ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै


काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा ओमानविरूद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । घरेलु टोली ओमानले तेस्रो स्थानको प्ले अफ खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो । विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएई बिहीबार नै फाइनल खेल्दै छन् ।
नेपाली टोलीमा जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई खेलाइएको छ । देब्रेहाते स्पिनरको सागरको ओमान भ्रमणमा यो दोस्रो खेल हो । ओमानसँग चारदेशीय शृंखलाबाट सागरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।
ओमान भ्रमणमा नेपाल र ओमान तेस्रो पटक आमने-सामने हुन लागेका हुन् । दुवै खेल नेपालले जितेको थियो । चारदिवसीय ट्वान्टी–२० शृंखलामा नेपालले फेब्रुअरी ११ मा ओमानलाई ६ विकेटले र फेब्रुअरी १८ मा विश्वकप छनोटको पहिलो खेलमा ३९ रनले पराजित गरेको थियो ।
प्रकाशित : फाल्गुन १२, २०७८ १५:३१