बेंगलोरलाई हराएर राजस्थान शीर्षमा
पुना — राजस्थान रोयल्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराएको छ । यो जितपछि राजस्थानले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।
यो जितपछि राजस्थानको ८ खेलबाट १२ अंक भएको छ । बेंगलोर भने १० अंकमा पाँचौं स्थानमा छ । राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४४ रन बनाएको थियो । त्यसमा रियान परागले सर्वाधिक ५६ रन बनाए ।
उनले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । जवाफमा बेंगलोरले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।
प्रारम्भिक ब्याटरको भूमिकामा आएका विराट कोहली फेरि एकपल्ट असफल रहे र उनले नौ रन मात्र बनाए । कप्तान फाफ डे प्लेसिसले बनाएको २३ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो ।
प्रकाशित : वैशाख १४, २०७९ ०६:५९प्रतिक्रिया