कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खोसिएको’ उपकप्तानले ल्याएको तरंग

युगान्डासँग हारेपछि सीताको छिनिएको उपकप्तानी र उनको कमी महसुस गरिएको छ
विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय फुटबल टोलीका विवादित मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अतिथि बनाउँदै महिला क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरलाई यूएईमा भएको फेयर ब्रेक इन्भिटेसन क्रिकेट प्रतियोगिताका लागि बिदाइ गरेको थियो । 

खोसिएको’ उपकप्तानले ल्याएको तरंग

रुबिना र सीतालाई मात्र नभएर नेपाली महिला क्रिकेट टोलीका लागि नै यसको अर्थ ठूलो थियो । रुबिना र सीताले यसअघि यस्तो फ्रेन्चाइज संरचनाको प्रतियोगिता कहिल्यै खेलेका थिएनन् । सीताको हकमा त उनले पहिलो पटक विदेशी प्रतियोगिता खेल्ने मौका पाएकी थिइन् । एक्सपोजर अभावमा नेपाली महिला टोली कसरी थला परेको छ । त्यो १५ वर्षको नतिजाले नै प्रस्ट्याउँछ । त्यसैले दुई साताअघि रुबिना र सीता दुबईमा विश्व महिला क्रिकेटको जमघटमा जाँदा यसले नेपाली क्रिकेटमा ठूलै तरङ्ग ल्याउन सक्ने अनुमान गरिएको थियो ।

दुबईमा सीमित मौका पाएकी रुबिनाले शनिबार नै काठमाडौं फर्किएर सोमबार युगान्डासँगको खेलमा कप्तानी गरेकी थिइन् । पहिलो पटक अफ्रिकन टोलीसँग खेलिएको खेलमा नेपाली महिला टोली १२ रनले स्तब्ध हुँदा चर्चामा रहिन् सीता । चर्चा नहोस् पनि कसरी ? सीताले टोर्नाडोजलाई च्याम्पियन बनाउँदा गजबको प्रदर्शन दिएकी थिइन् ।

टोर्नाडोजले खेलेका सबै ७ खेल सीताले खेलिन् । त्यसमा ४ महत्त्वपूर्ण विकेट लिइन् । फाल्कन्ससँगको खेलमा अविजित १८ रन बनाएर उनले आफ्नो क्षमता देखाएकी थिइन् । त्यसबाहेक पनि ‘पुष्पा’ र ‘आर्मी स्यालुट’ सेलिब्रेसनका कारण उनी विश्वभर मजाले छाइन् । सीताले भनिन्, ‘१५ वर्षको खेलजीवनमा सबैभन्दा राम्रो अनुभव बटुल्न पाइयो । फेयर ब्रेकमा खेलेर परिपक्व भइयो जस्तो लागेको छ । हामी के कारणले कमजोर देखिएको भन्ने बुझ्ने अवसर पाइयो ।’

सीताको टोली टोर्नाडोजले आइतबार राति ९ बजेपछि फाल्कन्सविरुद्ध फेयर ब्रेकको फाइनल खेलेको थियो । यता क्यानले आइतबार साँझ नै विज्ञप्तिमार्फ नेपाली महिला टोलीको उपकप्तानबाट सीतालाई हटाएर इन्दु बर्मालाई जिम्मेवारी सुम्पेको थियो । सीता सन् २०१६ यता नेपालको उपकप्तान रहँदै आएकी थिइन् । दुबई जानुअघि उपकप्तान रहेकी सीताको फर्किंदा त्यो पद छिनिएको थियो ।

युगान्डासँग पहिलो खेलमा नेपालको हारपछि सीताको चर्चा दुबईमा फेयर ब्रेकमा पाएको सफलताले नभई उनीबाट छिनिएको उपकप्तान र उनको कमीका कारण थियो । सीता सोमबार साँझमात्र नेपाल फर्किएकी छन् । उनी मंगलबार बिहान टिममा मिसिने छन् । तर, युगान्डासँग मंगलबार नेपालले खेल्ने दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सीताले खेल्ने/नखेल्ने टुंगो छैन ।

