टिकेन ब्रिगेड ब्वाइज- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
‘ए’ डिभिजन लिग

टिकेन ब्रिगेड ब्वाइज

सातदोबाटो युवासँग सोमबार ३–२ को हार खेपेपछि तेस्रोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिगको गुमायो हैसियत
राजु घिसिङ

काठमाडौँ — ब्रिगेड ब्वाइज क्लबले यो सिजनको पहिलो खेलमै विभागीय टिम एपीएफलाई ३–२ ले पन्छाएको थियो । ब्रिगेडले अर्को खेलमा गत वर्ष नेपाल सुपर लिगमा छाएका मेसुके ओलोमोउ, स्टेफेन समीर, दर्शन गुरुङ, एरिक विष्ट समावेश एनआरटीविरुद्ध गोलरहित खेलेको थियो । सुरुका दुई खेलमै ४ अंक जोडेपछि ब्रिगेड ब्वाइजले यसपालि ‘केही गर्छ’ भन्ने संकेत दिएको थियो ।

तेस्रो खेलमा गत वर्षको उपविजेता आर्मीविरुद्ध १–० को हार र चौथोमा छिमेकी जावलाखेलविरुद्ध गोलरहित नतिजासम्म ब्रिगेड ब्वाइज डग्मगाएको थिएन । पाँचौं चरणमा आएर हिमालयन शेर्पासँग ३–१ ले हारेपछि ब्रिगेडले लय गुमायो । टोलीको प्रदर्शन झनै खस्किँदै गयो । प्रत्येक चरणको प्रदर्शनमा ब्रिगेडको प्रदर्शन उक्सिने र सुधारिने संकेत कहींकतै देखिएन । अन्ततः खराब लयबाट उठ्न नसकेको ब्रिगेड ब्वाइजले सातदोबाटो युवाविरुद्ध ३–२ को हार खेप्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको हैसियत गुमायो । ८ खेलयता छैटौं हार बेहोर्दै ब्रिगेड ब्वाइज यो सिजनको एक खेल बाँकी छँदै रेलिगेसनमा परेको हो ।

‘व्यवस्थापन र कोचिङमा कमजोरी थिएन, समग्रमा राम्रै थियो,’ ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले फेरि ‘बी’ डिभिजनमा झर्नुको कारण खोतल्दै भने, ‘मुख्यतः आर्थिक कारण नै हो । हामीले युवा खेलाडीलाई प्रवर्द्धन गर्‍यौं । युवालाई खेलाउनतिर लाग्यौं । सिनियर खेलाडी अनिल (गुरुङ) एक जना थिए । अरू सबै युवा र ‘बी’ डिभिजनबाट ल्याएको हो ।’

टिमको प्रदर्शनप्रति पनि उनले असन्तुष्टि पोखे, ‘हाम्रो एकरुपता (प्रदर्शनमा) गुम्यो । सुरुमा राम्रो प्रदर्शन गरेको थियो, बीचमा ‘ब्रेक’ भयो, त्यसैले रेलिगेसनमा पर्‍यो ।’ उनी सातदोबाटो गत वर्षको बी डिभिजन लिग च्याम्पियन हुँदै शीर्ष श्रेणीमा उक्लिँदाका प्रशिक्षक पनि हुन् ।

ब्रिगेड ब्वाइजले शिशिर लेखी, दिवाकर चौधरी, रोशन रानामगरजस्ता प्रतिभावान खेलाडीसँगै भेट्रान फरवार्ड अनिल गुरुङलाई भित्र्याएको थियो । अनिलले पेनाल्टीबाटै भए पनि ८ वर्षपछि एए डिभिजन लिगमा पहिलोपल्ट गोल गर्न भ्याए । तर, उनले करिअर सुरु गर्दाको क्लबलाई ‘ए’ डिभिजनमै टिक्ने गरी मैदानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । अनुभवी डिफेन्डर रन्दीप पौडेलको प्रदर्शन पनि फरक रहेन । भारतबाट ल्याइएका गोलकिपर गुरप्रित सिंह तथा तीन अफ्रिकी खेलाडीको प्रदर्शन पनि फितलो रह्यो । त्यसैले च्यासलसँगै यो सिजन रेलिगेसनमा पर्ने टिम बन्यो ब्रिगेड ब्वाइज ।

