कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलोपटक घरेलु शृंखला खेल्नुको उत्साह

२०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदले उनीहरुलाई पहिलोपटक स्वदेश (पोखरा) मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका जुराइदिएको थियो
विनोद पाण्डे

काठमाडौँ — सीता रानामगर नेपाली महिला राष्ट्रिय टोलीबाट १५ वर्षदेखि निरन्तर खेल्दै आएकी छन् । उनी नेपाली महिला क्रिकेट टोलीको पहिलो पुस्ताका खेलाडी हुन् । नेपालले सन् २००७ मा मलेसियामा गई एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइला राखेदेखि सीताको यात्रा निरन्तर छ । 

पहिलोपटक घरेलु शृंखला खेल्नुको उत्साह

त्यसको दुई वर्षपछि आइन् रुविना क्षेत्री । अन्तर्राष्ट्रिय क्रिकेटमा आएपछि उनलाई नेपालको नेतृत्व गर्न धेरै समय लागेन् । २०१२ मा उनी नेपाली महिला राष्ट्रिय टोलीको कप्तान बनिन् । त्यसयता उनले निरन्तर नेपालको नेतृत्व गर्दै आएकी छन् ।

सीता र रुविनाले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेदेखि नै देखेको एउटा सपनाले बल्ल सार्थक रूप लिँदै छ । नेपाल क्रिकेटको मुख्यालय मानिएको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा उनीहरू पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् । युगान्डासँग सोमबार सुरु हुने पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाबाट सीता र रुविनाले कीर्तिपुरमा पहिलोपटक आधिकारिक खेल खेल्नेछन् ।

नेपालमै उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको केवल यो दोस्रोपटक हो । २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदले उनीहरूलाई पहिलोपटक स्वदेश (पोखरा) मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका जुराइदिएको थियो । त्यस अर्थमा युगान्डासँगको शृंखला नेपालमा हुन लागेको केवल दोस्रो अन्तर्राष्ट्रिय शृंखला/प्रतियोगिता हो ।

यसअघि नेपालमा कुनै महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थिएन, न त कुनै द्विपक्षीय वा त्रिकोणात्मक शृंखला । ‘घरेलु मैदानमा पहिलो महिला घरेलु शृंखला भइरहेको छ, खेलाडी सबै पहिलो घरेलु शृंखला खेल्न पाउँदा उत्साहित छन्,’ नेपालका प्रशिक्षक जगत टमाटाले युगान्डासँगको शृंखला आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यबाद दिँदै भने, ‘महिला क्रिकेट भइरहेको छ र खेलाडीले एक्सपोज पाइरहेका छन् । हामीलाई चुनौती पनि छ, त्यत्ति सजिलो छैन् । घरेलु मैदानमा भएकाले राम्रो प्रदर्शन गर्ने अवसर रहेको छ ।’

प्रशिक्षक टमाटा नेपाली महिला टोलीलाई समर्थन र सम्मान खोज्दै भन्छन्, ‘सीता, रुविना, करुणा भण्डारी लामो समयदेखि खेलिरहेका छन्, उनीहरूको पनि प्रदर्शनका हिसाबमा एउटा सीमा हुन्छ । महिला भएपछि खेल्न सक्ने नसक्ने भनेर हेर्ने दृष्टिकोण नै फरक हुन्छ । तर जसरी खेलिरहेका छन् त्यो नै उनीहरूका लागि एउटा सम्मान हो ।’

नेपालले खेल्न लागेको केवल यो दोस्रो द्विपक्षीय शृंखला हो । नोभेम्बरमा नेपालले दोहा गएर कतारसँग तीन ट्वान्टी–२० शृंखला खेलेको थियो । यूएईमा ट्वान्टी–२० विश्वकपको एसिया छनोट खेल्नअघि नेपाली टोली दोहा पुगेको थियो । ट्वान्टी–२० विश्वकपको एसिया छनोट पार गर्न नसकेमा आफूलगायत केही खेलाडीका लागि अन्तिम हुने रुविनाले बताएकी थिइन् । नेपाल छनोटमा तेस्रो भएर विश्वकप छनोटको बाटो बिराउन पुग्यो । सम्भवतः अहिले त्यसैको प्रभाव करुणा भण्डारीलाई परेको छ । उनलाई हटाउँदै नेपालले युगान्डासँग खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।

