समुद्रदेखि सगरमाथासम्मको यात्रामा जुडो खेलाडी सब्रिना- खेलकुद - कान्तिपुर समाचार

समुद्रदेखि सगरमाथासम्मको यात्रामा जुडो खेलाडी सब्रिना

कुम्भराज राई

ओखलढुंगा — जुडोकी प्रसिद्ध खेलाडी अस्ट्रियाकी सब्रिना फिल्जमोजर समुद्री सतहदेखि सगरमाथा आरोहणसम्मको यात्रामा निस्किएकी छन् । भारतको पश्चिम बंगालस्थित दिगा भन्ने समुद्री सतहदेखि उनी साइकल चढेर सगरमाथा आरोहणको यात्रामा निस्किएकी हुन् । 

साइकल यात्रामा निस्किएको नवौं दिन उनी सोलुखुम्बु पुगेकी छन् । उनको साथमा अन्तराष्ट्रिय साईक्लिङ एथलेट तथा माउन्टेन बाइक क्रस कन्ट्रीकी साउथ एसियन विजेता लक्ष्मी मगर र साइक्लिङका भेटेरान राष्ट्रिय विजेता हर्क लामा छन् । भारतको दिगाबाट सुरु भएको साइक्लिङ यात्रा जोगवनी नाकाबाट विराटनगर हुँदै उदयपुरको गाईघाट-कटारी-ओखलढुंगा भएर सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका पुगेर टुंगिनेछ ।

सब्रिना त्यहाँबाट पैदल हिँडेर सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ लाग्नेछिन् । अन्तराष्ट्रिय जुडो संघकी जलवायू परिवर्तन दूतसमेत रहेकी सब्रिना जुडो खेलकी ओलम्पिक विजेता हुन् । ४२ वर्षीया उनी जेठी जुडो च्याम्पियनसमेत हुन् । दिगादेखि सोलुखुम्बुसम्म करिब १ हजारभन्दा बढी किलोमिटर दूरी साइकलमा पार गर्ने र त्यसपछि अप्लिमेन्टल अक्सिजनबिनै सगरमाथा आरोहणका लागि जाने उनले बताइन् ।

‘कसरी ऊर्जालाई सञ्चित गर्ने र वातावरण संरक्षणका लागि यात्रा गर्ने भन्ने उद्देश्यका साथ समुद्रदेखि सगरमाथाको यात्रामा निस्किएकी हुँ‚’ ओखलढुंगा सदरमुकाममा पत्रकारहरूसँग कुरा गर्दै सब्रिनाले भनिन्, ‘हामी केटाकेटीलाई बिरुवा कसरी रोप्ने र प्रकृतिको संरक्षण कसरी गर्ने भन्ने विषयहरुमा सन्देश दिन चाहन्छौं ।’

उनले सन् २०१६ मै नेपालको मनास्लु हिमाल र २०१७ मा आमाडब्लम हिमालको आरोहण गरिसकेकी छन् ।

प्रकाशित : चैत्र १, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

क्रिप्टोकरेन्सीसँग सम्बन्धित एप, वेबसाइट बन्द गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दूर सञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाहरूसँग सम्बन्धित सबै वेबसाइट र मोबाइल एप्लिकेसन बन्द गर्न निर्देशन दिएको छ ।

सोमबार (३० फागुन) मा सूचना जारी गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै भर्चुअल माध्यमहरू डिसेबल गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

‘त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्न निर्देशन दिइएको हो,’ उनले भने, ‘यस्ता एपहरू कतिवटा छन्, त्यसको विवरण हामीसँगै छैन ।’

नेपालमा गैरकानुनी र आर्थिक अपराधसँग सम्बन्धित मानिने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाका सबै भर्चुअल माध्यमहरूलाई डिसएबल गर्न सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले यसअघि प्राधिकरणलाई पत्राचार गरेको थियो । मन्त्रलायबाट पत्र आएपछि प्राधिकरणले आईएसपीहरूलाई निर्देशन दिएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी गतिबिधि बढेको भन्दै केही समयअघि नेपाल राष्ट्र बैंकले पनि भर्चुअल मुद्राविरुद्धको कारबाहीलाई थप कडा बनाउने बताएको थियो ।

प्रकाशित : चैत्र १, २०७८ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×