ब्रिगेड ब्वाइजले ललितपुरकै अर्को क्लब थ्रीस्टारविरुद्धको खेलबाट शीर्ष श्रेणीबाट बिदाइ लिने भएको छ । एकमात्र जित एपीएफविरुद्ध हात पारेको ब्रिगेडले एनआरटी, जावलाखेल, पुलिस र च्यासलविरुद्ध अंक बाँडेको थियो । खासमा दसौं चरणमा फ्रेन्ड्सविरुद्ध ५–२ को हारले नै ब्रिगेड ब्वाइजले घटुवामा पर्ने संकेत देखाएको थियो । फ्रेन्ड्सले त्यो जितसँगै ‘हेड टु हेड’ मा ब्रिगेड ब्वाइजलाई उछिन्दै रेलिगेसन क्षेत्र छाडेको थियो । सातदोबाटोविरुद्ध ब्रिगेड ब्वाइजको हारले फ्रेन्ड्स र पुलिसलाई खुसी दियो किनभने यी दुई क्लब ‘ए’ डिभिजनमै रहने पक्का भयो । अब च्यासल (६ अंक) ब्रिगेड ब्वाइज (७) ले अन्तिम खेलमा सफलता हासिल गरे पनि फ्रेन्ड्स (१०) र पुलिस (११) लाई उछिन्ने छैन ।

ब्रिगेड ब्वाइजले दुईपल्ट पछाडि परेको स्थितिमा सुधार गर्दै सातदोबाटोविरुद्ध बराबरी गरेर अन्तिम खेलसम्मै संघर्ष गर्ने प्रयास गरेको थियो । सुशील राईले १३ औं मिनेटमा गोल गरेर सातदोबाटोलाई अघि बढाए पनि तीन मिनेट नबित्दै बेट्रान्ड इबोडे ओटोले खेल बराबरी गरेका थिए । दीपकराज सिंह ठकुरीले १८ औं मिनेटमै सातदोबाटोको अग्रता २–१ बनाए । रोशन रानामगरले ५१ औं मिनेटमा २–२ बनाए । तर नीरज चौधरीले ८७ औं मिनेटमा निर्णायक गोल गर्दै सातदोबाटोलाई पाँचौं जित दिलाए । ३ बराबर र ४ हार पनि खेलेको यो ‘जायन्ट किलर’ शीर्ष पाँचमा उक्लियो ।

‘रेलिगेसन जोनको खेल थियो, सक्दो प्रयास गरेका हौं,’ ब्रिगेड ब्वाइजका प्रशिक्षक श्रेष्ठले भने, ‘१ गोल खाएपछि कमब्याक राम्रै भएको थियो । तर, गोल फर्काएलगत्तै टिकाउनै नसक्ने समस्या निरन्तर रह्यो । आक्रामक खेल्दा रक्षापंक्तिमा निगरानी (विपक्षी खेलाडीलाई) मा गल्ती हुँदा गोल खायौं ।’ ब्रिगेड ब्वाइज तेस्रोपल्ट शीर्ष लिगबाट झरेको हो ।

‘ए’ डिभिजन लिग डेब्यु (२०६१) मा नवौंमा रहेको ब्रिगेड ब्वाइज २०६३ मा सरस्वती क्लबसँगै घटुवामा परेको थियो । फेरि उक्लिएको ब्रिगेडले लगत्तै २०६८ सालमा स्वयम्भू, युनाइटेड र कोइलापानी पोलस्टारसँगै शीर्ष श्रेणीको हैसियत गुमायो । फेरि ए डिभिजन लिगमा २०७५ सालमा पुनरागमन गरेको ब्रिगेड ब्वाइज लगातार तेस्रो सिजन टिक्नै सकेन ।

'च्यासल र ब्रिगेडको मिहिनेत पुगेन'

ललितपुरका दुई क्लब घटुवामा परेपछि सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘जितको खुसी भन्दा पनि एउटा कुनै टिम हामीसँगको खेलबाट घटुवा हुँदा दुःख लागेको छ । कुनै बेला म आफै खेलेर ‘ए’ डिभिजनमा ल्याएर आएको क्लब (ब्रिगेड ब्वाइज) हो । तर, फुटबलको व्यावसायिक धर्म निभाउनुपर्छ । म चाहिँ जितमा खुसी हुन सकिरहेको छैन । जित्नका लागि खेल्नुपर्छ त्यो अलग पाटो हो । मलाई अलि खल्लो महसुस भइरहेको छ ।’ उनी २०६० सालमा ‘बी’ डिभिजन लिगबाट माथि उक्लिँदा ब्रिगेड ब्वाइजका स्ट्राइकर थिए ।

