च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ

एपी

बार्सिलोना — युभेन्ट्स र बायर्न म्युनिकले भिल्लारियलबारे एउटा तथ्य राम्रोसँग जान्ने अवसर पाए । यो स्पेनी क्लबको प्रतिष्ठा सानै रहे पनि युरोपको क्लब प्रतियोगितामा यसले आफ्नो उपस्थितिमात्र देखाएको छैन । स्पेनको पूर्वी सहर भिल्लारियलको कुल जनसंख्या ५० हजारमात्र छ । यही क्लबको युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने सपनाबाट एक अर्को ठूलो टिममात्र प्रतिद्वन्द्वी छ । त्यो हो लिभरपुल । 

लिभरपुलले एनफिल्डमा हुने सेमिफाइनल पहिलो लेगमा बुधबार भिल्लारियलको आतिथ्यता गर्नेछ । अन्तिम १६ मा युभेन्ट्स र क्वाटरफाइनलमा बायर्नलाई भिल्लारियलले जसरी अप्रत्याशित स्तब्ध पारेको थियो, उसको लक्ष्य लिभरपुलविरुद्ध पनि त्यस्तै नतिजा निकाल्ने हुनेछ । कम्तीमा एनफिल्डमा हार नबेहोर्ने । अर्को साता दोस्रो लेगमा भिल्लारियलसामु आफ्नै घरमा खेल्ने अवसर हुनेछ । त्यतिबेला टोलीसामु पुनरागमनको अवसर पनि हुनेछ ।

भिल्लारियलका प्रशिक्षक उनाइ एमरीले भन्छन्, ‘लिभरपुल नै बलियो प्रत्याशी हो फाइनल पुग्न । तर हाम्रा पनि आफ्नै विशेषता छन् ।’ एमरीको छवि नकआउट प्रतियोगिताका विशेषज्ञ प्रशिक्षकका रूपमा रहेको छ । उनी भन्छन्, ‘हामी यहाँसम्म किन पुगेका छौं भनेर हाम्रा पनि आफ्नै विशेषता छन् । अहिलेको चुनौती धेरै बढी छ, युभेन्ट्स र बायर्नको भन्दा पनि । लिभरपुलविरुद्ध हामीलाई अझ मिहिनेत गर्नुपर्नेछ र सबै खेलाडीले व्यक्तिगत रूपमा अझ राम्रो खेल्नुपर्नेछ ।’

स्पेनी घरेलु फुटबललाई छाडेर बाहिर खासै धेरै नाम नसुनिने भिल्लारियललाई त्यो देशमा सबैभन्दा उत्कृष्ट ढंगले सञ्चालन गरिएको क्लब मानिन्छ । आफ्ना समर्थकमाझ ‘एलो सबमरिन’ नामले चिनिने भिल्लारियलको जर्सी केराको रंगसँग मिल्ने गर्छ र यसले अधिकांश समय आकर्षक, आक्रामक फुटबल पस्कने गर्छ । भिल्लारियल सकेसम्म बढी बलमाथि नियन्त्रण राख्न पनि मन पराउने गर्छ । क्लबका मालिक हुन् करोडपति व्यवसायी फर्नान्डो रोइग ।

कम बजेटमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने भिल्लारियलको नीतिको सबैभन्दा ठूलो श्रेय उनलाई नै जान्छ । सन् २००९ मा पनि भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २००८ मा म्यानुएल पेलिग्रेनीको प्रशिक्षणमा घरेलु लिगको दोस्रो स्थानमा पनि आएको थियो । तर उसको सबैभन्दा ठूलो सफलता भनेको गत वर्ष युरोपा लिग जित्नु हो । त्यो पनि एमरीकै नेतृत्वमा । क्लब इतिहासमै यो अहिलेसम्मको एकमात्र ठूलो उपाधि हो ।

त्यसका लागि फाइनलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । एमरीको व्यक्तिगत आफ्नै भने यो चौथो युरोपा लिग उपाधि थियो । सेभियाका लागि उनले यही उपाधि तीनपल्ट जितेका छन् । यी सबै उपलब्धिका अगाडि यसपल्ट युभेन्ट्स र बायर्नको चुनौती काट्न सक्नु ठूलो देखिन्छ । लिभरपुलका प्रशिक्षक योगर्न क्लोप उनीबारे भन्छन्, ‘एमरी सानो सानो कुरामा पनि गहन ध्यान दिने प्रशिक्षक हुन् । उनी विश्वस्तरीय प्रशिक्षक हुन् र उनले मज्जाले काम पनि गरिरहेका छन् ।’

प्रकाशित : वैशाख १४, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्

अफगानी फुटबलरको रोदन

तालिवानीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका महिला खेलाडीमा डर स्थापित भएको छ । उनीहरु रूँदै सहयोग मागिरहेका छन् ।
एपी

लन्डन — भयभीत फोन कल र भ्वाइस म्यासेजको माध्यमबाट खालिदा पोपलले अफगानी महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूको याचना सुनिरहेकी छन् । दुई दशकपछि तालिवानीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका महिला खेलाडीमा डर स्थापित भएको छ । उनीहरू रुँदै सहयोग मागिरहेका छन् । जसले फोन गर्छन्, उनीहरूलाई पोपलले आफ्नो घरबाट भाग्न सल्लाह दिइरहेकी छन् । तर, जाने कहाँ ? 

