कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ट्वान्टी-२० विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान

विनोद पाण्डे

काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा तेस्रो स्थान हात पारेको छ । नेपालले ओमानविरूद्धको प्ले अफ खेल सजिलै ९ विकेटले आफ्नो पक्षमा पार्‍यो । ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गर्‍यो ।

ट्वान्टी-२० विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान

ओपनर कुशल भुर्तेल ५५ र आरिफ शेख २१ रन बनाई अविजित रहे । कुशलले ५३ बल खेली ३ चौका र २ छक्का तथा आरिफले २७ बल खेली १ चौका प्रहार गरे । ओमान भ्रमणमा आसिफ शेखको कमजोर प्रर्दशन जारी नै रह्यो । उनी १५ रन बनाई ओमानका कप्तान जिशान मक्सुदको बलमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरि नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भए ।

कप्तान जिशान मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बल खेली ३ चौका प्रहार गरे । अयान खान १६ र निशाम खुशी १५ रनमा आउट भए । कलिमुल्लाह एक छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे ।

कप्तान सन्दीप लामिछाने पून एकपटक नेपालको प्रमुख बलरमा रहे । उनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।

नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो । विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएई बिहीबार नै फाइनल खेल्दै छन् । यूएईले उपाधि हात पार्न १ सय ६० रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई खेलाइएको थियो । देव्रेहाते स्पिनरको सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलाबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

ओमान भ्रमणमा नेपालले ओमानलाई लगातार तेस्रो पटक पराजित गरेको हो । चारदिवसीय ट्वान्टी–२० शृंखलमा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेटले र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?