‘उपकप्तान परिवर्तन बोर्डले गरेको निर्णय हो । सीता राम्रो खेलाडी हो, तर बोर्डले गरेको निर्णयमा हामीले केही गर्न मिल्दैन । बोर्डको निर्णय हामीले सम्मान गर्नुपर्छ,’ बोर्डले उपकप्तान परिवर्तन गर्ने विषयमा आफूसँग सोधेको जनाउँदै प्रशिक्षक जगत टमाटाले भने, ‘नयाँ खेलाडीहरू छन, उनीहरूलाई पनि हेर्नुपर्छ । रुबिनाले पनि अब कति खेल्न सक्छिन् भन्ने छ । सीताले पनि अब १–२ वर्ष खेल्छिन् होला । त्यही भएर अहिलेदेखि नयाँ खेलाडी ग्रुम गर्नुपर्छ ।’

प्रशिक्षक टमाटा छनोट समिति हुँदै बोर्डमार्फत आफूसम्म उपकप्तान परिवर्तनको निर्णय आइपुगेको जनाउँछन् । रुबिना र सीतापछि २४ वर्षीया इन्दु महिला टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । अर्का अनुभवी खेलाडी करुणा भण्डारीलाई युगान्डासँगको शृंखलामा राखिएको छैन । चोटका कारण करुणालाई नराखिएको प्रशिक्षक टमाटाले जनाए ।

‘स्थायी रूपमा उपकप्तान परिवर्तन गरिएको हो । यो बोर्डको निर्णय हो, तर एउटा नयाँलाई उपकप्तानको मौका दिने भन्ने थियो । त्यसबाहेक मलाई अरू केही थाहा छैन । किनभने म दुबईबाट आइपुगेलगत्तै उपकप्तान परिवर्तन भएको थियो । अरू खेलाडी नयाँ उपकप्तानको विषयमा खुसी नै थिए,’ सीतासँग बोर्डले छलफल गरेको/नगरेको त्यो आफूलाई थाहा नभएको बताउँदै रुबिनाले सुनाइन्, ‘मैले पनि सीतासँग समन्वय नै गर्न पाएको छैन । उपकप्तान परिवर्तनको विषयमा बोर्डले मसँग छलफल गरेको थियो ।’

सीता नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले २१ खेलमा २७.४३ को औसतमा ४ सय ३९ रन बनाएकी छन् । नोभेम्बरमा कतारविरुद्ध दोहामा उनले बनाएको अविजित ८२ रन नेपाली महिला ब्याटरको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर हो । उनले २१ विकेट लिएकी छन् । रुबिनाको नाममा २० विकेट छ ।

‘निश्चय पनि यो खेलमा सीताको कमी महसुस भएको छ किनभने ऊ नेपाली टोलीको प्रमुख खेलाडी हुन् । त्यस्तो खेलाडी नहुँदा अलिकति कमजोरी देखिन्छ नै,’ रुबिनाले सीताको बारेमा भनिन्, ‘तर सबैजना सधैं खेल्न सक्दैनन् । कहिल्यै म हुदिनँ, कहिले सीता हुँदैन । एउटा लयलाई टिमले कसरी लैजान सक्छ त्यो महत्त्वपूर्ण हो । एउटा कप्तानको रूपमा चाहिँ मैले एउटा परिपक्व अलराउन्डरको कमी भएको अनुभव गरें ।’

सीता पहिलो खेलमा अनुपस्थित रहने भएकाले उनको स्थानमा इन्दुलाई उपकप्तान बनाइएको हुनसक्ने बताइएको थियो । तर क्यानले स्थायी रूपमा नै उपकप्तान परिवर्तन गरेर इन्दुलाई त्यो जिम्मेवारी दिएको जनाइसकेको छ । सन् २००७ मा नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा एसीसी महिला च्याम्पियनसिपको फाइनल पुगेको थियो । त्यसयता नेपालले त्यो प्रदर्शन दोहोर्‍याउन सकेको छैन । क्यानले यदि परिवर्तन खोज्थ्यो भने परिवर्तन गर्नुपर्ने विषय नेपाली महिला टोलीको असफलताका आधारमा कप्तानी पनि हुनसक्थ्यो । इन्दुलाई दिइएको उपकप्तानको जिम्मेवारी भविष्यको कप्तानका रूपमा पनि हेरिएको आफूले बुझेको स्वयं रुबिना बताउँछिन् । उनले भनिन्, ‘म पनि धेरै बस्दिनँ होला, तर बोर्डले जहिलेसम्म जिम्मेवारी दिन्छ, म लिन्छु । अन्यथा बोर्डले अरू नै निर्णय गर्छ भने पनि मलाई स्वीकार छ ।’

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?