कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश र आर्मी विजयी

भैरहवा — प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार दुई खेलमा भारतको उत्तर प्रदेश क्लब–११ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी बंगलादेशमाथि ८ विकेटको जित पाएको छ । ७८ रनको लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । विवेक सिंह ३३ बलमा ५ चौकासहित ३५ रनमा अविजित रहे ।

कप्तान शुभम चौधरीले १५ बलमा ३ चौकासहित १७ बनाए । राहुलकुमार १५ र नितिन राम १ रनमा आउट भए । मोहम्मद मोसरफ र राज बमले १–१ विकेट लिए ।

सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गरेको ट्यालेन्ट हन्ट एकेडेमी १८.२ ओभरमा ७७ रनमा समेटियो । मोहम्मद उमरले २० र आशिष रत्नमले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रिन्स शाहीले १५ रन खर्चेर ४ विकेट लिए । तेजस सिंहले १३ रन खर्चेर ३ विकेट लिए ।

अर्को खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ५१ रनले हरायो । १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ १९.१ ओभरमा ८८ रनमै अलआउट भयो । एपीएफका कप्तान प्रदीप ऐरीले ४ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए । रित गौतम १२ र लोकेश बम ९ रन बनाए । सन्दीप जोरा ९, सुमित महर्जन १२ र अमर राउटेला ४ रनमा आउट भए । आर्मीका सोमपाल कामीले १८ रन खर्चेर ४ विकेट लिए । शाहब आलम, कुशल मल्ल र विक्रम सोबले २–२ विकेट लिए ।

टस जितेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । आर्मीका रोहित पौडेल ५७ बलमा ९ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे । भीम सार्कीले २ चौकासहित २२ रन र कप्तान विनोद भण्डारी १ चौकासहित १९ रन बनाए । ओपनर सन्तोष कार्की ७, राजेश पुलामी २ र हरि चौहान शून्यमा आउट भए । एपीएफका स्पिनर भुवन कार्की र किशोर महतोले समान २ विकेट लिए । अमर राउटेला र नन्दन यादवले १–१ विकेट लिए ।


प्रकाशित : चैत्र २७, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?