लिभरपुल चार उपाधिको सम्भावना पछ्याउँदै

चेल्सीले लिग कप फाइनलमा भने लिभरपुललाई बलियो चुनौती पेस गरेको थियो
एएफपी

लन्डन — लिभरपुलले शनिबारको एफए कपको फाइनलमा चेल्सीको सामना गर्दा उसको सामु एकै सिजन चार उपाधि जित्ने सम्भावना जीवन्त राख्ने अवसर हुनेछ । चेल्सीसामु भने आफ्ना सम्भावित मालिक डट बोलीलाई वेम्बलीमा स्वागत गर्ने अवसर हुनेछ । योर्गन क्लोपको लिभरपुलले यो सिजन चार खेल खेल्न बाँकी छ र यसै क्रममा एकै सिजन चार ठूला उपाधि जित्ने पहिलो इंग्लिस क्लब हुने मौका रहनेछ ।

लिभरपुल चार उपाधिको सम्भावना पछ्याउँदै

फेब्रुअरीमा मात्र लिभरपुलले चेल्सीलाई नै पराजित गरेर लिग कप जितेका थियो । अहिले लिरभपुलले एफए कप फाइनल खेल्नेछ र उसले मे २८ मा युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडविरुद्ध भिड्नेछ । अहिलेसम्म कुनै पनि इंग्लिस क्लब यति ठूला उपलब्धिको नजिक पुगेको छैन्, तर लिभरपुललाई पनि राम्रोसँग के थाहा छ भने उसको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने सपना भने खाली झिनो सम्भावनामै मात्र सीमित छ ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई दोस्रो स्थानमा रहेको लिभरपुलमाथि तीन अंकको अग्रता प्राप्त छ । सिटीले बुधबार मात्रै उल्भ्सलाई ५–१ ले हराएको थियो र अब उसलाई अन्तिम दुई खेलमा ४ अंक बटुल्ने हो भने लिग उपाधि जित्न सक्नेछ । सिटीको अन्तिम दुई खेल वेस्ट ह्याम र एस्टन भिल्लाविरुद्ध रहेको छ । पछिल्ला तीन सिजनमा लिभरपुल दोस्रो लिग उपाधि जित्न असफल रहे पनि दुई कप उपाधि जित्नु उसका लागि ठूलो उपलब्धि मानिनेछ ।

चेल्सीले लिग कप फाइनलमा भने लिभरपुललाई बलियो चुनौती पेस गरेको थियो । गोलरहित बराबरीपछिको टाइब्रेकरमा लिभरपुल ११–१० ले विजयी रहेको थियो । सन् १९९३ यता लिग कप र एफए कपमा समान दुई टिम भिड्न लागेको छन् । त्यस वर्ष आर्सनल र सेफिल्ड वेनस्डेले यस्तै उपलब्धि आत्मसात् गरेको थियो । त्यति बेला आर्सनलले वेनस्डेमाथि कप डबल्स गरेको थियो र क्लोपको टिम पनि यस्तै उपलब्धि दोहोर्‍याउने अभियानमा हुनेछ ।

तर यसै सिजनको आफ्नो ६० औं खेलमा लिभरपुलका खेलाडीले थाकेको महसुस गर्न सक्नेछ । सन् २००६ मा लिभरपुलले अन्तिमपटक एफए कप जितेको थियो ।

यही फाइनलमा पुनर्ताजगी प्राप्त खेलाडीलाई उतार्नका लागि क्लोपले मंगलबार एस्टन भिल्लाविरुद्धको खेलमा केहीलाई आराम दिने निर्णय गरेको थियो । त्यही खेलमा ब्राजिली मिडफिल्डर फाबिन्हो घाइते भए र उनले फाइनल खेल्न पाउने छैनन् र यो लिभरपुलका लागि समस्या हुन सक्नेछ ।

ऐतिहासिक उपलब्धिको संघारमा रहेको लिभरपुललाई मंगलबार साउथ ह्याम्पटनको सामना गर्नुछ । यसै पृष्ठभूमिमा लिभरपुल कप्तान जोडर्न हेन्डरसनले आफ्ना साथी खेलाडीलाई उपाधिका लागि खेल्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘जति जति सिजन सकिन लागेको छ, तनाव उत्ति बढ्दै छ । अहिले हामी टिममा उपलब्ध सबै खेलाडीलाई प्रयोग गर्ने पक्षमा छौं । मलाई लाग्छ, एस्टन भिल्लाविरुद्धका खेलमा सबैले राम्रो प्रदर्शन नै गरे ।’

उनले थपेका छन, ‘यो फुटबल हो र यसमा उतार चढाव आइरहन्छन्, गइरहन्छन् । त्यसविरुद्ध उपयुक्त प्रतिक्रिया दिन सक्नुपर्छ । इमानदारितापूर्वक भन्दा हाम्रा खेलाडीले यसअघि पनि यस्तै अवस्थाको सामना गरिसकेको छ । त्यस अर्थमा हाम्रा खेलाडीको प्रशंसा गर्नुपर्ने नै हुन्छ । हामी सबै यस्तै निर्णायक मोडका लागि एकजुट भएर रहनुपर्छ । अन्त्यमा कडा मिहिनेतकै लागि त उपाधि पुरस्कारका रूपमा प्राप्त हुने हो । शनिबारको यति महत्त्वको खेलका लागि हामी सबै तयार छौं ।’

लिभरपुल मात्र होइन, चेल्सीले पनि आफ्नो ६३ औं खेल खेल्नेछ । तर लिभरपुलका तुलनामा चेल्सीका खेलाडी बढी थकित देखिएका छन् र यसको प्रभाव पछिल्लो खेलमा देखिएको पनि छ । लिड्सविरुद्ध प्राप्त तीन गोलको जितपछि चेल्सीले लिगमा आफ्नो तेस्रो स्थानमाथिको पकड बलियो बनाएको छ । रियलविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलमा बेहोरेको हारपछि पनि चेल्सीका खेलाडी निराश देखिएका थिए । यही बेला चेल्सीका मालिक को हुने झनेर अड्कल चलिरहेको छ ।

युत्रेनमाथि रुसी आक्रमणपछि रोमान अब्राहिमोभिचले क्लब बिक्रीमा राखेका छन् । रुसी धनाद्य छँदै एक अर्को उपाधि जित्न चाहन्छ । प्रशिक्षक मोमस टुचेलका लागि माटेओ कोभिासिचको फिटनेस टाउको दुखाइ रहनेछ् । क्रोएसियाली मिडफिल्डर लिड्सविरुद्धको खेलमा घाइते भएका थिए । उनले भनेका छन्, ‘उनको खुट्टा सुनिएको छ र उनी धेरै पीडाबाट पनि गुज्रिरहेका छन् । उनी खेल्न पाएन भने हाम्रा लागि त्यो निराशा नै रहनेछ ।’

प्रकाशित : वैशाख ३१, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?