युगान्डासँगको शृंखला पनि जुनको दोस्रो साता मलेसियामा हुने एसीसी ट्वान्टी–२० च्याम्पियनसिपको तयारीका क्रममा रहेको छ । यस प्रतियोगिताबारे आयोजक एसियाली क्रिकेट परिषद् (एसीसी) ले सबै नखुलाए पनि यो एसिया कपको छनोटको आधार बन्न सक्छ । युगान्डासँगको शृंखलाका लागि बन्द प्रशिक्षण त्यत्ति लामो नभए पनि पहिलो घरेलु द्विपक्षीय शृंखलाले नेपाली टोलीलाई लयमा ल्याउने विश्वास प्रशिक्षक टमाटाको छ ।

‘आफ्नै गृहमैदानमा यसरी खेल्न पाउँदा निकै खुसी छौं । सबै खेलाडी उत्साहित छन्, दर्शक आउँछन् भन्ने आशा लिएको छु,’ पहिलोपटक घरेलु शृंखला खेल्न पाउनुको अर्थ राम्रोसँग बुझेकी अनुभवी खेलाडी इन्दु बर्माले भनिन्, ‘यस्तो शृंखलाहरू खेल्दै टिम बनाउँदै जाने हो भने नेपाली महिला क्रिकेट टोली अलिकति माथि नै आउँछ ।’ क्यानले शनिबार राति नेपाल र युगान्डाबीचको खेल दर्शकले मैदानबाट निःशुल्क हेर्न पाउने जनाएको छ । यसले नेपाली महिला टोलीको समर्थनमा दर्शकको उपस्थित राम्रो हुने विश्वास क्यानको छ ।

नेपाली पुरुष टोलीलाई एक्सपोज गरेपछि जसरी नतिजा दिएको छ, त्यसरी नै महिला टोलीलाई पनि हेरिदिनुपर्‍यो भनेर आफूहरूले क्यानलाई अनुरोध गरेको जनाउँदै प्रशिक्षक टमाटाले भने, ‘महिला टोलीलाई चाहेको भनेकै एक्सपोजर हो । यस्तै शृंखलाहरू अरू पनि खेल्न पायौं भने नेपाली महिला टोलीले नतिजा दिन्छ । खेलहरू नभएसम्म नयाँ खेलाडी पनि आउँदैनन् । यू–१९ मा पनि राम्रा राम्रा खेलाडी देखिएका छन् र उनीहरूलाई एक्सपोजरको जरुरी छ ।’

फेयर ब्रेकमा ध्यान

युगान्डासँगको शृंखलाबाहेक नेपाली खेलाडीको ध्यान यूएईको दुबईमा भइरहेको फेयर ब्रेक अन्तर्राष्ट्रिय प्रतियोगितामा छ । फ्रेन्चाइज मोडलको यस प्रतियोगितामा रुविना बार्मी आमी र सीता टोर्नाडोजबाट खेलिरहेकी छन् । रुविनाले कम मौका पाएकी छन् भने सीताको प्रदर्शनले नेपाली टोलीमा रहेका अन्य खेलाडीको आशा जगाइदिएको छ ।

‘उनीहरू खेल्न सक्छन् भने हामी पनि सक्छौं भनेर अरू खेलाडीलाई आत्मविश्वास आएको छ । दुवै जना खेल्नु र सीताले राम्रो प्रदर्शन पनि दिनु नेपाली क्रिकेटका लागि राम्रो हो,’ टमाटाले भने । सीताले ५ खेलमा ३ विकेट लिनुका साथै बिहीबार फाल्कन वुमनविरुद्ध खेल्दै आफ्नो टोली टोर्नाडोज वुमनलाई ७ विकेटले जिताउने क्रममा २५ बल खेलेर अविजित १८ रन बनाएकी थिइन् । रुविना फेयर ब्रेक छाडेर शनिबार साँझ काठमाडौं आइसकेकी छन् र नेपाली टोलीमा समावेश भइसकेकी छन् । शनिबार राति रुविनाकै टोली बार्मी आर्मीविरुद्ध सेमिफाइनल खेलिरहेकी सीताले युगान्डासँगको १ देखि २ खेल गुमाउने सम्भावना रहेको छ ।

‘हामीलाई पनि फेयर ब्रेकजस्तो प्रतियोगिता खेलौं भन्ने हुन्छ । अहिलेदेखि प्रदर्शन देखाउँदै जाने हो भने भोलिका दिनमा हामी पनि त्यो स्थानमा पुग्न सक्छौं,’ इन्दुले भनिन् । रुविना र रोशनी बोहराले यसअघि एसीसीको पहलमा श्रीलंकामा पालिन्क (पालिएन्स) स्पोर्टस क्लबबाट २०१३ मा श्रीलंकाको डिभिजन १ प्रतियोगिता खेलेका थिए ।

कस्तो छ युगान्डा ?

