१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जितको खोजीमा अनुभवको अपेक्षा

नेपालले आज जिम्बावे ‘ए’ सँग तेस्रो खेल खेल्दै
हिमेश

काठमाडौँ — जिम्बावे ‘ए’ को नेपाल भ्रमण सोमबार अन्तिम तथा निर्णायक वान डेसँगै टुंगिँदै छ । कप्तान सन्दीप लामिछानेले भने जस्तै नेपाली क्रिकेटलाई उकास्न चाहिने यस्तै सिरिज हो अनि नेपाली क्रिकेट कम्तीमा टेस्ट मान्यता प्राप्त देशको ‘ए’ टिमलाई हराउन सक्षम हुनुपर्छ । त्रिवि क्रिकेट मैदानमा हुने यही तेस्रो वान डेले नेपाली क्रिकेट कहाँ छ भनेर विश्लेषण गर्न मद्दत मिल्नेछ । यो खेलमा नेपाल विजयी रहे भन्न सक्छौं, हामीले साँच्चै जिम्बावे ‘ए’ लाई शृंखलामा हरायौं ।

जितको खोजीमा अनुभवको अपेक्षा

होइन भने यो शृंखलाबाट प्राप्त बहुमूल्य अनुभव आफ्नो ठाउँमा छँदै छ । सुरुको तीन ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा टुंगेको थियो । त्यसको दोस्रो खेल भने वर्षाले बिथोलिएको थियो । तीन वान डेको सिरिज पनि अहिले ठ्याक्कै १–१ कै बराबरीमा छ । यस्तोमा अन्तिम खेलको महत्त्व धेरै छ । नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायेके पनि चाहन्छन्, नेपाल यो वान डे सिरिज जित्न सफल रहोस् अनि यसको फाइदा चिरकालसम्म रहोस् ।

पहिलो वान डेमा जहाँ नेपालको हार बिर्सनलायक थियो, त्यहीं दोस्रो वान डेमा नेपालले प्राप्त गरेको जितलाई शानदार भन्न मिल्ने ठाउँ धेरै थिए । यस्तोमा कतै समस्या ‘कन्सिस्टेन्सी’ को त होइन ? प्रशिक्षक दसानायेके भन्छन्, ‘वास्तवमै अहिलेको टिममा पनि धेरै सुधार आवश्यक छन् । तर अहिले जे जस्तो भइरहेको छ, त्यसमा म खुसी छु । पहिलो वान डेमा बलको हर्कत धेरै थियो तर म चाहन्थें, नेपाली खेलाडीले यस्तै कठिन स्थितिको सामना गरोस् ।’

यस्तो किन पनि भने अबको केही महिनामा नेपाली टोली स्कटल्यान्ड जाँदै छ । स्कटल्यान्डमा सामना गर्ने अवस्था भनेको यस्तै हो, बलको धेरै चकचकी । उनी भन्छन्, ‘हामीले खेलाडीसँग यस्तो स्थितिको सामना कसरी गर्ने हो भनेर छलफल गरेका छौं । पहिलो वान डेको हार हाम्रो लागि खतराको सूचक पनि हो । म सबै खेलमा जित चाहने प्रशिक्षक नै हुँ । तर अहिलेको सिरिजबाट हामीले जस्तो चुनौती सामना गरेका छौं, त्यसले पछिलाई धेरै फाइदा पुग्छ भन्ने लाग्छ, नतिजा जस्तै भए पनि ।’

माथिल्लो क्रमको ब्याटिङमा ध्यान

नेपालले टिममा सुधार्नुपर्ने ठ्याक्कै ठाउँ भने कहाँनिर हो त ? प्रशिक्षक दसानायेकेको उत्तर रहेको छ, ‘म मध्यक्रमका ब्याटरको प्रदर्शनबाट सन्तुष्ट छु । तर माथिल्लो क्रमका ब्याटरले अहिले धेरै समय क्रिजमा टिकेर खेल्न आवश्यक छ । नयाँ बलको सामना गरेर खेल्न हामी सक्षम हुनुपर्छ । सायद टिमका फिल्डिङमै पनि कहींकतै समस्या छ । सबैभन्दा मुख्य कुरा टिमलाई के चाहिएको छ भनेर खेलाडीलाई पनि थाहा छ । टिमभित्रै पनि खेल्नका लागि प्रतिस्पर्धा भइरहेको छ ।’

उनी थप्छन्, योजनाअनुसार नै नेपाली टिम अगाडि बढिरहेको छ । उनी के पनि मान्छन् भने वान डेका लागि मात्र भनेर पनि नेपाली टिम विशेषज्ञ प्रारम्भिक ब्याटरको खोजीमा छ अथवा भनौं प्रयोगमा छ । उनी भन्छन्, ‘नेपालका लागि माथिल्लो क्रममा खेल्न सक्ने ब्याटरको संख्या बढी भयो भने राम्रो । यसले हामीलाई नै बढी विकल्प दिने हो । मलाई लाग्छ, आरिफ सेख र कुशल भुर्तेल नै अहिले हाम्रोमा उपलब्ध सबैभन्दा उत्कृष्ट प्रारम्भिक ब्याटरको जोडी हो ।’

तर समस्या कहाँनिर छ भने धेरै ट्वान्टी–२० क्रिकेटका कारण उनीहरू आफूलाई वान डे ढाँचामा परिणत गर्न संघर्ष गर्छन् । त्यसैले दसानायेके भन्छन्, ‘अबको दुई महिनामा हामीले कम्तीमा आठ आधिकारिक वान डे खेल्दै छौं । यस्तोमा हामीसँग एक–दुई बढी प्रारम्भिक ब्याटर भए धेरै राम्रो हुन्छ । त्यसैले पनि दोस्रो वान डेमा सुनील धमलाले इनिङ्सको सुरुआत गरे ।’ उनको नजर सोमबारको खेलमा मात्र छैन, अमेरिका भ्रमणमा पनि छ ।

नेपालले टेक्सासमा खेल्ने क्रिकेट मैदान पिच ब्याटरलाई असाध्यै मद्दत गर्ने खालको छ । त्यसैले पनि उनी ब्याटरले जति धेरै राम्रो गर्‍यो, त्यसमा खुसी हुन चाहन्छन् । अनि जिम्बावेविरुद्धको अन्तिम खेललाई लिएर उनको अपेक्षा छ, ‘माथिल्लो क्रमका हाम्रा ब्याटरमध्ये कम्तीमा दुई अथवा तीनले राम्रो स्कोर बनाओस् । एकै खेलमा छ–सात ब्याटर असफल रहेको हामी हेर्न चाहँदैनौं ।’ तय छ, सोमबारको खेलमा नेपाल वान डे सिरिज जित्न त चाहन्छ नै, सँगै अपेक्षा रहनेछ, बहुमूल्य अनुभव पनि बाक्लै होस् ।

प्रकाशित : वैशाख २६, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?