कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिटी प्रिमियर लिग उपाधि संघारमा

एएफपी

लन्डन — केभिन डे ब्रुएनाले चार गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उल्भ्सलाई उसकै घरमा ५–१ ले हरायो र लिग उपाधि जित्ने संघारमा पुग्न सफल रह्यो । यो जितपछि पेप ग्वार्डिओलाको टिमले दोस्रो स्थानमा रहेको लिभरपुलमाथि तीन अंकको अग्रता खोलेको छ । दुवै टिमले दुई चरणका खेल खेल्न मात्र बाँकी छ र सिटीलाई शीर्ष स्थानमा लिभरपुलमाथि गोल अन्तरको पनि फाइदा छ ।

सिटी प्रिमियर लिग उपाधि संघारमा

अब सिटीले आइतबार वेस्ट ह्यामको यात्रा गर्नेछ र त्यस क्रममा लिग उपाधिको रक्षा गर्न उसलाई चार अंकको मात्र आवश्यकता पर्नेछ । सिटी पाँच वर्षमा चौथोपल्ट उपाधि जित्न बाटोमा रहेको छ । बेल्जियमका खेलाडी ब्रुएनाले पूरा खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरे र उनको ह्याट्रिक २४ मिनेटमा सम्भव भएको थियो । सिटीका लागि अर्को गोल रहिम स्टर्लिङले गरे । उल्भ्सले पनि सिटीसामु कुनै प्रकारको चुनौती पेस गर्न सकेन् ।

सिटीले यस खेल अगाडि बोरुसिया डर्टमुन्डबाट इर्लिङ हाल्यान्डलाई अनुबन्ध गर्ने निश्चित भएको घोषणा गरेको थियो । नर्वेली खेलाडीको आगमनपछि सिटी अझ बलियो हुनेछ र उसले घरेलु लिगमा अझ बलियो चुनौती पेस गर्न सक्नेछ । उल्भ्सलाई हराएयता ग्वार्डिओलाले पनि आफ्नो टिम अझ मजबुत हुने दाबी गरे र यस क्रममा हाल्यान्ड आएपछि आफ्नो टिमले अझ बढी संख्यामा गोल गर्न सक्ने पनि बताए ।

उल्भ्समाथि अझ बढी गोल गर्ने सम्भावनामा चुमेकोमा गुनासो गरिरहेका ग्वार्डिओलाले थपे, ‘हाल्यान्डको आगमनपछि हामीले अझ धेरै गोल गर्न सक्ने छौं । यसका लागि म आफ्नै क्लबलाई बधाई दिन चाहन्छु । अर्को सिजन हल्यान्ड टिममा हुनेछन् र उनको आगमन हाम्रो लागि अझ खुसीको समाचार हो । अर्को सिजन हामी सँगै मिलेर काम गर्नेछौं । उनलाई म्यानचेस्टरमा अभ्यस्त हुन पनि हामीलाई सहयोग गर्नुपर्नेछ ।’

इन्टर ह्याट्रिकतर्फ
मिलान- इन्टर मिलानले बुधबार कोपा इटालिया जित्ने क्रममा आफ्नो पुरानो प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गरेको छ । फाइनल आफैं भने विवादास्पद र रोमाञ्चक घटनाले भरिपूर्ण रह्यो । इभान पेरिसिचले अतिरिक्त समयमा दुई गोल गरेपछि इन्टर जित निकाल्न सफल रह्यो । इन्टरले निर्धारित समयको अन्त्यतिर पेनाल्टी पाएपछि खेल उसको पक्षमा मोडिएको हो ।

त्यसमा हाकन चाल्हानोग्लुले गोल गरे र खेलले ९० मिनेट काटेर अतिरिक्त समय गएको थियो । युभेन्ट्सले एलेक्स सान्ड्रो र डुसान भ्लाहोभिचको गोलले खेलमा २–१ ले अग्रता लिएको थियो । त्यस अगाडि इन्टरले निकोलो बरेलाको गोलले अग्रता लिएको थियो । इन्टरले इटालियन सुपर कपको उपाधिका लागि यस अगाडि युभेन्ट्सलाई नै पराजित गरेको थियो । इन्टरसामु सिरी ‘ए’ उपाधि जित्ने अवसर पनि कायम छ । सिरी ‘ए’ मा इन्टरमाथि छिमेकी एसी मिलानलाई शीर्ष स्थानमा दुई अंकको अग्रता प्राप्त छ ।

हारको अर्थ युभेन्ट्स यो सिजन कुनै पनि उपाधि जित्न असफल रह्यो । युभेन्ट्सले सिजनमा कुनै पनि उपाधि जित्न नसकेको यो सन् २०१०–२०११ यता पहिलोपल्ट हो । सिरी ‘ए’ मा अहिले टुरिन क्लब युभेन्ट्स ६९ अंकमा चौथो स्थानमा छ र उसका लागि यो सिजन युरोपेली च्याम्पियन्स लिग छनोट हुनु नै सबैभन्दा ठूलो उपलब्धि रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?