युगान्डाले अप्रिल २१ देखि २५ सम्म गरी ६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । नामिबियामा भएको क्याप्रिकोर्न त्रिकोणात्मक शृंखलामा युगान्डाले जिम्बावे र घरेलु टोली नामिबियासँग ट्रिपल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेको थियो । युगान्डाले सबै ६ खेल हारेको थियो । जिम्बावेसँगको एक खेलमा १ सय २७ रन पछ्याउँदा युगान्डाले ६ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । नामिबियासँगको अर्को एक खेलमा नामिबियालाई ६८ रनमा अलआउट गरे पनि जवाफमा युगान्डा आफैं १२.१ ओभरमा ४० रनमा अलआउट भएको थियो ।

कप्तान रिता मुसामालीले युगान्डाबाट २९ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४ सय ६८ रन बनाएकी छन् । २१ वर्षे उनले २०१९ मा मालीविरुद्ध अविजित १ सय ३ रन बनाएकी थिइन् । तर नामिबियाको त्रिकोणात्मक शृंखलामा उनी लगातार तीन खेलमा डक आउट भएकी थिइन् । नामिबियासँगको चौथो खेलमा उनले २७ रन बनाएकी थिइन् ।

युगान्डाकी कप्तान कोनकी अवेको नै टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले २५ खेलमा सर्वाधिक ३० विकेट लिएकी छन् । महिला ट्वान्टी २० अन्तर्राष्ट्रियको वरीयतामा नेपाल १६ र युगान्डा १९ औं स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भविष्यमा वरीयताका आधारमा केही निर्णय गर्न सक्ने सम्भावना भएकाले पनि नेपालले युगान्डाको आतिथ्यता गर्न लागेको बताइएको छ । अफ्रिकन टोलीले हतार हतारमा नेपाल आएर खेल्नेछ । युगान्डाले नियमित उडान छुटाउन पुगेछ । अब टोली आइतबार बेलुका ८ बजेपछि मात्र काठमाडौं आइपुग्ने तालिका छ । सोमबार १ बजेपछि टोलीले नेपालसँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा प्रतिस्पर्धा गर्नेछ ।

‘युगान्डा राम्रै टोली हो जस्तो लाग्छ, हामी उनीहरूलाई कमजोर मान्दैनौं,’ इन्दुले भनिन् । टमाटाको पनि यसमा फरक मत छैन । उनले भने, ‘युगान्डा र हामी बराबरीको टोली हौं, उनीहरू त्यत्ति बलियो टोली होइन तर चुनौती छ । उनीहरू पनि युवा टोली हुन् । हाम्रो मिश्रित टोली हो, युवा र अनुभवी दुवै छन् । हामी राम्रो क्रिकेट खेल्न प्रयास गर्नेछौं । नेपाली टोलीमा रहेका सबै १६ खेलाडीलाई अवसर पाउनेछन् ।’

करुणा बाहिरिन्

नेपालले शनिबार नै १६ सदस्यीय टोलीको घोषण गरेको छ । अस्मिना कर्माचार्य र हिरनमायी रोय पहिलोपटक नेपाली महिला टोलीमा परेकी छन् । त्यही अनुभवी करुणा भण्डारीलाई बाहिर राखिएको छ ।

नेपाली टोलीमा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, ज्योति, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरनमायी रोय र बिन्दु रावल खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा २२ खेलाडी रहेका थिए । त्यसबाट करुणासहित, रितु कनोजिया, सुमन खतिवडा, ममता चौधरी, सरस्वती चौधरी, ईश्वरी विष्ट बाहिरिएका हुन् ।

रुबिना र सीतापछि करुणा नेपाली टोलीको सबैभन्दा अनुभवी खेलाडी थिइन् । २०११ देखि नेपाल टोलीबाट खेल्दै आएकी उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै ह्याट्रिक गरेकी थिइन् । करुणाले ट्वान्टी–२० अन्तर्राष्ट्रियका २१ खेलमा १७ विकेट लिएकी छन् । सीता (२१) र रुबिना (१९) ले मात्र नेपालबाट उनले भन्दा बढी विकेट लिएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?