल्ला वर्षहरू एभरेस्ट प्रिमियर लिग प्रालिले काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) तथा क्विन्स इभेन्टले पोखरामा पोखरा प्रिमियर लिग र धनगढी क्रिकेट एकेडेमीले धनगढीमा धनगढी प्रिमियर लिग आयोजना गर्दै आएका थिए ।

एभरेस्ट लिगले नोभेम्बर १२ देखि २६ मा ईपीएलको नयाँ मिति घोषणा गरिसकेको छ । सचिव मल्ल भन्छन्, ‘देशमा अब एउटै लिग हुन्छ, अरू कुनै लिग हुँदैन । क्यानले अरू कुनै लिगलाई मान्यता दिएको छैन ।’

सेभेन थ्री स्पोर्ट्स बेटिङ कम्पनी भएको आरोप पनि लागेको थियो । तर कम्पनीका संस्थापक जतिन अहुलावालियाले आफ्नो कम्पनी कुनै बेटिङ कम्पनी नभएको बताए । ‘हामी आईपीएल प्रसारण अधिकार, फिफा विश्वकप फुटबल प्रसारण अधिकार, बुन्डेसलिगा, फ्रेन्च ओपन, युएस ओपन, विम्बल्डन टेनिसको नेपाललगायत देशमा प्रसारण अधिकारको कार्य गर्दै आएका छौं र खेलकुदका यी ठूला इभेन्ट्समा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अपनाइएको हुन्छ र नेपाल टी–२० लिगमा पनि त्यसैलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘हामी नेपाली क्रिकेट विकासका लागि आएका छौं ।’

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?