ब्याडमिन्टनको ‘स्वर्णिम पुस्ता’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याडमिन्टनको ‘स्वर्णिम पुस्ता’

कुशल तिमल्सिना

काठमाडौँ — कोरोना भाइरस महामारीयता पनि राष्ट्रियस्तरका ३–४ वटा ब्याडमिन्टन प्रतियोगिता आयोजना भए । त्यसमध्ये जुनियरबाट सिनियरमा पुस्तान्तरण हुँदै गरेका प्रिन्स दाहालले दुई उपाधि जिते । अर्को एउटा उपाधि प्रिन्सलाई नै हराएर दीपेश धामीले हत्याए । यसले घरेलु प्रतियोगितामा युवा खेलाडीबीच तीव्र प्रतिस्पर्धा दर्शाउँछ ।

नेपालका नम्बर एक रत्नजित तामाङ, विकास श्रेष्ठ, साजनकृष्ण ताम्राकार, युवा खेलाडी प्रफुल महर्जनलगायत प्रतिभावान खेलाडीलाई नेपालको एउटा उत्कृष्ट पुस्ता मान्न थालिएको छ । यी खेलाडीहरूले १३ औं दक्षिण एसियाली खेलकुदमा ५ पदक जितेका थिए । नेपाली ब्याडमिन्टनको सात दशक लामो इतिहासमा यो नै उत्कृष्ट पुस्ता भने होइन । ब्याडमिन्टनको तेस्रो पुस्ताका रूपमा खेलाडीहरू यस्ता थिए, जसले राष्ट्रिय प्रतियोगितामा च्याम्पियन र अन्तर्राष्ट्रिय प्रतियोगितामा चर्चित विदेशी खेलाडीलाई हराउने सामर्थ्य राख्थ्यो । उनीहरूले नेपाली ब्याडमिन्टनलाई गर्विलो विरासत दिएका छन् । यसलाई नेपाली ब्याडमिन्टनको ‘स्वर्णिम पुस्ता’ मानिन्छ ।

प्रदीपविक्रम शाह, प्रताप अधिकारी, प्रकाशध्वज राणा, नरेशबहादुर सिंह, रामजीबहादुर श्रेष्ठलगायतका खेलाडीले २०३५ देखि २०५० सम्म नेपाली ब्याडमिन्टनमा राज गरे । राजधानी केन्द्रित नेपाली खेलकुदमा यो पुस्ताले आफ्नो गौरवगाथा कोर्न त्रिपुरेश्वरस्थित ब्याडमिन्टन कोर्टलाई राम्रै उपयोग गरे ।

‘हाम्रो समयमा धेरै खेलाडी थिए । अन्य घरेलु प्रतियोगिता त हुन्थ्यो तर हाम्रो मुख्य ध्यानचाहिँ राष्ट्रिय प्रतियोगितामै हुन्थ्यो,’ दुईपल्टका राष्ट्रिय च्याम्पियन प्रताप अधिकारीले स्मरण गरे, ‘राष्ट्रिय च्याम्पियन भइसके पनि त्यसलाई कायम राख्नु झन् ठूलो चुनौती हुन्थ्यो । किनभने हामीबीच स्वस्थ प्रतिस्पर्धा थियो ।’

नेपालको ब्याडमिन्टनमा पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव भएका किशोरबहादुर सिंहसहित बलराम केसी, पुरुषोत्तम केसी, जेएल अमात्यहरूले पहिलो पुस्ताका रूपमा लामो समय जिम्मेवारी निभाए । उनीहरूलाई राजेन्द्रबहादुर विष्ट, उदय श्रेष्ठ, अशोक श्रेष्ठ, कुमुद त्रिपाठीहरूले प्रतिस्थापन गरे । दोस्रो पुस्ताले आफ्नो दरिलो उपस्थिति जनाउन नपाउँदै प्रदीपविक्रमजस्ता प्रतिभावान खेलाडी निस्किए ।

२०४२ सालको तेस्रो राष्ट्रिय खेलकुदमा च्याम्पियन वाग्मती टिम । बायाँबाट क्रमश: नरेशबहादुर सिंह, प्रकाशध्वज राणा, प्रताप अधिकारी, चन्द्रकृष्ण चक्रधर र रामजीबहादुर श्रेष्ठ ।

