वाग्मती युवा सेमिफाइनलमा

वाग्मती र संकटाका दुवै प्रशिक्षकलाई रातो कार्ड, वाग्मतीले फाइनल पुग्न एपीएफसँग खेल्ने
लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी १२ औं जितपुरसिमरा गोल्डकप फुटबलमा मंगलबार साबिक विजेता संकटालाई १–० ले हराउँदै वाग्मती युवा क्लब सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा वाग्मती अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । छैटौं दिनको खेल रोमाञ्चक बन्यो । खचाखच दर्शक भरिएको मैदानमा जित हात पार्न दुवै टीमबीच कडा प्रतिस्पर्धा भएको थियो । 

वाग्मती युवा सेमिफाइनलमा

अन्तिम क्वाटरफाइनलमा वाग्मतीले जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २७ औं मिनेटमा वाग्मतीका अनिल रानामगरले गोल गरेका थिए । डिना गुरुङले प्रहार गरेको फ्रिकिकमा अनिलले गरेको गोल निर्णायक साबित बन्यो । वाग्मतीले अब फाइनल प्रवेशका लागि विभागीय क्लब एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै एपीएफ यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

वाग्मतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरेको संकटा फिनिसिङमा चुकेको थियो । यही कारणले टोली उपाधि रक्षाका लागि फाइनल पुग्न सकेन । संकटाले खेलको सुरुआतदेखि वाग्मतीमाथि दबाब बनाएको थियो । ‘ए’ डिभिजन लिगका अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको संकटा पहिलो हाफमा वाग्मतीलाई अवसर बनाउन दिएन ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको ३५ औं मिनेटमा फोडे फोफनाको क्रसमा संकटाका दीपेश आले मगरले राम्रो अवसर खेर फालेका थिए । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको इन्ज्युरी समयमा दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका थिए । खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै प्रशिक्षकलाई प्लेयर बक्सबाहिर पठाएका थिए ।

संकटा दोस्रो हाफमा पनि हाबी देखियो । खेलको ६२ औं मिनेटमा संकटाका फोफाना वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । उनको प्रहार पोस्टमा ठोक्किएर फर्कियो । लगत्तै यानिकले अर्को मौका गुमाए । फोफानाको क्रसबललाई उनले पोस्टको दिशा दिन सकेनन् । वाग्मतीले दोस्रो हाफमा धेरै अवसर बनाउन सकेन । खेलको ८२ औं मिनेटमा सुसन लामाले निकालेको पासमा डिना गुरुङ गोल गर्न चुकेका थिए । दबाबमा देखिएको वाग्मतीले संकटाको अग्रपंक्तिका खेलाडीलाई सफल हुन भने दिएनन् ।

निर्धारित समयमा दुवै टिमले स्कोर गर्न नसकेपछि खेलमा ३० मिनेट थपियो । अतिरिक्त समयको खेल पनि आफ्नो नियन्त्रणमा राखेको संकटाले थुप्रै अवसर गुमायो । संकटाले अवसर गुमाइरहँदा खेलको १ सय १७ औं मिनेटमा वाग्मतीले फ्रिकिक अवसरमा वाग्मतीले विजयी गोल गरेको हो ।

डिना गुरुङले प्रहार गरेको फ्रिकिक बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले नियन्त्रणमा लिन खोज्दा रिबाउन्ड बलमा अनिलले हेडमार्फत गोल गरेका हुन् । बलियो देखिएको संकटाविरुद्ध स्कोर निकालेपछि उत्साहित वाग्मतीले अन्तिम समय सम्हालिएर खेल्दै नजिता आफ्नो पक्षमा पारेको हो । म्यान अफ द म्याच वाग्मतीका अभिषेक वाइबा घोषित भए । बुधबार एनआरटी र आयोजक नव जनजागृति युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित : चैत्र १६, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?