१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आर्सनललाई टोटनहमको धक्का

एएफपी

लन्डन — ह्यारी केनको दुई गोलको मदतले टोटनहमले बिहीबार १० खेलाडीमा सीमित आर्सनललाई ३–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावनालाई कायम राखेको छ । एन्टोनियो कोन्टेको टोटनहमले यो खेल गुमाएको भए शीर्ष चारको सम्भावना समाप्त हुने थियो । आर्सनल भने यो खेलमा विजयी रहेको भए उसको च्याम्पियन्स लिगमा छनोट हुने निश्चित हुन्थ्यो । 

आर्सनललाई टोटनहमको धक्का

टोटनहमका लागि केनसँगैं सन ह्वेङ–मिनले एक गोल गरे । आर्सनलले सन् २०१६–२०१७ यता च्याम्पियन्स लिग खेलेको छैन् । जितले टोटनहमको ६५ अंक भयो भने आर्सनल अझै ६६ अंकमा चौथो स्थानमा छ । खेलपछि आर्सनलका व्यवस्थापक मिखेल आर्टेटाले टोटनहमको जितमा एउटा निकै सुन्दर खेलको हत्या भएको प्रतिक्रिया दिए । टोटनहमको पहिलो गोल पेनाल्टीमा सम्भव भएको थियो र त्यस लगतै रब होल्डिङलाई रातो कार्ड देखाइएको थियो । आर्टेटाले भने, ‘यदि मैले आफ्नो मनको कुरा भन्ने हो भने मलाई ६ महिना प्रतिबन्ध लगाइनेछ ।’

उनले थपे, ‘म आफ्ना खेलाडीको प्रदर्शनबाट दुःखी छैन्, अझ खुसी नै छुं भन्दा हुन्छ । म के माग गर्छुं भने रेफ्री सबैको क्यामेराको अगाडि आउने पर्छ र उनले आफ्नो निर्णयबारे व्याख्या गर्नुपर्छ । मलाई लाग्छ, यसै कारण एउटा सुन्दर खेलको हत्या भयो र यो निकै लज्जाको विषय हो । जे जति निर्णय भएका छन्, त्यसलाई परिवर्तन भने गर्न सकिन्न ।’ टोटनहमका व्यवस्थापक एन्टिनियो कोन्टेले भने आर्टेटाको बानी नै धेरै गुनासो गर्ने रहेको बताए ।

उनले भने, ‘उनी धेरै गुनासो गर्छन् । उनले आफ्नै खेलाडीमा बढी ध्यान दिए राम्रो । अझ आफ्नो कामै बढी ध्यान केन्द्रित गरे राम्रो । आर्टेटा निकै राम्रा प्रशिक्षक हुन्, त्यसैले पनि उनी आफ्नै काममा बढी केन्द्रित भएको राम्रो । कोही कसैले सधैं खाली गुनासो मात्र गरिरहन्छ भने त्यो खराब हो । म धेरै सुन्छुं, तर उनी खाली गुनासो मात्र गर्छन् । उनी बढीभन्दा बढी शान्त रहनुपर्छ । उनले भर्खर भर्खर मात्र हो, यो काम सुरु गरेको । प्रशिक्षकले धेरै बोलेको वास्तवमै राम्रो होइन ।’

बेन्जेमाद्वारा राउलको कीर्तिमान बराबरी

म्याड्रिड– रियल म्याड्रिडले स्पेनी ला लिगामा बिहीबार लेभान्टेमाथि ६–० को एकपक्षीय जित निकालेको छ । त्यसमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने फेरल्यान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले एक एक गोल गरे । रियल यस अगाडि नै ३५ औं पल्ट लिग जितिसकेको छ भने लेभान्टे हारपछि रेलिगेसनमा परेको छ । लेभान्टे २९ अंकमा लिग तालिकाको सबैभन्दा पुछारमा रहेको छ । यसै खेलबाट बेन्जेमा रियलका लागि सर्वाधिक गोल गर्ने सूचीको संयुक्त दोस्रो स्थानमा पुगेको छन् ।

उनले रियलका लागि गरेको गोल संख्या ३ सय २३ पुगेछ र उसले राउलको बराबरी गरेका छन । अब उनको अगाडि ४ सय ५० गोलमा क्रिस्टियानो रोनाल्डो मात्र छन् । ब्राजिली २१ वर्षीय खेलाडी जुनियरले भने तीन गोलको उपलब्धिमा खुसी व्यक्त गरे । रियलबाट भने यो उनको पहिलो ह्याट्रिक हो । खेलपछि उनले भने, ‘यो पहिलो ह्याट्रिकमा म निकै खुसी छुं । बेन्जेमाले राउलको गोलको कीर्तिमान पनि बराबरी गरेका छन् । उनी गोल गर्न निकै सिपालु छन् ।’

अब रियलले आइतबार काडिजको सामना गर्नेछ र मे २२ मा घरमा हुने खेलमा रियल बेटिसको आतिथ्य गर्नै यो सिजनको लिग यात्रा टुंग्याउनेछ । त्यसपछि कीर्तिमान १४ औं युरोपेली च्याम्पियन्स लिग उपाधिका लागि रियलले योर्गन क्लोपको लिभरपुलको सामना गर्नेछ । जुनियरले थपे, ‘सिजनको त्यस अन्तिम खेलका लागि हामी उत्कृष्ट प्रदर्शनका लागि तयार हुनुपर्छ ।’ बिहीबारकै अन्य खेलमा रियल सोसिडाडले काडिजलाई ३–० र भिल्लारियलले रायो भाल्कानोलाई ५–१ ले हरायो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?