२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राष्ट्रिय हक्की : आर्मी र सुदूरपश्चिमको अग्रता

विनोद भण्डारीे

विराटनगर — गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा बुधबार आर्मी, सुदूरपश्चिम र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

राष्ट्रिय हक्की : आर्मी र सुदूरपश्चिमको अग्रता

विभागीय टोली आर्मी र सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सहिद मैदानमा बुधबार आर्मीले गण्डकी प्रदेशलाई ११–० गोलले पराजित गर्‍यो । आर्मीका रोमन राना र प्रदीप राजवंशीले ४–४ गोल, सुमितकुमार कामीले २ र राजेन्द्र कार्कीले १ गोल थपे । आर्मीका प्रदीप राजवंशी म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ७–१ ले हराउँदै प्रतियोगितामा अग्रता बढायो । महेश नेपालीले ३, सुरेशप्रसाद जोशीले २, केशव जोशी र दीपकराज जोशीले १–१ गोल गरे । विजेताका गणेश खगुना म्यान अफ द म्याच भए ।

बुधबारै तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोल हरायो । लुम्बिनीका सुरजकुमार घर्तीले २, योगेशकुमार बाँधारे र अदनान अन्सारीले समान एक गोल गरे । लुम्बिनीका सलमान शेख म्यान अफ द म्याच भए ।

राउन्ड रोबिन लिगमा सञ्चालित प्रतियोगितामा आर्मी र सुदुरपश्चिमले २–२ जित निकाल्दै समान ६ अंकसाथ अग्रस्थानमा छन् । प्रदेश १ र वाग्मतीले १–१ खेल जित्दै समान ३ अंक जोडेका छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा आर्मीसँगै प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : चैत्र ९, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?