उनले आफ्ना खराब छिमेकीहरूबाट बच्न सुझाइरहेकी छन्, जो महिलाले खेलेको मन पराउँदैनन् वा जो इस्लामिक इमिरेट्स अफ अफगानिस्तान चाहन्छन् । ‘मैले उनीहरूलाई सामाजिक सन्जाल बन्द गर्न, तस्बिरहरू हटाउन र आफूलाई लुकाउन प्रोत्साहित गरिरहेकी छु,’ पोपलले डेनमार्कबाट टेलिफोनमा एपीसँग भनिन्, ‘यति भनिरहँदा मैले आफूलाई रोक्न सकिरहेकी छैन । किनभने यति धेरै वर्षदेखि म उनीहरूकै उत्थानका लागि लडिरहेको छु भने अहिले उनीहरूलाई नै चुप लाग्न, लुक्न र देश छाड्न भनिरहेकी छु । त्यहाँको जीवन धेरै डरलाग्दो भइसक्यो ।’ तालिवानलाई सत्ताबाट हटाउनका लागि सहयोग गरेको पश्चिमा सहयोग फर्किएलगत्तै पुनः सत्ता संकट गरिदिनुले आफूलाई आश्चर्यमा पारेको ३४ वर्षीया पोपलको भनाइ छ ।

सन् १९९६ मा तालिवानले पहिलोपल्ट सत्ताकब्जा गर्दा पोपलको परिवार देश छाडेर पाकिस्तानस्थित शरणार्थी सिविरमा बस्नुपरेको थियो । दुई दशकअगाडि अफगानिस्तान फर्किंदा पोपल किशोरी उमेरकी थिइन् । महिला अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने पोपलको अपेक्षा छ । ‘मेरो पुस्ताका युवाले देश निर्माण गर्ने अपेक्षा थियो । यसले आगामी पुस्ताका महिला र पुरुषहरूलाई सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले फुटबलको माध्यमबाट केटीहरूलाई सशक्त बनाउने अभियान सुरु गरेकी थिएँ ।’


सन् २००७ सम्म पहिलो महिला राष्ट्रिय टिम निर्माण गर्ने समयसम्म पोपलजस्ता थुप्रै खेलाडी उत्पादन भइसकेका थिए । ‘राष्ट्रिय टोलीको जर्सी लगाउन पाउँदा हामीलाई गर्व महसुस हुन्थ्यो,’ पोपलले सुनाइन्, ‘यो अहिलेसम्मकै सबैभन्दा राम्रो र छुट्टैखाले अनुभव थियो ।’ पोपलले त्यतिबेलैदेखि तालिवान बाहुल्य क्षेत्रमा भइरहेको युद्धको विरुद्धमा बोल्न आफ्ना टिममेटलाई प्रोत्साहित गरिरहेकी हुन्थिन् । ‘मलाई हत्याको धम्की बारम्बार आइरहेको हुन्थ्यो । किनभने यस्ता कुराहरू म राष्ट्रिय टेलिभिजनमै भनिदिन्थें,’ उनले भनिन्, ‘मैले तालिवानलाई आफ्नो दुश्मन भनेको थिएँ ।’

पोपलले सन् २०११ देखि खेल्न छाडिन् । त्यसपछि अफगानिस्तान फुटबल संघमा निर्देशकको जिम्मेबारी सम्हालिन् । ज्यान मार्ने धम्की बढ्न थालेपछि सन् २०१६ मा उनले डेनमार्कमा शरण मागिन् र अफगानिस्तानबाट भाग्न बाध्य भइन् । ‘मेरो जीवन त्यतिबेला निकै खतरामा थियो,’ उनले स्मरण गरिन् । निर्वासनमा रहँदा पनि उनी सधैं महिला फुटबलरका बारेमा, उनीहरूमाथिको शारीरिक र यौनशोषण, ज्यान लिने धम्की र बलात्कारका घटना पर्दाफास गर्न तल्लिन रहिन् । जसले अफगानिस्तान फुटबल संघको नेतृत्वलाई खतरामा पारेको थियो ।

खेलकुदमा हुने भ्रष्टाचारले एक अस्थिर देशको समस्या दर्शाउँछ । जुन अमेरिकी सेनाको फिर्तीपछि अझै धेरै बढेको छ । ‘हामीले दुश्मनी बनाइरहेका छैनौं । तर उनीहरू रोइरहेका छन् । उनीहरू दुःखी छन्, हतास् छन् । उनीहरूसँग धेरै प्रश्न छन् । अहिले जे भइरहेको छ त्यो ठीक छैन,’ उनले भनिन् । ‘मेरा खेलाडीहरू लुकिरहेका छन् । धेरैजसो आफ्नो घर छोडेर आफन्तकहाँ बसेका छन् । किनभने छिमेकीहरूलाई थाहा छ, उनीहरू खेलाडी हुन्,’ उनले थपिन् । पोपलले फिफा वरीयतामा १ सय ५२ औं स्थानमा रहेको अफगानी महिला टोलीले पुनः अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेमा शंका व्यक्त गरेकी छन् ।

प्रकाशित : भाद्र ३, २०७८ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×