कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कप्तानै परिवर्तन गरेको भए अझ राम्रो : सीता

नेपालले सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेयता सीताले निरन्तर राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् 
विनोद पाण्डे

काठमाडौँ — सीता रानामगरले आफूलाई उपकप्तानबाट हटाइएकोमा कुनै गुनासो नरहे पनि कप्तान परिवर्तन नै गरेको भए त्यसले नेपाली महिला क्रिकेटलाई फाइदा गर्ने बताएकी छन् । सीता यूएईमा फेयर ब्रेक इन्भिटेसन प्रतियोगिता खेलिरहेको समयमा आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा इन्दु बर्मालाई उपकप्तान बनाएको थियो । 

कप्तानै परिवर्तन गरेको भए अझ राम्रो : सीता

सीता सोमबार मात्र दुबईबाट फर्केकी हुन् । युगान्डासँगको दोस्रो ट्वान्टी–२० खेलका लागि उनी मंगलबार नेपाली टोलीमा मिसिएकी थिइन् । ‘भविष्य सोचेर क्यानले उपकप्तान परिवर्तन गरेको होला । मैले पनि मिडियाबाटै थाहा पाएकी हुँ, नत्र केही थाहा थिएन । म फेयर ब्रेकमा फाइनल खेल्न जाँदै गर्दा अरूबाट थाहा पाएको हुँ,’ युगान्डासँग दोस्रो खेलमा पनि नेपाल पराजित भएपछि सीताले भनिन्, ‘अझ अर्को एउटा युवा खेलाडीलाई मौका दिएर कप्तान र उपकप्तान नै परिवर्तन गरेको भए अझै राम्रो हुन्थ्यो होला । घरेलु मैदानमा शृंखला खेलिरहेकाले भविष्यलाई अझ राम्रो हुन्थ्यो ।’

नेपालले सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेयता सीताले निरन्तर राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् । सन् २००९ मा नेपाली टोलीमा आएकी रुबिना क्षेत्री त्यसको तीन वर्षपछि कप्तान बनेकी थिइन् । सीता २०१६ यता उपकप्तान रहेकी छन् । उनले आफूले कप्तानी पद कहिल्यै आस नगरेको जनाइन् ।

‘मलाई पनि कुनै दिन कप्तान हुन्छु कि जस्तो लाग्थ्यो, तर म भन्दा क्यान नै शक्तिशाली भइसकेपछि मैले संस्थाको निर्णय मान्नैपर्छ । त्यसमा म खुसी पनि छु,’ सीताले सुनाइन्, ‘एउटा सिनियर खेलाडीका रूपमा म खेलिरहेकी छु, एपीएफबाट मैले नेतृत्व गरेर राम्रो नतिजा पनि दिइरहेकी छु । कम्तीमा एपीएफमा मेरो कदर भइरहेको छ, त्यहाँ म सुरक्षित छु ।’

सीताले फेयर ब्रेकमा टर्नेडोजलाई उपाधि दिलाउनेक्रममा सबै ७ खेल खेल्दै ४ विकेट लिएकी थिइन्, जसका कारण उनलाई प्रतियोगिताको ‘सेलेक्टेड’ टिममा पनि छनोट गरिएको थियो । सोही क्रममा सीताले विकेट लिँदा खुसीमा ‘पुष्पा’ र ‘स्यालुट’ सेलिब्रेसन चर्चाको विषय बनेको थियो । त्यसलाई नेपाली पुरुष टिमले गरेको विद्रोहपछि खेलाडीले गरेको सेलिब्रेसनसँग जोडिएर हेरिएको थियो ।

सीताले त्यो पक्ष अस्वीकार गरे पनि आफूलाई कुनै डर नभएको जनाइन् । युगान्डासँग मंगलबार सीताले ‘पुष्पा’ शैली सेलिब्रेसनलाई निरन्तरता दिँदै आफ्नो जर्सी पछाडिको नाम देखाएर विकेटको खुसी साटिन् ।

‘उपकप्तानबाट हट्नुअघि नै मैले यो सेलिब्रेसन गरेकी हुँ,’ सीताले पुरुष खेलाडीको विद्रोहसँग पुष्पा शैलीको सेलिब्रेसन तुलना गर्दै भनिन्, ‘एउटा खेलाडीको रूपमा मैले पनि केही महसुस गरेको छु । त्यसैले म चाहिँ झुक्दिनँ । एउटा खेलाडीको रूपमा म अपग्रेड भइराख्छु । कसैसँग झुक्दिनँ भनेर नै मैले त्यस्तो सेलिब्रेसन गरेको थिएँ ।’

सीताले नोभेम्बरमा कतार भ्रमण र त्यसलगत्तै यूएईमा भएको विश्वकप एसिया छनोटदेखि नै क्यानले आफ्नो भूमिका स्पष्ट नपारेकाले नेपाली टोलीको सबैभन्दा वरिष्ठ सदस्य भए पनि टोलीको नेतृत्वमा कुनै अपेक्षा नराखेको जनाइन् ।

‘आफूलाई कप्तान बनाउँछ भनेर म अपेक्षा गर्दिनँ । यसभन्दा अघिको भ्रमणमा म उपकप्तान थिएँ कि थिइनँ भनेर निश्चित थिएन । यसअघि उपकप्तान भनेर क्यानको विज्ञप्तिमा केही जनाइएको थिएन । विश्वकप एसिया छनोटमै मेरो भूमिका स्पष्ट गरेको थिएन क्यानले, त्यही भएर खासै दुःख लागेको थिएन,’ सीताले गुनासो पोखिन्, ‘मिडियातिर सबै आइसकेको २४ घन्टापछि तिम्रो स्थानमा उपकप्तान अरू नै राख्दै छौं भनेर भनियो, त्यसमा अलिकति नराम्रो लाग्यो । खेलाडीबाट व्यावसायिकता खोजिन्छ भने उताबाट (क्यान) पनि व्यावसायिक हिसाबमा सबै आउनुपर्‍यो । इन्दु पनि मेरै बहिनी हो, उसले पनि मौका पाउनुपर्छ । म त भन्छु अझै अपग्रेड गरेर ऊ कप्तानमै आउनुपर्छ ।’

उपकप्तान नभएको आधिकारिक जानकारी पाएकामा आफू झनै खुसी भएको उनले सुनाइन् । टोलीमा कुनै ग्रुपिजम नरहेको दाबी गर्दै उनले भनिन्, ‘ग्रुपिजम हरेक ठाउँमा छ, नेपाली महिला टोलीमा पनि छ नै भनेर भन्न मिल्दैन । किनभने एउटा टिमबाट खेलिसकेपछि जितका लागि खेल्ने हो । एउटा ग्रुपले मात्र जित्ने होइन, अर्को ग्रुपले मात्र जित्ने होइन । जित्यो भने हामी १४ जनाले नै जित्ने हौं । बाहिर जतिसुकै भने टिममा ग्रुपिजम चाहिँ छैन ।’

प्रकाशित : जेष्ठ ४, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?