३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शुक्र गुरुग्राम च्यालेन्जको ३८ औं स्थानमा

काठमाडौँ — नेपाली प्रो शुक्रबहादुर राईले क्लासिक गल्फ एन्ड कन्ट्री क्लब, हरियानामा ६ अन्डर २८२ खेल्दै शुक्रबार ३८ औं स्थानमा रहेर गुरुग्राम च्यालेन्ज २०२२ टुंग्याएका छन् ।

शुक्र गुरुग्राम च्यालेन्जको ३८ औं स्थानमा

प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) ले एसियन डेभलोप्मेन्ट टुर (एडीटी) सँग सहकार्य गर्दै संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा शुक्र तेस्रो दिन २२ औं स्थानमा रहेका थिए । तर, अन्तिम दिन तीन ओभर ७५ को खराब प्रदर्शन गरेपछि उनी १४ स्थान गुमाएर भारतका तीन र बंगलादेशका एक गल्फरसँगै ३८ औं स्थानमा चित्त बुझाउन बाध्य भए ।

चौथो र १८ औं होलमा बर्डी गरेका शुक्रले होल नं.१, २, ६, १३ र १७ मा बोगी बेहोरे । उनले पहिलो दिन १ अन्डर ७१, दोस्रो र तेस्रो दिन समान ४ अन्डर ६८ को उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भारु.३८,३०६ हात पारे । कुल ७५ हजार डलर पुरस्कारको प्रतियोगितामा २३ अन्डर खेल्दै अमेरिकी गल्फर केमर डजले उपाधि जिते ।

धरानका २४ वर्षीय शुक्रले छनोट पार गर्दै सन् २०२२ सिजनको लागि पीजीटीआईको ‘फुल कार्ड’ प्राप्त गरेका हुन् । उनले चार प्रतियोगिता खेल्दै तीनमा ‘कट’ बनाए । गुजरात ओपन गल्फ च्याम्पियनसिपमा दुई दिनको प्रतिस्पर्धाबाटै बाहिरिएका उनी ग्लेन वान मास्टर्समा ५१ औं, टाटा स्टिल पीजीटीआई प्लेयर्स च्याम्पियनसिपमा ४९ औं भएपछि गुरुग्राम च्यालेन्ज ३८ औं स्थानमा रहेका हुन् ।

चारै प्रतियोगितामा राम्रो सुरुआत गरे पनि उनी अन्तिम चरणतिर खराब लयबाट उक्सिन सकेनन् । फाइनल चरण खेलेका तीन प्रतियोगिताबाट उनले भारु. ६९,९७३ कमाएका छन् ।

प्रकाशित : चैत्र १८, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?