

काठमाडौँ — नेपालले क्यानडाविरूद्धको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा ८१ रनको सामान्य लक्ष्य पाएको छ । ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भयो ।

सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्छ । तर नेपाली बलरहरूका अगाडि क्यानडा तहसनहस हुन पुग्यो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।
कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।
कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।
अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर पनि सम्भव भएको थियो । नजरलाई अविनाशले आउट गरे । हेयलिगरले सर्वाधिक २४ रन बनाउनेक्रममा २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।
नेपालले गुलशन झाको स्थानमा कमललाई खेलाएको थियो । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरि यसअघि नै सेमिफाइनलका लागि बलियो आधार बनाएको थियो । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेलिरहेको छ ।
प्रकाशित : फाल्गुन ९, २०७८ १७:०१