नेपाल विश्वकपमा छनोट हुन असफल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल विश्वकपमा छनोट हुन असफल

विनोद पाण्डे

काठमाडौँ — नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने मौका गुमाएको छ । नेपाल मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध ६८ रनले पराजित भएसँगैं दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्ने मौका सकिएको हो । 

१ सय ७६ रनको लक्ष्य लिएर आएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अलआउट भयो । यूएईका कप्तान अहमद राजाले ५ विकेट लिँदै नेपालको सपना समाप्त पारे । उनले त्यसका लागि ४ ओभरमा १९ रनमात्र खर्चेका थिए ।

जुनैद सिद्धिकीले सुरुवातमै आसिफ शेख, लोकेश बम र कुशल भुर्तेललाई आउट गरेपछि राजाले विकेट लिने क्रममा निरन्तरता दिए । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाए । ३८ बल नै खेलेका उनले ३ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

यो खेल जित्ने टोली विश्वकपमा पुग्थ्यो र त्यसमा यूएईले बाजी मारेको हो । यूएई २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । नेपालले पनि २०१४ यता विश्वकप खेलेको छैन ।

यसअघि यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । यूएईका लागि मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाए ।

विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालबाट जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।

जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरी नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर अरविन्द र वासिमले आक्रामक खेल्दै यूएईलाई राम्रो स्कोरमा उभ्याए । यी दुई सबै नेपाली बलरमाथि हाबी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसिकसाउ बलिङ गरी नेपाललाई खेलमा फर्काए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४२औं शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा संख्या १४२, एक्स्टेन्सन काउन्टर ११ र ५ हस्पिटल सेवा काउन्टर तथा १७३ एटीएम संचालनमा छन् । साथै ६३ शाखारहीत बैंकिङ्ग एजेन्ट संचालनमा छन् ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बैंकले आक्रामक रुपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन १०, २०७८ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×