युगान्डालाई नेपालले दियो मध्यम लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा पनि कमजोर प्रदर्शन गरेको छ । युगान्डाले टस जितेपछि पहिले ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो ।

युगान्डालाई नेपालले दियो मध्यम लक्ष्य

अघिल्लो दिन युगान्डाले नेपाललाई १२ रनले स्तब्ध पार्दै पाँच खेलको शृंखलामा अग्रता लिएको थियो । मंगलबार पनि नेपालको प्रदर्शनमा कुनै सुधार आएन र टोलीले युगान्डालाई सानो लक्ष्यमात्र दिन सक्यो । नेपालले पावर प्लेमा १ विकेट गुमाई १७ रनमात्र बनाउन सकेको थियो । नेपालले पहिलो ६ ओभरमा कुनै चौका प्रहार गर्न सकेको थिएन् ।

नेपालले पहिलो ५० रन पूरा गर्न १२ ओभर लागेको थियो । नयाँ प्रयोग गर्दै नेपालले उपकप्तान इन्दु बर्मालाई विन्दु रावलसँगैं ओपनिङमा पठाएको थियो । त्यो निर्णय घात हुन पुग्यो । इन्दु १३ बलमा ५ रन बनाई आउट भए । अप्सरी बेगम पनि ३ रनमै आउट भए ।

विन्दुले २६ रन बनाइन् । उनले ३६ बल खेल्दै २ चौका प्रहार गरिन् । यूएईमा फेयर ब्रेक खेलेर अघिल्लो दिन आएकी सीता रानामगर ६ रनमा रनआउट भइन् भने कविता जोशीले खाता खोल्न सकिनन् । सरिता मगरले २७ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाइन् ।

कप्तान रुविना क्षेत्री इनिङ्सको अन्तिम बलमा आउट हुनु पूर्व १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाइन् । डली थापा १ छक्का प्रहार गर्दै ७ बलमा ९ रन बनाई अविजित रहिन् । रुविना र डलीले अन्तिम ओभरमा १५ रन जोडेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो ।

युगान्डाकी जेनेट एमबाबाजीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । इभ्लिन एनिइपो, कप्तान कोन्की अवेको र रिता मुसामालीले १–१ विकेट लिइन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?