पीएनजीसँग हार, नेपाल पहिलो पटक शृंखला गुमायो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीएनजीसँग हार, नेपाल पहिलो पटक शृंखला गुमायो

विनोद पाण्डे

काठमाडौँ — नेपालले पहिलो पटक द्विपक्षीय एकदिवसीय शृंखलामा हार बेहोरेको छ । लेगा सिएकाले ९० रनमा पपुवा न्युगिनी (पीएनजी) ले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ३ विकेटले पराजित गरेसँगै दुई खेलको शृंखला पनि जितेको छ ।

सिएकाले १ सय २ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरेपछि पीएनजीले २ सय ७९ रनको लक्ष्य ८ बलअगाडि २ सय ८३ रन बनाउँदै पूरा गर्‍यो । उनले सेसे बाउसँग चौथो विकेटमा जोडेको १ सय १० रन पीएनजीको विजय आधार बन्यो ।

नेपालले दुई खेलको शृंखलामा २–० क्लिन स्विप हार भोगेको हो । नेपाल शुक्रबार पहिलो खेलमा ६ रनले पराजित भएर दुई खेलको शृंखलामा पछाडि परेको थियो । सन् २०१८ मा नेदरल्यान्ड्ससँगको शृंखला १–१ को बराबरीमा टुंग्याएको नेपालले त्यसको अर्को वर्ष यूएईलाई दुबईमा २–१ ले पराजित गरेको थियो । गत वर्ष ओमानमा पीएनजीसँगको शृंखला नेपालले २–० ले क्लिन स्विप गरेको थियो ।

पीएनजीलाई विजयी दिलाउनेक्रममा चाल्र्स अमिनीले ३० बलमा ७ चौकासहित ३५, बाउले ६९ बलमा ३८, हिरी हिरीले १३ रन बनाए । रिले हेकुरे ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरी ४८ र चाद सोपर १२ बलमा १६ रन बनाई अविजित रहे । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ३८ रन खर्चेर ३, पवन सर्राफले ८.४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

यसअघि दीपेन्द्रको शतकमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७८ रन बनाएको थियो । ४७ औं ओभरमा शतक पूरा गरेका दीपेन्द्रले १ सय ४० बलको इनिङ्समा ७ चौका प्रहार गर्दै १ सय ५ रन बनाए । यसअघि उनले एकदिवसीयमा एउटै अर्धशतक पनि बनाउन सकेका थिएन् । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको यो तेस्रो शतक हो । पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ र अघिल्लो दिन रोहित पौडेलले पीएनजीविरुद्ध नै १ सय २६ रन बनाएका थिए ।

कुशल भुर्तेल खेलको पहिलो बलमै आउट भए । एलेइ नाओको बललाई रक्षात्मक हिसाबले खेल्नेक्रममा कुशलले क्याच दिन पुगे । नेपालविरुद्ध अघिल्लो खेलमा नखेलेका नाओले अर्का ओपनर अनिल शाहलाई १ रनमा विकेटकिपरबाट क्याच गराए । दीपेन्द्र र देव खनालले सानदार ब्याटिङ गर्दै नेपाललाई एकदिवसीयमा दोस्रो उच्च स्कोरमा उभ्याए । यी दुईले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरे । नेपालबाट यो उच्च साझेदारी हो । अघिल्लो दिन रोहित पौडेल र आरिफ शेखले १ सय ४ रनको साझेदारी गरेका थिए ।

अघिल्लो खेलमा डेब्यु गर्दा ६ बल खेल्दा शुन्यमा आउट भएका देवले ८६ बलमा ७२ रन बनाए । एलबीडब्लू आउट हुनुपूर्व देवले ४ चौका र ३ छक्का प्रहार गरे । अघिल्लो खेलमा शतक बनाएका रोहित ३६ बलमा ३५ रन बनाउनेक्रममा ३ चौका प्रहार गरे ।