प्रदीप नेपाली ब्याडमिन्टनका यस्ता इतिहास हुन्, जसले एकै प्रतियोगितामा सिनियर र जुनियरको उपाधि उचालेका थिए । २०३४ सालमा प्रदीप जुनियरबाट राष्ट्रिय च्याम्पियन भएको तीन वर्ष भइसकेको थियो । सिनियरतर्फ पहिलो सहभागितामै उनले दुवै विधाको उपाधि जितेर दुर्लभ कीर्तिमान बनाए, जुन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । त्यसपछि लगातार चार संस्करण उनलाई कसैले रोक्न सकेन ।

‘त्यतिबेला मैले कसैसँग पनि हार्नुपरेन । मेरो नेट कन्ट्रोल र स्ट्रोक राम्रो थियो । हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि धेरै सफलता निकाल्यौं,’ कान्तिपुरसँग प्रदीपले भने । सन् १९७८ को बैंकक एसियाड र १९८२ को दिल्ली एसियाडमा प्रदीपले नेपाली ब्याडमिन्टनको प्रतिनिधित्व गरेका थिए । खेलजीवनको सबैभन्दा उत्कर्ष समय अर्थात २१–२२ वर्षे उमेरमै उनले सबैभन्दा माया गर्ने खेललाई चटक्कै छाडिदिए ।

किन त ? त्यसमा प्रदीपको आफ्नै तर्क छ । २०३७ सालमा उनी बुबासँग तीर्थयात्रामा निस्किए । बद्रीनाथ, केदारनाथको यात्रापछि उनको परिवार मुम्बई पुग्यो । स्थानीय प्रतियोगिताहरूमा सहभागिताको अवसर पाएपछि प्रदीप केही समय उतै रहे । ‘टाइम्स अफ इन्डियामा ४–५ वटा प्रतियोगिताको सूचना देखेपछि बुबाकै आग्रहअनुसार खेल्न थालें । पहिलो र दोस्रो प्रतियोगितामा सेमिफाइनल र फाइनलमा पराजित भएँ । मुम्बईमा ५–६ महिना बस्दा मैले त्यहाँ सहभागी सबै प्रतियोगिता जितें ।’

भारतको महाराष्ट्र स्तरीय प्रतियोगिताहरूमा छोटो समयमै स्थापित बनेका प्रदीपको चर्चा त्यतिबेला चुलियो, जतिबेला उनले भारतका नम्बर थ्री खेलाडी इकवाल मेनदार्कीलाई हराए । ‘त्यसपछि त टाइम्स अफ इन्डियाले समेत मेरो फोटोसहित ‘जायन्ट किलर फ्रम नेपाल’ शीर्षकमा सामाचार छाप्न थाल्यो,’ प्रदीप सम्झन्छन्, ‘चेन्जिङ रूममा रेल्वे, फर्टिलाइजरजस्ता कम्पनीका एजेन्टहरू मलाई अनुबन्धनका लागि आकर्षक प्रस्ताव लिएर आउँथे । बस्न क्वाटर, मासिक भत्ता आदि दिने सर्तसहित ।’

नेपालको राष्ट्रिय च्याम्पियनले भारतमा व्यावसायिक ब्याडमिन्टन खेल्न लागेको कुरा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहलाई मनपरेन । प्रदीपलाई नेपाल झिकाइयो । ‘भारतमा मैले त्यत्रो नाम र दाम कमाउन थालेको थिएँ । नेपालमा आएपछि फेरि उही दैनिकी, कसैले मतलब नगर्ने, राम्रो गरेकामा सम्मान नपाउने भएपछि एक किसिमको प्रतिशोधजस्तो भयो,’ २२ वर्षकै उमेरमा उनी अमेरिका हानिनुको कारण सुनाए । अमेरिकाबाट थाइल्यान्डमा केही समय बसे । उनले ब्याडमिन्टनलाई चटक्कै छाडे । भनौं, माया मारे । त्यो निर्णयका लागि उनलाई अहिले पछुतो लाग्छ । लामो समयसम्म उनले ब्याडमिन्टन बिर्सन सकेनन्, तर फर्केर आउने वातावरण पनि बनेन ।

‘प्रदीप नेपाली ब्याडमिन्टन इतिहासमै मैले देखेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । हामी सँगै खेल्ने भए पनि उनको स्तर हामीभन्दा धेरै माथि थियो । उनी भारतमा व्यावसायिक ब्याडमिन्टन खेलेका खेलाडी । प्रकाश पादुकोण र सैयद मोदीबाहेक सबैलाई हराएका खेलाडी हुन् । उनले ५ वर्षजति थप खेलिदिएका भए नेपालको स्तर भारतभन्दा माथि जान्थ्यो,’ प्रदीपका टिममेट तथा हाल नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रहेका रामजीबहादुर श्रेष्ठले सुनाए ।

