नेपाललाई यूएईको ठूलो लक्ष्य- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी-२० विश्वकप छनोट

नेपाललाई यूएईको ठूलो लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७५ रन बनायो । 

यूएईका लागि मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाए ।

विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।

जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अरविन्द र वासिमले आक्रामक खेल्दै यूएईलाई राम्रो स्कोरमा उभ्याए । यी दुबै ब्याट्सम्यान सबै नेपाली बलरमाथि हाबी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसिकसाउ बलिङ गरी नेपाललाई खेलमा फर्काए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए ।

नेपाली टोलीमा कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफूले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए ।

यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुवै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् ।

नेपाल र यूएई दुवैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुवै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले चोभारलाई घोषणा गर्‍यो भन्सार क्षेत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चोभार भूतखेल गाविसलाई भन्सार क्षेत्र घोषणा गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुक्खा बन्दरगाह रहेको उक्त क्षेत्रलाई भन्सार क्षेत्र तोकेको हो ।

‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार प्रकाशित सूचनामा भनिएको छ ।

सूचनाअनुसार पूर्व दिशामा वाग्मती नदी मसानघाटदेखि दक्षिणमा शिल खोल्सी वाग्मती नदीमा मिसिएको बिन्दुभित्रको क्षेत्र तोकिएको छ । त्यस्तै, पश्चिममा माथिल्लो गुठ बस्तीसँग जोडिएको बल्खु दक्षिणकाली सडकमा मसानघाट जानेबाटो जोडिएको बिन्दुदेखि दक्षिणतर्फ तल्लो गुठ बस्तीसँग जोडिएको गोरेटो बाटो दक्षिणमा शिल खोल्सीभित्रको क्षेत्र, उत्तरमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ मसानघाटा जाने बाटो वाग्मती नदी जोडिएको बिन्दुसम्म र सो बाटोसँग जोडिएको खोल्सी (हिमाल सिमेन्ट खोल्सी) लाई भन्सार क्षेत्र तोकिएको छ ।

दक्षिणमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ शिल खोल्सी सुरु भएको बिन्दुदेखि शिल खोल्सी वाग्मती नदीमा मिसिएको विन्दुभित्रको क्षेत्रलाई तोकिएको सूचनामा उल्लेख छ । ‘सरकारले भन्सार क्षेत्र तोकिसकेको छ,' नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, 'अब कार्यविधि बनेर भन्सार बसेपछि बन्दरगाह उद्घाटन हुन्छ ।’ यस विषयमा भन्सारका कर्मचारीहरूसँग नियमित छलफल भइरहेको उनले बताए ।

२०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा सम्पन्न भइसकेको छ । समितिका अनुसार भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर, भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाई भएको हो ।

बन्द हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाहका लागि विश्व बैंकसँग २०१३ काे जुन ११ मा सम्झौता गरे पनि शिलान्यास र निर्माणमा ढिलाई भएको थियो । समितिका अनुसार बन्दरगाह शिलान्यास भएको डेढ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने लक्ष्य थियो । तर, स्थानीयको अवरोध, कोरोना महामारीलगायतका कारण ढिलाई भएको थियो । अहिले निर्माण सम्पन्न भए पनि भन्सार नबस्दा सञ्चालनमा ढिलाई भइरहेको हो । बन्दरगाह सञ्चालन हुँदा साना तथा मझौला किसिमका विभिन्न व्यापारिक अवसरका साथै स्थानीयबासीलाई विभिन्न किसिमका रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनाहरूसँग जोडिने हुनाले उक्त क्षेत्र व्यापारिक हबको रूपमा विकसित हुने समितिको दाबी छ । बन्दरगाहले व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्ने र देशको आर्थिक उन्नति हुने, निकासी तथा पैठारी प्रवर्द्धन हुने जनाइएको छ ।

सुक्खा बन्दरगाहको क्षेत्रफल २ सय ६० रोपनी हो । बन्दरगाहमा ३ सय ५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली हुने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×