फ्रेन्ड्ससँग हारेपछि च्यासल रेलिगेसनमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
'ए' डिभिजन लिग

फ्रेन्ड्ससँग हारेपछि च्यासल रेलिगेसनमा

हिमेश

काठमाडौँ — च्यासल सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ बाट रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । ठूलो चर्चा र सम्भावनाबीच लिगको सुरुआत गरेको च्यासलले १२ औं चरण आइपुग्दा माथिल्लो डिभिजनमा आफ्नो अस्तित्व बचाउन सकेन् । दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल फ्रेन्ड्सको हातबाट २–१ ले पराजित रह्यो ।

यो हारपछि बी डिभिजनमा झर्ने दुई टिममध्ये च्यासल एक बन्ने निश्चित भएको हो । कम्तीमा बराबरीमा नतिजामा च्यासलको झिनो सम्भावना कायम रहने थियो । त्यसको ठीक विपरीत फ्रेन्ड्सको रेलिगेसनबाट बच्ने सम्भावना भने बलियो भएको छ । च्यासल छ अंकमा अन्तिम स्थानमा छ र अब उनले आफ्नो अन्तिम खेलमा सातदोबाटोको सामना गर्नेछ ।

त्यस खेलसँगै तीन संस्करणको पहिलो डिभिजनमा उसको उपस्थितिमा पूर्णविराम लाग्नेछ र अब उसले बी डिभिजनमा खेल्नु परेको छ । च्यासलले पहिलो पल्ट वर्ष ०७५ मा ए डिभिजन खेलेको थियो र त्यसलाई वर्ष ०७६ मा पनि कायम राख्न सफल भएको थियो । जितले भने फ्रेन्ड्सको १० अंक भएको छ र १२ औं स्थानमा रह्यो ।

फ्रेन्ड्सका यस जितमा जमोल एन्थोनीले दुई गोल गरे । उनले ३८ औं मिनेटमा पहिलो गोल गरेपछि ४३ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । खेलको ५६ औं मिनेटमा च्यासलले एक गोल फर्काएको थियो । मोसा अबगानाले पेनाल्टीबाट च्यासलका लागि गोल गरेका हुन्, तर अन्त्यमा यो सान्त्वना गोल मात्र साबित भयो ।

प्रकाशित : फाल्गुन ७, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल सेमिफाइनल नजिक

विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

फिलिपिन्सबाट जोर्डन एलेग्राले २७ रन बनाई अविजित रहे । ओपनर डायिनल स्मिथले २० रन र कप्तान जोनाथन हिल्सले ११ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चे । जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र पहिलो खेल खेलिरहेका गुलशन झाको नाममा १–१ विकेट रहयो ।

यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा १ सय ७१ रनको साझेदारी गरी नेपाललाई विशाल स्कोरमा उभ्याएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी साझेदारी हो । कुशल १ सय ४ रन बनाई अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।

कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

३२ बलमा अर्धशतक पुरा गरेका कुशल भुर्तेलले ६१ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । उच्च फर्ममा रहेका दीपेन्द्र ४७ बल खेली ६ चौका र ७ छक्का प्रहार गरे ।

नेपालले पुन: एक पटक राम्रो सुरुआत गर्न सकेको थिएन । आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै शुन्यमा आउट भए । आफुले सामना गरेको पहिलो बलमै आसिफलाई डानियल स्मिथले एलबीडब्लु आउट गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेको कुशल मल्ल १० बलमा १२ रन बनाई मिगी पोडोस्कीको बलमा आउट भए । कुशल नेपालको १४ सदस्यीय टोलीमा रहेका थिएनन् । तर भेट्रान शरद भेषावकर एङकलको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मौका पाएका कुशललाई शनिबार फिलिपिन्सविरूद्ध सोझै खेल्न दिइएको थियो ।

यसै प्रतियोगितामार्फत ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेको फिलिपिन्सविरूद्ध ओमनले अघिल्लो दिन २ सय १६ रन बनाउदै खेल १ सय १८ रनले खेल जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।

नेपालले अघिल्लो दिन ओमानमाथी ३९ रनको महत्वपूर्ण विजय हात पारेको थियो । समूह ‘बी’ को अर्को खेलमा घरेलु टोली ओमानले क्यानाडालाई ९ विकेटले पराजित गरेको छ । नेपालको ४ तथा ओमान र क्यानाडाको २–२ अंक छ । फिलिपिन्स पहिलो दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा यूएई, आयरल्यान्ड, बहराइन र जर्मनी छन् । सेमिफाइनल जित्ने दुई टोली अस्ट्रेलियामा यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×