स्वर्णिम पुस्ताका अर्का खेलाडी हुन् प्रताप अधिकारी । उनी यो समूहका सिनियर थिए । तर प्रतिस्पर्धा यस्तो थियो कि प्रतापलाई राष्ट्रिय च्याम्पियन बन्न धेरै वर्ष कुर्नुपर्‍यो । उनी २०४२ र २०४५ का राष्ट्रिय च्याम्पियन हुन् । २०४२ सालको तेस्रो राष्ट्रिय खेलकुदमा उनले खेलेका चारै विधामा स्वर्ण जितेका थिए । २०३४ सालमा चीनमा सम्पन्न एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा जुनियर हुँदाहुँदै सिनियरबाट डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै उनको भेट भारतीय सुपरस्टार प्रकाश पादुकोणसँग भयो । ‘अल इंग्ल्यान्ड च्याम्पियन, भारतका नम्बर एक भन्नेबित्तिकै एउटा संकोच भइहाल्यो, तर मैले कोर्टभित्र शतप्रतिशत योगदान दिएँ,’ भारतकी चर्चित नायिका दीपिका पादुकोणका पिता प्रकाशसँगको खेलबारे प्रतापले सम्झिए, ‘त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय परीक्षा थियो । हामी धेरै पछि थियौं ।’

यो पुस्ताले वर्षमा चारवटासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पायो । एसियाली खेलकुद, ब्याडमिन्टन विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, थोमस कप, ब्याडमिन्टन विश्वकपलगायतका प्रतियोगितामा नेपालको नियमित सहभागिता रहन्थ्यो । सन् १९७९ मा चीनको होचाओ सहरमा आयोजित पहिलो विश्वकपमा १८ देशमध्ये नेपाल छैटौं भएको थियो । नेपालले टिम इभेन्टमा नाइजेरिया र श्रीलंकालाई हराएको थियो । त्यसमा एक–एक खेल प्रतापले जितेका थिए ।

सन् १९८६ को सोल एसियाली खेलकुदमा मलेसियाका मिसबुन सिडेकसँगको खेल प्रतापका लागि करिअरकै अविस्मरणीय थियो । पुरुष एकलतर्फ विश्व नम्बर दुई मिसबुनविरुद्ध पहिलो सेट १५–८ को अन्तरमा गुमाएका उनी दोस्रो सेटमा ११–६ को अग्रता लिँदालिँदै हार्न पुगे । ‘विश्वको शीर्ष नम्बरमा रहेकाहरूसँग त्यसरी खेल्न सक्नु नै मेरा लागि जिते बराबर थियो, त्यहाँ तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्ट, सदस्य–सचिव शरदचन्द्र शाहले मेरो खेल हेर्नुभएको थियो । त्यही आधारमा त्यो वर्ष मैले स्पोर्ट्सम्यान अफ द इयरको अवार्ड जितेको थिएँ,’ पूर्वच्याम्पियन प्रताप सम्झन्छन् ।

टिमको सिनियर र परिपक्व खेलाडीको नाताले प्रतापलाई ‘तुरुप कार्ड’ का रूपमा प्रयोग गरिन्थ्यो । दिल्ली एसियाली खेलकुदमा थाइल्यान्डलाई हराउँदा १ घण्टा १७ मिनेटको म्याराथन सेट खेलेको सम्झनाले मात्रै पनि उनलाई छुट्टै ऊर्जा दिन्छ ।

‘प्रदीप, प्रकाश, नरेश, रामजी र म थियौं । हामीले चीनमा दुई महिनाको प्रशिक्षणपछि दिल्ली पुगेका थियौं । टिम इभेन्ट्समा तेस्रो सिंगल्समा मेरो पालो थियो । मैले त्यो खेल जितें तर खेल सकिँदासम्म म उभिन नसक्ने स्थितिमा पुगिसकेको थिएँ,’ प्रतापले स्मरण गरे । यस्ता नतिजाहरूले नेपाली टिमले विदेशीमा राम्रो छवि बनाएको थियो ।

