च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ

एपी

बार्सिलोना — युभेन्ट्स र बायर्न म्युनिकले भिल्लारियलबारे एउटा तथ्य राम्रोसँग जान्ने अवसर पाए । यो स्पेनी क्लबको प्रतिष्ठा सानै रहे पनि युरोपको क्लब प्रतियोगितामा यसले आफ्नो उपस्थितिमात्र देखाएको छैन । स्पेनको पूर्वी सहर भिल्लारियलको कुल जनसंख्या ५० हजारमात्र छ । यही क्लबको युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने सपनाबाट एक अर्को ठूलो टिममात्र प्रतिद्वन्द्वी छ । त्यो हो लिभरपुल । 

च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ

लिभरपुलले एनफिल्डमा हुने सेमिफाइनल पहिलो लेगमा बुधबार भिल्लारियलको आतिथ्यता गर्नेछ । अन्तिम १६ मा युभेन्ट्स र क्वाटरफाइनलमा बायर्नलाई भिल्लारियलले जसरी अप्रत्याशित स्तब्ध पारेको थियो, उसको लक्ष्य लिभरपुलविरुद्ध पनि त्यस्तै नतिजा निकाल्ने हुनेछ । कम्तीमा एनफिल्डमा हार नबेहोर्ने । अर्को साता दोस्रो लेगमा भिल्लारियलसामु आफ्नै घरमा खेल्ने अवसर हुनेछ । त्यतिबेला टोलीसामु पुनरागमनको अवसर पनि हुनेछ ।

भिल्लारियलका प्रशिक्षक उनाइ एमरीले भन्छन्, ‘लिभरपुल नै बलियो प्रत्याशी हो फाइनल पुग्न । तर हाम्रा पनि आफ्नै विशेषता छन् ।’ एमरीको छवि नकआउट प्रतियोगिताका विशेषज्ञ प्रशिक्षकका रूपमा रहेको छ । उनी भन्छन्, ‘हामी यहाँसम्म किन पुगेका छौं भनेर हाम्रा पनि आफ्नै विशेषता छन् । अहिलेको चुनौती धेरै बढी छ, युभेन्ट्स र बायर्नको भन्दा पनि । लिभरपुलविरुद्ध हामीलाई अझ मिहिनेत गर्नुपर्नेछ र सबै खेलाडीले व्यक्तिगत रूपमा अझ राम्रो खेल्नुपर्नेछ ।’

स्पेनी घरेलु फुटबललाई छाडेर बाहिर खासै धेरै नाम नसुनिने भिल्लारियललाई त्यो देशमा सबैभन्दा उत्कृष्ट ढंगले सञ्चालन गरिएको क्लब मानिन्छ । आफ्ना समर्थकमाझ ‘एलो सबमरिन’ नामले चिनिने भिल्लारियलको जर्सी केराको रंगसँग मिल्ने गर्छ र यसले अधिकांश समय आकर्षक, आक्रामक फुटबल पस्कने गर्छ । भिल्लारियल सकेसम्म बढी बलमाथि नियन्त्रण राख्न पनि मन पराउने गर्छ । क्लबका मालिक हुन् करोडपति व्यवसायी फर्नान्डो रोइग ।

कम बजेटमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने भिल्लारियलको नीतिको सबैभन्दा ठूलो श्रेय उनलाई नै जान्छ । सन् २००९ मा पनि भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २००८ मा म्यानुएल पेलिग्रेनीको प्रशिक्षणमा घरेलु लिगको दोस्रो स्थानमा पनि आएको थियो । तर उसको सबैभन्दा ठूलो सफलता भनेको गत वर्ष युरोपा लिग जित्नु हो । त्यो पनि एमरीकै नेतृत्वमा । क्लब इतिहासमै यो अहिलेसम्मको एकमात्र ठूलो उपाधि हो ।

त्यसका लागि फाइनलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । एमरीको व्यक्तिगत आफ्नै भने यो चौथो युरोपा लिग उपाधि थियो । सेभियाका लागि उनले यही उपाधि तीनपल्ट जितेका छन् । यी सबै उपलब्धिका अगाडि यसपल्ट युभेन्ट्स र बायर्नको चुनौती काट्न सक्नु ठूलो देखिन्छ । लिभरपुलका प्रशिक्षक योगर्न क्लोप उनीबारे भन्छन्, ‘एमरी सानो सानो कुरामा पनि गहन ध्यान दिने प्रशिक्षक हुन् । उनी विश्वस्तरीय प्रशिक्षक हुन् र उनले मज्जाले काम पनि गरिरहेका छन् ।’

प्रकाशित : वैशाख १४, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?