लिभरपुललाई म्यानचेस्टरले धक्का देला ?

पूर्वसन्ध्यामा लिभरपुलका प्रशिक्षक योर्गन क्लोप यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्त मान्छन्
रोयटर्स

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ । त्यसको पूर्वसन्ध्यामा प्रशिक्षक योर्गन क्लोप यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्त मान्छन् । पछिल्लो समय म्यानचेस्टरको प्रदर्शन अपेक्षित राम्रो हुन सकेको छैन । तर, जब यी दुई खेल एक आपसमा भिड्छन्, त्यो खेल जहिल्यै पनि विशेष हुने गर्छ । लिभरपुल पुरानो प्रतिद्वन्द्विता नवीकरण गर्दै छ । यसक्रम उनको नजर हुनेछ लिगको शीर्षस्थान । 

लिभरपुललाई म्यानचेस्टरले धक्का देला ?

अहिले तत्काल लिभरपुल दोस्रो स्थानमा छ । लिग शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा एक अंकको दूरीमा छ । म्यानचेस्टर आफैं भने पाँचौं स्थानमा छ । यो चौथो स्थानमा रहेको टोटेनहमसँग ३ अंकको दूरी हो । त्यो भनेको युरोपेली च्याम्पियन्स लिग खेल्न पाउने अन्तिम स्थान । क्लोपले बुधबार पत्रकारसँगको कुराकानीमा भनेका छन्, ‘यो निकै ठूलो खेल हो, निकै ठूलो । विश्व फुटबलकै दुई ठूला क्लब एकापसमा भिड्दैछन् ।’

क्लोपका अनुसार प्रत्येकपल्ट म्यानचेस्टरको सामना गर्दा त्यसमा तेर्सिने चुनौती विशेष हुने गर्छ । उनी थप्छन्, ‘हामीलाई थाहा छ, म्यानचेस्टर आक्रमण भएर उत्रने छ, किनभने उसलाई च्याम्पियन्स लिगका लागि छनोट हुनु छ । मलाई पूरा विश्वास छ, ९० मिनेटको यो खल निकै तनावपूर्ण हुनेछ । हामी दुवै टिमका लागि यो खेलको अर्थ विशेष छ । दुवै टिमले जितका लागि मिहिनेत गर्नेछ । यसले पनि देखाउने गर्छ, यो खेलको महत्त्व कति छ भनेर ।’

जर्मन प्रशिक्षक आफ्नो विपक्षी समकक्षी राल्फ राङनिकको प्रशंसा गर्न पनि बिर्संदैनन् । गत वर्ष मात्र अर्का जर्मन प्रशिक्षकले ओल्ड ट्राफोर्डको जिम्मेवारी सम्हालेका थिए । क्लोप भन्छन्, ‘उनी इंग्ल्यान्ड आएयता हामीबीच कुराकानी भएको छैन । तर, हामी सबैले महसुस गर्न सक्छौं, उनको आगमनपछि म्यानचेस्टर टिममा आएको विकासको परिवर्तनलाई लिएर । उनले एक खास शैलीमा टिमलाई अगाडि बढाउने प्रयास गरेका छन्, पछिल्लो समय म्यानचेस्टरले केही राम्रा खेल खेलेका छन् ।’

त्यसैले म्यानचेस्टरलाई हराउन सजिलो नहुने उनी मान्छन् । यो खेलमा सबैको नजर लिभरपुलका फरवार्ड मोहम्मद सलाहमा रहनेछ, किनभने उनी गोल खडेरीबाट गुज्रिइरहेका छन् । उनले फेब्रुअरी १९ यता एनफिल्डमा गोल गर्न सकेका छैनन् । तर क्लोप इजिप्टका आफ्ना स्टार खेलाडीको प्रदर्शनलाई लिएर चिन्तित छैनन् । क्लोप मान्छन्, ‘यस्तो समयबाट सबै खेलाडीलाई गुज्रिनुपर्छ । शारीरिक रूपमा समान ढंगले खेलिरहन सजिलो छैन ।’

राङनिकलाई डिफेन्सको चिन्ता
म्यानचेस्टर प्रशिक्षक राङनिकलाई लिभरपुलको सामना गर्दा सबैभन्दा ठूलो समस्या आफ्नो टिमको डिफेन्समा रहेको छ । उनी मान्छन्, नर्विचविरुद्ध प्राप्त जितमा जस्तै खेल्ने हो भने लिभरपुलविरुद्ध सजिलो हुने छैन । त्यस जितमा पनि उनी खुसी हुन सकेका थिएनन् । टिमका केही समर्थकले पनि आफ्ना खेलाडीको प्रदर्शनमा निराशा पोख्दै आएका छन् । म्यानचेस्टरलाई च्याम्पियन्स लिग छनोटको सम्भावना जीवन्त राख्न लिभरपुलविरुद्ध आफू अनुकूल नतिजा निकाल्न आवश्यक हुनेछ ।

लिभरपुल स्वयं अद्वितीय रूपमा चार उपाधिको अभियानमा छ । त्यसमध्ये टोलीले लिग कप जितिसकेको छ । लिभरपुल एफए कपको फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनल पुगिसकेको छ । टोलीलाई प्रिमियर लिगमा पनि आफ्नो चुनौती कायम राख्न घरमै म्यानचेस्टरलाई हराउन आवश्यक छ । म्यानचेस्टरले ठीक यही स्थितिमा लिभरपुललाई निर्णायक धक्का दिनसक्छ । तर राङनिकलाई आफ्नै डिफेन्सले धोका दिनेमा डर छ ।

प्रिमियर लिगको पुछारमा रहेको नर्विचविरुद्ध खेलको अन्त्यतिर दुई गोलको अवसर दिएर म्यानचेस्टर शनिबार दबाबमा आएको थियो । राङनिक मान्छन्, म्यानचेस्टरले निकै सजिलो ढंगले दुई गोलको अवसर दिएको थियो । उनी भन्छन्, ‘जतिले नर्विचविरुद्धको खेल हेरेको हुनुपर्छ, ती सबैले भन्नेछन्, हाम्रो डिफेन्सको प्रदर्शन कमजोर रह्यो । लिभरपुलले भर्खरै म्यानचेस्टर सिटीलाई हराएको छ । टोलीका सामु चार उपाधिको सम्भावना कायम छ ।’

उनी थप्छन्, ‘त्यसैले हाम्रो प्रदर्शन मजबुत हुन आवश्यक छ, विशेषतः डिफेन्समा । नर्विचविरुद्धको खेलमा जस्तै खेल्ने हो भने एनफिल्डमा एक अंक जित्न पनि गाह्रो हुनेछ । तर हामी सकारात्मक रहन आवश्यक छ । जतिबेला खेलमाथि लिभरपुलको पकड रहनेछ, त्यही बेला हामीले राम्रो खेल्नुपर्नेछ ।’ सिजनको सुरुमा ओल्ड ट्राफोर्डमा भएको खेलमा भ्रमणकारी लिभरपुलले ५–० को एकपक्षीय जित निकालेको थियो, त्यसैले पनि म्यानचेस्टर सतर्क रहनुपरेको हो ।

प्रकाशित : वैशाख ६, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?