कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलले जित्ला त चार उपाधि ?

द गार्डियन

लन्डन — मंगलबार राति ४५ मिनेटसम्म लागेको थियो, सायद लिभरपुलको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्ने सपना तुहिन सक्ने छ । सेमिफाइनल दोस्रो लेगमा लिभरपुलमाथि भिल्लारियलले मज्जाले चढेर खेलेको थियो । लिभरपुलले सायद सिजनकै सबैभन्दा खराब पहिलो हाफ खेलेको थियो । यसले एकै सिजन टोलीको चार उपाधि जित्ने धोको समाप्त हुने डर पनि उत्पन्न भएको थियो । तर पूरा सिजनको कथा जस्तै योर्गन क्लोपको टिमले उपाय झिकिहाल्यो ।

लिभरपुलले जित्ला त चार उपाधि ?

गत साता एनफिल्डमा भएको पहिलो लेगको सेमिफाइनल २–० को जितेको स्थितिमा लिभरपुल नै यसमाथि नियन्त्रण राख्न सफल देखिन्थ्यो । तर, पहिलो हाफ समाप्त हुँदा नहुँदा टोलीको यो अग्रता स्पेनी क्लबले काटिसकेको थियो । खेल २–२ को बराबरीमा पुगेको थियो । यसक्रम खेलको एक घण्टासम्म पनि चल्यो । फाबिन्होसँगै दोस्रो हाफमा सब्स्टिच्युट भएका लुइस डियाज र साडियो मानेले एक–एक गोल गरेपछि त लिभरपुल पेरिसमा हुने फाइनलमा पुगिहाल्यो ।

भिल्लारियलको मैदानमा कोरिएको यो खेलको कथाको निचोड यस्तो भयो, लिभरपुल एकै सिजन च्याम्पियन्स लिग, एफए कप र लिग कपको फाइनल पुग्ने पहिलो टिम बनेको छ । लिभरपुलले एकै सिजन जति पनि खेल खेल्न सकिन्थ्यो, लिभरपुलले ती सबै खेल्नेछ । टोलीले लिग कप त जितिसकेको छ । एफए कपको फाइनलमा लिभरपुलको भेट चेल्सीसँग हुँदै छ । भिल्लारियलको मैदान स्वयंमा भने एक समय यही लिभरपुलविरुद्ध बोलाय डिया र फ्रान्सिस कोक्लिनले गोल गरे ।

क्लोप चाहन्थे, मध्यान्तरमा आफ्ना खेलाडीलाई लिभरपुलले पहिलो हाफमा निकै राम्रो खेलेको कुनै खेलको प्रमुख भाग देखाउन चाहन्थे, तर त्यो उपलब्ध नै हुन सकेन । उनलाई लागेको थियो, सायद यस्तो खेलको अंश देखाउँदा उत्साही हुनेछन् । पहिलो हाफको त्यो खेललाई लिएर विश्लेषण गर्दै क्लोपले भनेका छन्, ‘पहिलो हाफमा समस्या के थियो, त्यो त थाहा थियो, तर उपाय निस्किरहेको थिएन ।’ तर क्लोपले जस्तो अपेक्षा गरेका थिए, दोस्रो हाफमा लिभरपुलका खेलाडीले त्यस्तै खेले ।

खेलपछि भर्जिल भान डाइकले भने, ‘क्लोपले हामीलाई त्यसरी नै फुटबल खेल्न भनेको थियो, जसरी लिभरपुलले खेल्ने गर्छ ।’ यो लिभरपुल पाराको खेल कस्तो रह्यो भने तीव्र गति अनि त्यसमा फाइनल पुग्ने एकमात्र चाहना । दोस्रो हाफमा डियाजलाई मैदानमा प्रवेश गराउनु नै खेलको निर्णायक मोड रह्यो । कोलम्बियाली फरवार्डले डिएगो जोटाको स्थान लिएका थिए । उनले नै लिभरपुलका लागि खेलको बराबरी गोल गरेका हुन् ।

सबैले माने, डियाज नै खेलका एकमात्र फरक रहे । यस्तोमा सबैले के पनि भन्न थालेका छन् भने उनलाई अनुबन्ध गर्नु लिभरपुलले गरेको खुबै सही निर्णय थियो । अन्त्यमा सबैको फेरि उही प्रश्न गरेको छ । के लिभरपुलले यो सिजन चार उपाधि जित्न सक्नेछ त ? यसका लागि टोलीसामु ६ खेल बाँकी छन् । त्यसमध्ये इंग्लिस प्रिमियर लिगमा ले चार खेल खेल्न बाँकी छ । शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले मात्र पछाडि छ ।

सन् २०१७ मा मोहम्मद सलाह लिभरपुलमा आबद्ध भएका थिए । त्यसयता क्लबले तीन उपाधि जितेको छ । त्यो च्याम्पियन्स लिग, प्रिमियर लिग र लिग कप हो । त्यसअघिका १३ वर्षमा पनि लिभरपुलले तीन उपाधि नै जितेको थियो । यिनै सलाह भन्छन्, ‘हाम्रो लक्ष्य चार उपाधि जित्नु नै हो ।’ क्लोप भने यो काम निकै गाह्रो भएको मान्छन्, आखिरमा कोही कसैले यसअघि लिभरपुल यो सिजन तीन प्रतियोगिताको फाइनल पुग्छ भनेर कहाँ सोचेका थिए र ? तर अब लाग्छ, लिभरपुलले चार उपाधि जित्न सक्छ ।

प्रकाशित : वैशाख २२, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?