एपीएफले रेलिगेसन टार्‍यो

राजु घिसिङ

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुरुका तीनै खेल हारेपछि संकटमा परेको थियो । धेरैले अनुमान गरेका थिए, अब एपीएफ ए डिभिजनमा अडिँदैन । त्यसपछि विदेशी खेलाडी अनुबन्ध गर्ने पहिले विभागीय टिम हुँदै एपीएफले लय समात्यो । नामै नचलेका एपीएफका आफ्नै खेलाडीले पनि राम्रै खेल्न थाले । सुधारिएको खेललाई निरन्तरता दिँदै एपीएफले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बिहीबार मनाङ मर्स्याङदीलाई ३–१ स्तब्ध पार्‍यो ।

एपीएफले रेलिगेसन टार्‍यो

दशरथ रंगशालामा आशिष लामा, मणिकुमार लामा र कप्तान नवीन लामाको गोलमा यो लिगमा अपराजित यात्रा आठौं खेल पुर्‍याउँदै एएपीएफ ११ खेलबाट १४ अंकसहित आठौं स्थानमा उक्लियो । यससँगै एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कायमै रहने निश्चित गर्‍यो । ३ जित, ५ बराबर र ३ हारको नतिजा निकाले एपीएफले रेलिगेसन क्षेत्रको टिमलाई ७ अंकले पछाडि पार्‍यो । हिमालयन शेर्पा (१३ अंक), पुलिस (११), जावलाखेल (१०), फ्रेन्ड्स (७), ब्रिगेड ब्वाइज (७) र च्यासल युवा क्लब (६) छन् । यसपालि पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।

‘मनाङ कठिन टोली हो, लिगको दोस्रोमा छ,’ लिगमा मनाङविरुद्ध एपीएफलाई १५ वर्षयता पहिलो जित दिलाएका प्रशिक्षक कुमार थापाले भने, ‘खेलाडीले मिहिनेत गरे । पछाडि परेर पनि कमब्याक गरे । यो बानी राम्रो भइरहेको छ । यसमा खुसी छौं । अब यस वर्ष रेलिगेसन टर्‍यो । एकदम खुसी छौं ।’ २०६२ सालमा मनाङ ए डिभिजन लिग हुँदाका कप्तान हुन् उनी । त्यसपछि उनी एपीएफ पुगे । त्यही वर्ष (२०६३) एपीएफले मनाङलाई २–१ ले हराएको थियो । त्यसयता लिगमा एपीएफले मनाङमाथि जित पाएको यसैपालि हो । थापाले प्रशिक्षकको रूपमा पनि यसपल्ट नै लिगमा डेब्यु गरेका हुन् ।

आफ्नो पूर्वक्लबमाथिको जितबारे प्रशिक्षक थापाले भने, ‘फुटबल भनेको अहिले हो, मैले त्यो प्रमाणित गरें । हिजो त के थियो के थियो भोलि कहाँ हुन्छ थाह छैन । अहिले रिजल्ट ल्यायौं । इतिहास त छँदै छ । धेरै पछाडि मनाङलाई पराजित गर्दा खुसी छौं ।’ कीर्तिमान आठपल्टको लिग च्याम्पियनको प्रदर्शनबारे उनी बोले, ‘मनाङ सधैं राम्रो टिम हो, के मिलिरहेको छैन, मैले बुझिरहेको छैन ।’ मनाङ २० अंकसहित दोस्रोमा यथावत रह्यो ।

पछिल्ला तीन खेलमा १ अंकमात्रै जोडेको मनाङले तेस्रो हारसँगै आर्मी (१९ अंकसहित तेस्रोमा) सँगको अन्तर ४ अंक बनाउने अवसर गुमायो । उपाधि भने ११ खेलमा २९ अंक जोड्दै मछिन्द्रले दुई खेल बाँकी छँदै कब्जा गरिसकेको छ । त्यसैले अब दोस्रो स्थानका लागि मनाङ, आर्मी, थ्रीस्टार (१८ अंक) र एनआरटी (१७) को चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यी चार टिम ३ अंकभित्र छन् ।

एपीएफले दुई साताअघि पोखारामा पहिलोपल्ट आहा–रारा गोल्डकप उपाधि जित्दा पनि फाइनलमा मनाङलाई २–२ को बराबरीपछि पेनाल्टी शुटआउटमा सिकार बनाएको थियो । ‘पोखरामा रमाइलो गर्न गएका थियौं, प्रतियोगिता पनि जित्यौं । आहा–रारा जितेपछि खेलाडीमा गर्नुपर्छ भन्ने उच्च आत्मविश्वास थियो । त्यो प्रमाणित भयो,’ प्रशिक्षक थापाले भने, ‘यो नतिजा पहिला नै सोचेका थियौं । सुरुका तीन हारपछि चुनौती बढेको र विभिन्न पोजिसनमा नयाँ खेलाडी ल्याएपछि टिममा परिवर्तन आएको हो ।’

एपीएफले जापानी गोलकिपर युया कुरियामाको गल्तीमा ३६ औं मिनेटमा गोल बेहोरेको थियो । गोलकिपर विशाल सुनारले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बललाई अघि बढिसकेका युयाले क्लियर गर्न सकेनन् र त्यसैलाई कप्तान अञ्जन विष्टले खाली पोस्टको दिशा दिँदै मनाङलाई १–० को अग्रता दिलाएका थिए । तर, आशिषले ४० औं मिनेटमै गोल गर्दै एपीएफलाई बराबरीमा फर्काए । सब्स्टिच्युट मणिले ८२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै २–१ को अग्रता दिलाए । गोलकिपर विशालले नियन्त्रण गर्न नसकेका बलमा नवीनले ८७ औं मिनेटमा गोल गरेर एपीएफको सनसनीपूर्ण जित पक्का गरिदिए । मनाङले तीनै गोल आफ्नै गल्तीमा बेहोरेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी १–० ले संकटालाई हराएर शीर्ष पाँचमा उक्लियो । स्टेफेन समीरले २८ औं मिनेटमा गोल गरेपछि एनआरटीले चौथो जित हात पारेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७८ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?