३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
इटहरी गोल्डकप फाइनल

दुवैको इतिहास रच्ने दाउ

आर्मीको लय, टिमवर्क र स्ट्रेन्थ राम्रो छ भने सगरमाथा टिमको बलियो युवा जोस
सुम्निमा चाम्लिङ

इटहरी — इटहरी गोल्डकप फुटबलको उपाधि कसको पोल्टामा पर्ला त्यो शनिबारकै खेलले निधो गर्नेछ । इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सगरमाथा युथ क्लब मोरङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मी उपाधि रक्षा गर्ने दाउमा छ भने घरेलु टोली सगरमाथा इतिहास रच्ने तयारीमा छ ।

दुवैको इतिहास रच्ने दाउ

अघिल्लो संस्करण उपविजेता मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा ४–२ गोलले पराजित गर्दै सगरमाथा उपाधि नजिक आइपुगेको हो । यसअघि सगरमाथाले क्वाटरफाइनलमा एनआरटी क्लब काठमाडौंलाई ३–० ले हराएर आफूलाई बलियो दाबेदारमा प्रस्तुत गरेको थियो ।

रोलिङ क्बल धुलाबारीलाई पराजित गर्दै आर्मी फाइनल पुगेको हो । आयोजक जागृति क्लबलाई २–१ ले हराएर आर्मीले सेमिफाइनलको टिकट काटेको थियो । दुईपल्टको च्याम्पियन आर्मी भरत खवास कप्तानीमा टेकबहादुर बुढाथोकीसहित स्टार खेलाडीको साथ मैदान उत्रनेछ ।

आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएका छन् । त्यसले गर्दा उनी मैदानमा देखिने छैनन् । झापा गोल्डकप विजेता आर्मीको मुख्य लक्ष्य इटहरी गोल्डकप बनेको छ । प्रतियोगितामा पहिलोपल्ट सहभागी सगरमाथाले सशक्त टिमहरूलाई हराएर आफ्नो दरिलो उपस्थिति देखाएको छ । आर्मी र सगरमाथाबीच इटहरी रंगशालामा पहिलोपल्ट भेट हुँदै छ । घरेलु दर्शकको साथ पाएको सगरमाथाका खेलाडीमा उच्च मनोबलका साथ उत्रिरहेका छन् ।

सगरमाथाका कप्तान अशोक खवास फाइनल उत्कृष्ट हुनेमा ढुक्क छन् । उनले भने, ‘आर्मीको राम्रो टिम भए पनि दर्शकको साथले हामीलाई थप हौसला मिल्नेछ । उच्च मनोबलको साथ मैदानमा आर्मीविरुद्ध उत्रन्छौं ।’ दुई ठूला टिमलाई पराजित गरेका कारण आत्मविश्वास बढेको उनले सुनाए । उनले थपे, ‘आर्मीसँग खेल्दा मनोबल घटेको हुने छैन । हाम्रो एउटै योजना भनेको इनर्जी हो ।’

सगरमाथा युथका प्रशिक्षक युविन गुरुङ आर्मी बलियो प्रतिद्वन्द्वी भएका कारण जित निकाल्न कठिन हुने बताउँछन् । ‘हाम्रा लागि सहभागी हुनु नै ठूलो हो । टिमको मिहिनेतका कारण फाइनलसम्मको यात्रा तय गरेका छौं,’ उनले भने, ‘आर्मी आफैंमा सेट टिम भएकाले फिजिकल्ली र मेन्टालिटी राम्रो छ । हामी पनि खेल रणनितिअनुसार सफल हुनेमा आशावादी छौं ।’ केही खेलाडी परिवर्तन भए पनि बाकी प्लेयिङ सेटका खेलाडी नै मैदानमा उत्रने प्रशिक्षक गुरुङले बताए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उपाधि जित्ने तयारीमा रहेको बताए । उनले भने, ‘विशेष रणनीति बनाएर फाइनल खेल्नेछौं । डिफेन्डिङ च्याम्पियन भएका कारण उपाधि सुरक्षित गर्न कुनै कसर राख्ने छैनौं ।’ सगमाथाको टिममा ‘ए’ डिभिजन खेल्ने खेलाडीको वर्चस्व भएका कारण जित निकाल्न निकै मिहिनेत गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘बलियो टिमहरूलाई सगरमाथाले परािजत गरेका कारण उपाधि जित्न सहज हुने छैन तर हाम्रो सबल पक्ष भनेको स्टामिना हो । त्यसैले स्टामिनालाई खेल अवधिभर सदुपयोग गर्नेछौं ।’

आर्मीका कप्तान भरत खवास घरेलु मैदानमा खेल्न पाउँदा निकै खुसी लागेको अनुभुति पोखे । सगरमाथा टिममा उत्कृष्ट खेलाडीहरू भएका कारण प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताए । उनले भने, ‘फिजिकल्ली र मेन्टली रूपमा तयार भएकाले फाइनल जित्छौं भन्ने छ । उपाधि रक्षाको लक्ष्य पूरा गर्छौं भन्नेमा विश्वस्त छौं ।’

फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने पुर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको विश्लेषण छ । आर्मी र सगरमाथाका दर्शक अत्यधिक भएका कारण खेल थप रोमाञ्चक हुने उनको ठम्याइ छ । दुवै बलियो टिम भएको औंल्याउँदै उनले भने, ‘आर्मीको स्पिड र टेक्निकल पाटो राम्रो छ । सगरमाथा क्लबमा पनि ए डिभिजन लिगका साथै तीन विदेशी खेलाडी छन् । उनीहरूको पनि स्पिड र टेक्निकल पाटो राम्रो देखेको छु ।’

जिल्ला फुटबल संघ सुनसरीका प्रशिक्षक श्याम मानन्धर भने सगरमाथाविरुद्ध आर्मी हाबी हुने आँकलन गर्छन् । उनले भने, ‘आर्मीको लय, टिमवर्क र स्ट्रेन्थ राम्रो छ । सगरमाथा टिमको पनि स्पिड राम्रो छ । युवा जोसले भरिएको छ । इफोर्ट लगाएर खेल्छन् ।’

प्रकाशित : चैत्र २६, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?