राष्ट्रिय प्रतियोगिताका अलावा टण्डन प्राइजमनी, तत्कालीन शाही नेपाल वायुसेवा निगमले गर्ने इन्टर कर्पोरेसन कप, जनकपुर चुरोट कारखानाले गर्ने महारानी वर्थडे कप, वाग्मती अञ्चलस्तरीय प्रतियोगिताहरूमा यी शीर्ष खेलाडीको प्रतिस्पर्धा रोचक रहन्थ्यो । ‘२०–४४ को कोर्टभित्र हाम्रो निकै नै कडा प्रतिस्पर्धा रहन्थ्यौं । कसले जित्छ भन्नै नसकिने । तर कोर्टबाहिर परिवारका सदस्यजस्तै थियौं,’ प्रतापले ती दिन सुनाए ।

२०४५ सालमा दोस्रोपल्ट राष्ट्रिय च्याम्पियन भएकै वर्ष उनले भारतको पटियालामा ब्याडमिन्टन एडभान्स प्रशिक्षण कोर्स गर्ने अवसर पाए । पहिलो श्रेणीमा प्रशिक्षण कोर्स पूरा गरेका उनलाई फर्किएर प्रशिक्षक बन्न भने चार वर्ष लाग्यो । बल्लबल्ल प्रशिक्षण सम्हालेका थिए राखेपबाट अवकाश भए । ‘राखेपबाट अनावश्यक कर्मचारीलाई अवकाश दिने निर्णयअनुसार तपाईंलाई पदमुक्त गरिएको छ भन्ने आशयको पत्र पढ्दा मलाई धेरै नै नरमाइलो लाग्यो । यतिका वर्ष नेपालको नाम शिरमा राखेर खेलेको म त अनावश्यक पो भएछु,’ त्यतिबेला दुःख लागेको प्रसंग प्रतापले सुनाए ।

२०४४, ०४८ र ०५१ सालका राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ त्यतिबेला फुटबलभन्दा ब्याडमिन्टन लोकप्रिय रहेको दाबी गर्छन् । ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याडमिन्टनको माहोल बेग्लै थियो । एकसेएक प्रतिभाशाली खेलाडीहरूको प्रतिस्पर्धा रहन्थ्यो । सबैको स्तर एकैखाले थियो,’ उनले भने, ‘त्यतिबेला परम्परागत ब्याडमिन्टन खेलिन्थ्यो । त्यो समयमा हामीले राम्रो गरेका हौं । यसैलाई स्वर्णिम पुस्ता भन्ने नभन्ने अरूको कुरा हो, तर हामी समयअनुसार परिमार्जित छौं, हरेकपल्ट वर्तमान पुस्ता नै राम्रोजस्तो लाग्छ ।’

वर्तमान अध्यक्ष श्रेष्ठले ८ वर्षदेखि नेपाली ब्याडमिन्टनले निकै नै राम्रो प्रदर्शन गरिरहेको दाबी पेस गरे । ‘हाम्रो समयमा हामीले स्वर्णिम प्रदर्शन गरेका छौं । तर समय गतिशील छ र पुरानो पुस्ताको विरासत कायम राखेर अगाडि बढ्नु चुनौती पनि छ । आधुनिक समयमा प्रतिस्पर्धा बढेको छ । स्तर माथि पुगिसकेको छ । पहिले १०–१२ र्‍याली हुन्थ्यो भने अहिले २०–२२ र्‍यालीसम्म पुगेको छ,’ उनले भने, ‘समय यसरी परिवर्तन भइरहेको छ कि दशकदेखि राष्ट्रिय च्याम्पियन भइरहेका रत्नजित, दीपेशहरूलाई जुनियरबाट आएका प्रिन्सको स्पिडसँग खेल्न कठिन भइसकेको छ । निकट भविष्यमा प्रिन्सजस्ता थुप्रै प्रतिभाहरू आउँदैछन् ।’

इन्चोन एसियाडमा पाचौं, सन् २०१६ र ०१७ मा गरी दुईपल्ट पाकिस्तान इन्टरनेसनल सिरिजमा स्वर्ण, १३ औं सागमा पाँच पदक, नेपाल इन्टरनेसनल च्यालेन्जमा कांस्य, जुनियर प्रतियोगिताहरूको सफलतालगायत उपलब्धिले ब्याडमिन्टनको वर्तमान पुस्ता कमजोर नरहेको तर्क श्रेष्ठको छ ।