भीम सार्कीले १९ बलमा २६ रन बनाउँदा समान १ चौका र छक्का प्रहार गरे । ४८ औं ओभरमा नेपालले दीपेन्द्र, भीम र आरिफ शेखलाई गुमाएको थियो । आरिफ ४ रनमै रनआउट भए । अर्को ओभरमा पवन सर्राफ पहिलो बलमै आउट भए । सन्दीपले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ र सोमपाल कामी ३ रन बनाएर अविजित रहे । सन्दीपले अन्तिम ओभरमा एक्लै १६ रन प्रहार गरे ।

नेपालले अघिल्लो खेलबाट कमलसिंह ऐरीको स्थानमा गुलशन झालाई खेलाइएको छ । तर गुलशन फिल्डिङका क्रममा घाइते भएपछि नेपालले एक बलर कम लिएर खेल्नुपरेको थियो । गुलशनले १ ओभरमात्र गरे र त्यसमा २० रन खर्चे ।

सन्दीपको ५० विकेट

सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेट पूरा गरेका छन् । पीएनजीविरुद्ध दोस्रो खेलमा चाल्र्स अमिनीलाई एलबीडब्लू आउट गर्दै उनी एकदिवसीयमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् । सन्दीप शनिबार पहिलो ओभरमै आएका थिए । पहिलो स्पेलमा दुई ओभरमात्र बलिङ गरेका उनले आफ्नो दोस्रो स्पेलको दोस्रो ओभरमा १३ औं ओभरमा अमिनीलाई आउट गरेका थिए ।

सन्दीपले २२ खेल खेल्दै ५० विकेट पूरा गरेका हुन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा चाँडो ५० विकेट लिने कीर्तिमान बनाएका हुन् । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा सबैभन्दा छिटो ५० विकेट लिएका थिए । भारतका अजित अगारकर र मिचेल म्याकलेनाघानले २३ खेलमा तथा अस्ट्रेलियाका डेनिस लिली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादवले २४ खेलमा आफ्नो पहिलो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिएका थिए ।

सन्दीप ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि सबैभन्दा चाँडो ५० विकेट लिने तेस्रो खेलाडी हुन् । उनले २८ खेलमा ५० विकेट पूरा गरेका थिए । मेन्डिसले ट्वान्टी–२० मा पनि २६ खेलमा सबैभन्दा चाँडो ५० विकेट लिने कीर्तिमान बनाएका थिए । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङको कीर्तिमान पनि सन्दीपकै नाममा छ । उनले गत वर्ष सेप्टेम्बरमा पीएनजीविरुद्ध नै ओमानमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

विनय झाको ‘डेब्यु’

अम्पायर विनय झाले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका छन् । पीएनजीविरूद्धको खेल एकदिवसीयमा उनको पहिलो अम्पायरिङ थियो । नेपालबाट एकदिवसीय खेलाउने उनी तेस्रो अम्पायर बनेका छन् । यसअघि बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले एकदिवसीय खेलाइसकेका छन् ।

पीएनजीविरुद्धको पहिलो खेलमा झा रिजर्भ अम्पायरमा थिए । आफ्नो अम्पायरिङ यात्रामा एकदिवसीय कोसेढुंगा भएको झाले बताए । ५० वर्षे उनले १३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय (पुरुष) र १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय (महिला) मा अम्पायरको भूमिका निभाइसकेका छन् ।

प्रकाशित : चैत्र १२, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सिंहदरबारमा भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच औपचारिक भेटवार्ता सुरु भएको छ । २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा शनिबार अपराह्न वार्ता सुरु भएको हो ।

सिंहदरबारमा भएको दुईपक्षीय वार्तावारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ दिउँसो नै परराष्ट्रमन्त्री खड्कासँग वार्ताका लागि सिंहदरबार पुगेका हुन्।

चिनियाँ नेता वाङ यसपछि शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने छन् । वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् ।

तीनदिने भ्रमणमा रहेका नेता वाङले एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ ।

प्रकाशित : चैत्र १२, २०७८ १६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×