२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुवासले जिते टुर च्याम्पियनसिप

सुवासद्वारा भुवन र शुक्रबहादुरमाथि ७ स्ट्रोकको फराकिलो अग्रता लिँदै व्यावसायिक गल्फ प्रतियोगिताकै मुख्य उपाधि कब्जा

काठमाडौँ — एमेच्योर सुवास तामाङले अन्तिम चरणमा ४ अन्डर ६८ खेल्दै गोकर्ण गल्फ क्लबमा बिहीबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । चारदिने प्रतियोगितामा १९ अन्डर २६९ स्कोर गरेका उनले भुवन (उमेश) नगरकोटी र शुक्रबहादुर राईमाथि ७ स्ट्रोकको फराकिलो अग्रता लिँदै व्यायसायिक गल्फ प्रतियोगिताकै मुख्य उपाधि कब्जा गरेका हुन् ।

सुवासले जिते टुर च्याम्पियनसिप

गोकर्णमै तीन वर्षअघि भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण जितेका सुवासले भुवनमाथि २ स्ट्रोकको अग्रतासहित अन्तिम चरणको खेल प्रारम्भ गरेका थिए । दोस्रो दिन भुवनसँगै संयुक्त शीर्षस्थानमा रहेका उनले पहिलो दिन ८ अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गर्दै सबभन्दा अगाडि पुगेका थिए । उनले दोस्रो चरणमा ४ अन्डर ६८ स्कोर गरे भने तेस्रो दिन ३ अन्डर ६९ खेल्दै निरन्तर शीर्षस्थानमा रहेका थिए ।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सातौं प्रतियोगितामा सुवासले उत्कृष्ट प्रदर्शनलाई अन्तिम दिन पनि कायमै राख्ने क्रममा सुरुका ९ होल ४ अन्डर ३२ मा राखेका थिए । पार ५ को तेस्रो होल ३ स्ट्रोकमा टुंग्याउँदै इगल गरेका उनले सातौं र नवौं होलमा १–१ सट स्ट्रोक जोगाउँदै बर्डी गरेका थिए । पछिल्ला ९ होलमा भने उस्तै प्रदर्शन गर्न सकेनन् । उनले दसौं र १२ औं होलमा बर्डी गरे पनि होल नं. १४, १५ र १६ मा लगातार १–१ सट बढी खेल्दै बोगी बेहोरेका थिए । १७ औं होल पारमा टुंग्याएका उनले अन्तिम होलमा बर्डी गर्दै उपाधि यात्रालाई पूर्णता दिएका थिए ।

व्यावसायिक गल्फ प्रतियोगितामा एमेच्योर खेलाडीलाई नगद पुरस्कार दिने चलन छैन । तर, सुवासले मुख्य प्रतियोगिता र एमेच्योरको गरी दुई ट्रफी हात पारे । उनले गत चैतमा हिमालयन गल्फ क्लब, पोखरामा सम्पन्न टुरकै प्रतियोगिता ‘वेस्टर्न ओपन’ को उपाधि पनि जितेका थिए ।

एमेच्योरतर्फ सद्भव आचार्य उपविजेता भए । समग्रमा आठौं स्थानमा रहेका उनले १ अन्डर २८७ प्रदर्शन गरे । उनले अन्तिम दुई दिन समान ३ ओभर ७५ खेलेका उनले सुरुका दुई दिन भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पहिलो दिन ४ अन्डर ६८ र दोस्रो दिन ३ अन्डर ६९ स्कोर गरेका थिए । अर्का एमेच्योर वान्चेन धोन्डुपले इभन पार २८८ स्कोरसहित नवौं स्थानमा रहेर प्रतियोगिता टुंग्याए ।

पहिलो दिन ४ अन्डर ६८, दोस्रो दिन ८ अन्डर ६४ खेलेका भुवनले अन्तिम दुई चरणमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो दिन १ अन्डर ७१ खेलेका उनी अन्तिम चरणमा १ ओभर ७३ खेलेपछि उपाधि होडमा सुवाससँग उभिन चुकेका थिए ।

सुरुका ९ होलमा इभन पार ३६ खेलेपछि उपाधि होडमा ६ स्ट्रोकले पछाडि परेका भुवनले पछिल्ला ९ होलमा पनि खेल सुधार्न सकेनन् । उनले अन्तिम ९ होलमा १ ओभर ३७ स्कोर गरे । दोस्रो होलमै बोगीमा परेका उनले चौथो, नवौं, पन्ध्रौं हालमा पनि १–१ स्ट्रोक बढी खेले । उनी पार ४ को १४ औं होलमा २ स्ट्रोक बढी खेल्दै डबल बोगीमा परे । उनले होल नं. ३, ५, ७, ११ र १८ मा बर्डी गरे पनि अन्तिमसम्म सुवासलाई चुनौती दिन सकेनन् । प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) का प्रतियोगिता खेलेर आएका शुक्र अन्तिम चरणमा बोगीरहित खेल्दै ५ अन्डर ६७ को कार्ड बनाएर भुवनसँगै दोस्रो स्थानमा पुगेका हुन् । पहिलो दिन ७ अन्डर ६५ खेलेका उनी दोस्रो चरणमा १ ओभर ७३ को खराब प्रदर्शन गरेपछि उपाधि होडमा पछाडि परेका थिए । तेस्रो चरणमा पनि १ अन्डर ७१ को औसत प्रदर्शन गरे । समग्रमा उनी भुवनसरह १२ अन्डर २७६ को स्थितिमा रहे ।

शुक्रले अन्तिम दिन सुरुका ९ होलमा १ अन्डर ३५ खेल्ने क्रममा एक मात्र बर्डी तेस्रो होलमा गरेका थिए । उनले पछिल्ला ९ होलमा ४ अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पार ५ को ११ औं होलमा इगल गरे भने १२ र १४ औं होलमा बर्डी गरे ।

कुल ७ लाख ७५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा व्यावसायिक गल्फरतर्फ संयुक्त पहिलो स्थानमा रहेका भुवन र शुक्रले समान १ लाख ११ हजार ५ सय हात पारे । अन्तिम चरणमा इभन पार ७२ खेलेका रवि खड्का (६ अन्डर २८२) समग्रमा चौथो र व्यावसायिक गल्फरतर्फ तेस्रोमा भए । उनले ६५ हजार प्राप्त गरे ।

नीरज तामाङ ४ अन्डर ६८ खेल्दै समग्रमा ४ अन्डर २८४ स्कोरसहित शीर्ष पाँचमा रहे । उनले ५३ हजार ५ सय प्राप्त गरे । धनबहादुर थापा (३ अन्डर २८५), दिनेश प्रजापति (१ अन्डर २८७), जयराम श्रेष्ठ (इभन पार २८८) शीर्ष दसमा अटाए । अन्तिम चरणमा धनले ६९, दिनेशले ७३ र जयरामले ७२ स्ट्रोक खेले । धनले ४५ हजार, दिनेशले ४० हजार र जयरामले ३६ हजार प्राप्त गरे ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?