नेपाल सेमिफाइनल नजिक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

नेपाल सेमिफाइनल नजिक

विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

फिलिपिन्सबाट जोर्डन एलेग्राले २७ रन बनाई अविजित रहे । ओपनर डायिनल स्मिथले २० रन र कप्तान जोनाथन हिल्सले ११ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चे । जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र पहिलो खेल खेलिरहेका गुलशन झाको नाममा १–१ विकेट रहयो ।

यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा १ सय ७१ रनको साझेदारी गरी नेपाललाई विशाल स्कोरमा उभ्याएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी साझेदारी हो । कुशल १ सय ४ रन बनाई अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।

कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

३२ बलमा अर्धशतक पुरा गरेका कुशल भुर्तेलले ६१ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । उच्च फर्ममा रहेका दीपेन्द्र ४७ बल खेली ६ चौका र ७ छक्का प्रहार गरे ।

नेपालले पुन: एक पटक राम्रो सुरुआत गर्न सकेको थिएन । आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै शुन्यमा आउट भए । आफुले सामना गरेको पहिलो बलमै आसिफलाई डानियल स्मिथले एलबीडब्लु आउट गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेको कुशल मल्ल १० बलमा १२ रन बनाई मिगी पोडोस्कीको बलमा आउट भए । कुशल नेपालको १४ सदस्यीय टोलीमा रहेका थिएनन् । तर भेट्रान शरद भेषावकर एङकलको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मौका पाएका कुशललाई शनिबार फिलिपिन्सविरूद्ध सोझै खेल्न दिइएको थियो ।

यसै प्रतियोगितामार्फत ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेको फिलिपिन्सविरूद्ध ओमनले अघिल्लो दिन २ सय १६ रन बनाउदै खेल १ सय १८ रनले खेल जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।

नेपालले अघिल्लो दिन ओमानमाथी ३९ रनको महत्वपूर्ण विजय हात पारेको थियो । समूह ‘बी’ को अर्को खेलमा घरेलु टोली ओमानले क्यानाडालाई ९ विकेटले पराजित गरेको छ । नेपालको ४ तथा ओमान र क्यानाडाको २–२ अंक छ । फिलिपिन्स पहिलो दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा यूएई, आयरल्यान्ड, बहराइन र जर्मनी छन् । सेमिफाइनल जित्ने दुई टोली अस्ट्रेलियामा यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति गर्ने छैन : थापा

'केही वर्षयताका पटकपटकका घटनाक्रमले राजसंस्था संविधानको परिधिभित्र राष्ट्रियता र एकताको प्रतिकको रूपमा रहन सक्नेबारे गम्भीर प्रश्न र आशंका खडा भएको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा, नेपालका अध्यक्ष कमल थापाले अब राजा वा राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन् । पार्टी घोषणा कार्यक्रममा थापाले अब नयाँ विचार केन्द्रित राजनीति गर्ने बताए । 

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा थापाले राजसंस्थालाई सम्मान गर्ने तर त्यसलाई केन्द्रमा राखेर राजनीति नगर्ने घोषणा गरे । 'राप्रपा, नेपाल आगामी दिनमा राजसंस्थालाई सम्मान गर्ने नीति अख्तियार गर्नेछ । तर, राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति होइन, जनताकेन्द्रित राजनीतिक गर्दछ,' उनले भने ।

थापाले लोकतान्त्रमा आधारित राजनीति गर्ने बताए । 'राप्रपा, नेपाल संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दछ । राप्रपा, नेपाल लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्दछ । यसमा कोही साथीहरू भ्रममा नपर्नको निमित्त आग्रह गर्दछु,' उनले भने, 'राजसंस्थाप्रति सम्मान जनतामा आधारित राजनीति र लोकतान्त्रिक प्रणाली अबको हाम्रो बाटो हुनेछ भन्ने कुरा निवेदन गर्न चाहन्छु ।'

पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मलाई स्मरण गरेका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भने नाम लिएनन् । उनले राष्ट्रिय एकीकरमा पृथ्वीनारायण शाह, प्रजातन्त्र स्थापनामा त्रिभुवन शाह, नेपालको आधुनिकीकरण र राष्ट्रियताको सम्बर्धनमा महेन्द्र शाह र पूर्वाधार विकासमा वीरेन्द्र शाहले पुर्‍याएको योगदानको उच्च मूल्यांकन र प्रशंसा गरेका थिए ।

उनले नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक, राजनीतिक, परिवेशमा राजनीतिभन्दा माथि उठेको सेरेमोनियल, संवैधानिक राजसंस्था उपयुक्त हुँदा पनि पछिल्ला घटनाले त्यस्तो कुराको खण्डन गरेको बताए । 'केही वर्षयताका पटकपटकका घटनाक्रमले राजसंस्था संविधानको परिधिभित्र राष्ट्रियता र एकताको प्रतिकको रूपमा रहन सक्नेबारे गम्भीर प्रश्न र आशंका खडा भएको छ,' उनले भने ।

प्रकाशित : फाल्गुन ७, २०७८ १४:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×