पहाडका वडा–वडामा फुटबल मैदान

राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ, बुद्ध चेम्जोङलगायत खेलाडी रारा मैदानबाट उत्पादित खेलाडी हुन्

चौबिसे, धनकुटा — पहाडी धरातलमा सामान्य खेलमैदान बनाउन पनि कठिन पर्छ । बारीका गरा सम्याएर भलिबल, ब्याडमिन्टन खेल्ने कोर्ट बनाउनसमेत मुस्किल पर्छ । तर जिल्लाको चौबिसे गाउँपालिकाले प्रत्येक वडामा फुटबल मैदान नै निर्माण गरेको छ । ‘एक वडा, एक फुटबल मैदान’ नाराका साथ पाँच वर्षदेखि थालिएको अभियानले पूर्णता पाउँदै गएको छ । पहाडको टुप्पोमा आकर्षक खेलमैदान बनेपछि गाउँगाउँबाट खेलाडी उत्पादन हुन थालेका छन् ।

पहाडका वडा–वडामा फुटबल मैदान

चौबिसे गाउँपालिकामा ८ वडा छन् । हालसम्म पाँच वडामा फुटबल मैदान पूर्णरूपमा निर्माण गरेर स्तरीय प्रतियोगिता खेलाइसकिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राई बताउँछन् । ती सबै मैदान निर्माण गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएको उनले बताए । तीन वडामा निर्माणको क्रममा छ । त्यहाँ पनि चाँडै मैदान सम्पन्न हुने अध्यक्ष राईले बताए । ‘युवापुस्ताको फुटबलप्रति आकर्षण बढेपछि उक्त खेलको उत्थानका लागि अभियानको रूपमा वडापिच्छे मैदान निर्माण थालिएको हो,’ उनले भने, ‘सुरुमा त पहाडमा फुटबल मैदान चुनौतीपूर्ण लागे पनि आँटेपछि सफल हुँदोरहेछ भन्ने अनुभव भयो ।’

उक्त पालिकाको राजारानी, वसन्तटार, मुढेबास, बुधबारे र बोधेमा आकर्षक खेलमैदान निर्माण गरिसकिएको छ । ३ र ४ वडामा पर्ने कुरुलेतेनुपा र मौनाबुधुकमा मैदानका लागि जग्गाको टुंगो लाग्नेक्रममा रहेको जनाइएको छ । स्थानीय युवाको उपभोक्ता समितिमार्फत ती मैदान निर्माण गरिएका हुन् ।

फुटबल मैदानका लागि गाउँपालिकाले प्रत्येक वडामा १० लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको छ । हालसम्म ८० लाख रुपैयाँ मैदान बनाउनमात्र विनियोजन गरिएको छ भने वार्षिक रूपमा खेलकुदका लागि ७० लाख खर्च गरिने पालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् । उनले आफ्नो पालिका खेलकुदमैत्री रहेकाले यसतर्फ लगानी बढाउँदै आएको दाबी गरिन् ।

चौबिसे कप, रारा कपजस्ता प्रतिष्ठित फुटबल आयोजना गरिंदै आएको छ । जसका लागि पालिकाले रकम विनियोजन गर्दछ । पालिकाले आयोजना गर्ने चौबिसे कपका लागि वार्षिक १४ लाख रुपैयाँ र रारा कप फुटबल प्रतियोगिताका लागि ४ लाख रुपैयाँ बजेट उपलब्ध गराउने गरिएको अध्यक्ष राईले बताए ।

चौबिसे–६ शिखरबासस्थित हात्तीटारमा बिहीबार पुगेका प्रदेश १ का पूर्वप्रमुख डा. गोविन्द तुम्वाहाङ आकर्षक मैदान देखेर चकित परे । त्यहाँ रहेको मैदान औपचारिक रूपमा उद्घाटन गरिने कार्यक्रममा अतिथि बनेर गएको उनी पहाडको टुप्पोमा आकर्षक मैदान देखेर आफू अचम्मित बनेको बताए । त्यहाँ फुटबल प्रतियोगिता आयोजना गरी नयाँ मैदानको उद्घाटन गरिएको थियो । त्यहाँ रहेको आकर्षक खेलमैदान देखेर स्थानीय जनकसेन लिम्बूले त आफ्ना बाबुआमाको नाममा ९ लाख रुपैयाँको अक्षयकोष नै स्थापना गरिदिएका छन् । लिम्बूले जय दगलसेन लिम्बू थेगिम स्मृति अक्षयकोष स्थापना गरेका हुन् ।

आफ्नै गाउँबस्तीमा खेलमैदान बढेपछि खेलकुदतर्फ युवाजमातको आकर्षण चुलिएको चौबिसे–६ शिखरबासका ज्ञानेन्द्र सुवेदी बताउँछन् । मैदान र आवश्यक सामग्री पालिकाबाट उपलब्ध गराएपछि आफूहरू निकै हौसिएको अर्का खेलाडी रत्न राईले बताए ।

राष्ट्रिय खेलाडीको गाउँ

साबिकको राजारानी गाविस हुँदा तयार गरिएको फुटबल मैदानबाट निस्किएका कैयौं खेलाडी राष्ट्रिय रूपमा स्थापित छन् । राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङसहित बुद्ध चेम्जोङ, राष्ट्रिय रेफ्री तुफान चेम्जोङ चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारस्थित रारा मैदानबाट उत्पादित खेलाडी हुन् । नयाँ खेलाडी पनि उत्पादन हुन थालेको रत्न राई बताउँछन् ।

प्रकाशित : चैत्र ५, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?