१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बरोडालाई स्वर्ण

काठमाडौँ — भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ गेमले हरायो । बरोडाले तीन सिंगल्समा जित हात पार्‍यो भने डबल्स स्पर्धा गुमायो ।

बरोडालाई स्वर्ण

सिंगल्समा बरोडाकी इशाले एजीएकी फिल्जाहलाई १२–१०, १२–१०, १०–१२, १२–१० ले, गत संस्करणकी विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२, १५–१३ तथा फेरि ममताले फिल्जाहलाई ११–५, ११–७, ११–४ को सेटमा हराएका थिए । डबल्समा एजीएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र इशाको जोडीलाई ११–५, ११–९, ६–११, ११–८ ले पन्छाउँदै सान्त्वना जित निकाले ।

पहिलो दिन पुरुष सिंगल्सका लिग चरणका खेल भए । उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ । त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउने छन् । सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन् ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पाउनेछन् ।

प्रतियोगितामा नेपालबाट ३ सय ४७ र भारतबाट ३८ खेलाडीको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला टेबलटेनिस क्लबले जनाएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधानमा भइहरहेको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रकाशित : चैत्र १६, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?