यसपालि रेलिगेसनमा परेका दुई टिमको कमजोरी औंल्याउँदै प्रशिक्षक केसीले भने, ‘१४ मध्ये दुई टिम झर्दा जुनसुकै टिम पनि पर्न सक्थ्यो । च्यासल र बीबीसीको मिहिनेत पुगेन । अरूले उनीहरूभन्दा बढी मिनिहेत र लगानी गरेजस्तो लाग्छ ।’ ब्रिगेड ब्वाइजविरुद्धको प्रतिस्पर्धा स्तरीय नभएकोबारे उनी बोले, ‘खेल हार्‍यो भने त्यसले ‘ए’ डिभिजन नै गुमाउँछ, भोलि फेरि उसलाई देख्नुहुन्छ कि हुँदैन भन्ने अस्तित्वको लडाइँमा रहेको क्लबसँग मैले स्तरीय खेल आस गरेको थिइनँ ।’ आफ्ना टिमको लक्ष्यबारे उनले भने, ‘सातदोबाटो पहिलोपल्ट ए डिभिजन लिग खेलिरहेकाले यो पोजिसन (स्थान) भनेर कहिल्यै सोचेको थिएन । उत्कृष्ट दिन्छौं र जुनमा पुग्छौं त्यसमा चित्त बुझाउछौं । माथि जतिसम्म पुग्न सकिन्छ, कोसिस गर्छौं ।’

प्रकाशित : फाल्गुन १०, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

यूएईलाई पन्छाए विश्वकपमा

विनोद पाण्डे

काठमाडौँ — नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ ।

नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्‍याएको थियो भने जिम्बावेमा भएको पपुवा न्युगिनीसँगको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको थियो । आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुनः पुग्नेछ । नेपाली क्रिकेट शुभचिन्तक मंगलबारको जितको व्यग्र प्रतीक्षामा छन् । नेपालले जित निकालेको खण्डमा त्यो घरेलु दर्शकका लागि दशकपछिको ठूलो खुसी फर्किएको दिन हुनेछ ।

नेपाली क्रिकेट फेरि एकपल्ट त्यही संघारमा आइपुगेको छ, जसमा टिकेर यो खेलले नेपालका लागि अन्तर्राष्ट्रिय फड्को मार्ने सपना बुन्न सक्छ । यूएईलाई पन्छाउँदै अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न तयार रहेको जनाउँदै नेपालका प्रशिक्षक पुबुदु दासानायकेले मस्कटबाट कान्तिपुरसँग भने, ‘हामी यूएईलाई पन्छाउनेछौं ।’

क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन । क्यानडालाई नेपालविरुद्ध जुन डर थियो, त्यसले उसलाई छोप्यो ।

नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।

कमलसिंह ऐरीले सुरुआतमै दुई विकेट लिनुका साथै एक रनआउट गरेर नेपाललाई सानदार सुरुआत दिलाए । त्यसमा प्लेयर अफ द म्याच कप्तान सन्दीप लामिछानेले ३ विकेट थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रियको ३२ खेलमा ५८ विकेट लिइसके पनि सन्दीप पहिलोपल्ट यस संरचनामा प्लेयर अफ द म्याच चुनिएका छन् । यसै प्रतियोगिताका ३ खेलमा उनले ८ विकेट लिइसकेका छन् ।

यूएईसँगको खेललाई लिएर आफूहरू मानसिक रूपमा तयार हुनुका साथै विजयको भोक रहेको कप्तान सन्दीप बताउँछन् । ‘यूएईसँगको खेल हाम्रा लागि निकै ठूलो हुनेछ, त्यसैले हामी यसमा शतप्रतिशत खेल्नेछौं,’ सन्दीपले आईसीसीसँग भनेका छन्, ‘अहिलेसम्मको यात्रा धेरै राम्रो भइरहेको छ र यूएईसँगको खेललाई हामी व्यग्र प्रतीक्षा गरिरहेका छौं ।’

नेपालका कप्तान सन्दीप लामिछाने क्यानडाको विकेट लिएपछि दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेखलगायतसँग खुसी साट्दै। तस्बिर सौजन्य : सुबास हुमागाईं/हाम्रो खेलकुद

सबै ३ खेल जितेर नेपाल समूह ‘बी’ को विजेता बनेको हो । नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । यूएई भने सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो ।

यूएईलाई अझ १ सय ५७ रनमाथि पुग्न अन्तिम ओभरमा १२ रन चाहिन्थ्यो । भृत्या अरविन्दले २४ रन बनाउँदै यूएईलाई बहराइनको स्कोर नजिक पुर्‍याए पनि जित दिलाउन सकेनन् । यूएईले ६ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सक्यो । यूएईको पराजयपछि आयरल्यान्ड समूह ‘ए’ को विजेता बन्यो र ओमानसँगको अर्को सेमिफाइनल भिडन्त पक्का गर्‍यो । बहराइनभन्दा यूएई नेट रनरेटमा थोरैले मात्र अगाडि रहेर समूह उपविजेता हुँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

प्रकाशित : फाल्गुन १०, २०७८ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×