कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

तेस्रो स्थानको सान्त्वना

ट्वान्टी–२० विश्वकप पुग्न नसकेको नेपालले सजिलै ओमानलाई हरायो
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्न नसकेको पीडामा मलम लगाउने क्रममा तेस्रो स्थान हात पारेको छ । दुई दिनअघि नेपाल सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । 

तेस्रो स्थानको सान्त्वना

प्रतियोगिताको ५ खेलमा ४ जित हात पारे पनि नेपाल विश्वकप पुग्न सकेन । एउटै हार नेपालको विश्वकप प्रवेशमा अवरोध बन्यो ।

नेपालले बिहीबार आयोजक ओमानविरुद्ध ट्वान्टी–२० विश्वकप छनोटको तेस्रो स्थानको प्लेअफ खेल सजिलै ९ विकेटले आफ्नो पक्षमा पार्‍यो । ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ९० रन बनाउँदै पूरा गर्‍यो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा ५६ रनले पराजित भएपछि नेपालसँग महत्त्वहीन खेल खेल्न बाध्य भएको हो ।

ओपनर कुशल भुर्तेल ५५ र आरिफ शेख २१ रनको अविजित इनिङ्स खेलेपछि नेपालले विजय प्राप्त गरेको थियो । वैशाखमा नेदरल्यान्ड्सविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका कुशलले आफ्नो पाँचौं अर्धशतक बनाए । उनले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक बनाएका पूर्वकप्तान पारस खड्काको कीर्तिमानसँग बराबरी गरेका छन् । ११ औं खेल खेल्दै गरेका कुशलले यसै प्रतियोगितामा फिलिपिन्सविरुद्ध अविजित १ सय ४ रन बनाएका थिए ।

कुशलले ५३ बल खेल्दै ३ चौका र २ छक्का तथा आरिफले २७ बल खेल्दै १ चौका प्रहार गरेका थिए । ट्वान्टी–२० विश्वकप छनोटमा आसिफ शेखको कमजोर प्रदर्शन जारी नै रह्यो । उनी १५ रन बनाई ओमानका कप्तान जिसन मक्सुदको बलमा आउट भए । कुशल प्रतियोगिताका ५ खेलमा तेस्रोपल्ट अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले २० ओभर पूरा खेले पनि ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरी नेपालले खेल पूर्ण आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३ र मोहम्मद नदिम १ रनमै आउट भए । मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेल्दा ३ चौका प्रहार गरे । अयान खान १६ र निसम खुसी १५ रनमा आउट भए । कलिमुल्लाह एक छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे ।

कप्तान सन्दीप लामिछाने पुनः एकपल्ट नेपालको प्रमुख बलरमा रहे । म्यान अफ द म्याच उनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए । विश्वकप छनोटका ५ खेलमा १२ सहित उनले ओमान भ्रमणमा कुल १५ विकेट लिए ।

ओमानविरुद्ध कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए । नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागरलाई खेलाइएको थियो । देव्रेहाते स्पिनर सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलाबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

ओमान भ्रमणमा नेपालले ओमानलाई लगातार तेस्रोपल्ट पराजित गरेको हो । चारदिवसीय ट्वान्टी–२० शृंखलामा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेट र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले हराएको थियो ।

यूएई च्याम्पियन
सेमिफाइनल जितेर विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएईले बिहीबार नै फाइनल खेलेका थिए । यूएईले फाइनल ७ विकेटले जित्दै उपाधि हात पार्‍यो । पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभर खेल्दै १ सय ५९ रनमा अलआउट भयो । पहिलो चार ओभरभित्र चिराग सुरी (२) र भृत्या आनन्द (०) लाई गुमाए पनि ओपनर मोहम्मद वसिमले १ सय १२ रन बनाएपछि यूएईले ८ बलअगाडि लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द फाइनल वसिमले ६६ बल खेल्दै ७ चौका र ८ छक्का प्रहार गरे । रोहन मुस्ताफा ३५ बलमा २ चौका प्रहार गरी ३७ रन बनाई अविजित रहे ।

अक्टोबरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको पहिलो चरणमा यूएईले श्रीलंका र नामिबिया तथा आयरल्यान्डले वेस्ट इन्डिज र स्कटल्यान्डको सामना गर्नेछन् । जिम्बावेमा अर्को महिना समूह ‘बी’ का छनोट प्रतियोगिताबाट थप दुई टोली विश्वकपलाई छानिनेछन् ।

प्रकाशित : फाल्गुन १३, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?