‘हाम्रो समयपछि नेपालमा राजनीतिक परिवर्तन भयो । जनयुद्ध भयो । त्यसको असर खेलकुदमा पनि निश्चित रूपमा रह्यो । त्यसैले हाम्रो सफलता कायम राख्न सकिएन होला तर दोस्रो जनआन्दोलनपछिको समयमा नेपालले ब्याडमिन्टनमा धेरै प्रगति गरेको छ । पशुपति पनेरु, बलराम थापा, पूजा श्रेष्ठ, सुमिना श्रेष्ठ, सरादेवी तामाङहरूले अहिलेको सफलताको जग राखेका हुन्, त्यसपछि रत्नजित र प्रिन्ससम्मका खेलाडीहरू नेपाली ब्याडमिन्टनको विरासत फर्काउन लागिरहेका छन्,’ अध्यक्ष श्रेष्ठले थपे ।

लोकप्रिय खेल ब्याडमिन्टन

ब्याडमिन्टन संघको बुझाइमा अहिले नेपालमा सबैभन्दा धेरै खेलिने खेल नै ब्याडमिन्टन हो । नेपालको सबै क्षेत्रमा खेलिने र राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीको सहभागिता संख्याका आधारमा संघको दाबी हो यो । राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ झन्डै ३ सय र महिलातर्फ डेढ सय खेलाडीको नियमित सहभागिताले पनि ब्याडमिन्टनको लोकप्रियता पुष्टि गर्छ । तर उनीहरूलाई तिखार्ने प्रशिक्षक पर्याप्त खोइ त ? राखेपमा सातजना ब्याडमिन्टन प्रशिक्षक छन् । संघले लेभल १ तालिम दिएर तयार पारेका ५० भन्दा बढी प्रशिक्षक कहाँ के गर्दैछन् ? संघसँग कुनै लगत छैन ।

युवा खेलाडीको प्रदर्शनका आधारमा नेपाली ब्याडमिन्टन नयाँ इतिहास कोर्न सक्षम छ, ताकि भविष्यमा उनीहरूलाई नै ब्याडमिन्टनको स्वर्णिम पुस्ताका रूपमा चिनियोस् ।

प्रकाशित : फाल्गुन १, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफ प्रधानमन्त्री कप च्याम्पियन

आसिफ शेख सर्वोत्कृष्ट खेलाडी, कुशल भुर्तेल उत्कृष्ट ब्याटर र अनिल खरेल उत्कृष्ट बलर
कुशल तिमल्सिना

काठमाडौँ — नेपाल एपीएफ क्लब ट्वान्टी–२० फर्म्याटमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार सम्पन्न फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्‍यो ।

कोभिड–१९ प्रभावित फाइनलमा दुवै टोलीका केही प्रमुख खेलाडी अनुस्थित थिए । एपीएफका कमलसिंह ऐरी तथा पुलिसका करण केसी र कुशल भुर्तेल ‘स्वास्थ्य समस्या’का कारण सेमिफाइनलदेखि नै खेलमा थिएनन् । ‘कोरोना महामारीको असर सबैतिर परेको छ । महामारीको जोखिमबीच पनि क्रिकेट भने रोकिएन । प्रतियोगिता सम्पन्न हुनु नै ठूलो कुरा भयो,’ विजेता एपीएफका कप्तान शरद भेषावकरले भने ।

फाइनलमा पुलिसका दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन छायाँमा पार्दै एपीएफ उपाधि उचाल्न सफल रह्यो । रााष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रम र बजेटमा आयोजना हुँदै आएको प्रधानमन्त्री कपको अघिल्लो तीन संस्करण एकदिवसीय संरचनामा भएको थियो । एपीएफ पहिलो संस्करणको उपाधि विजेता हो । यो प्रतियोगिताभर ब्याटिङ र बलिङमा सन्तुलित देखिएको एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मीमाथि ४७ रनको जित रचेको थियो ।

‘आसिफ शेख र प्रदीप ऐरीले प्रतियोगिताका सबै खेलमा राम्रो सुरुआत दिलाए । बलरहरूले उचित समयमा विकेट निकाल्न सके । समग्र टिमको शतप्रतिशत प्रयासमा यो सफलता मिलेको हो,’ कप्तान शरदले भने ।


फाइनलमा टस हारेर ब्याटिङ गरेको एपीएफ इनिङ्सको १ बल बाँकी छँदा १ सय ५७ रनमा अलआउट भयो । टोलीको सुरुआत राम्रो रहेन । सेमिफाइनलमा अर्धशतकीय योगदान गरेका ओपनर प्रदीप ऐरी (७), आसिफ शेख (९) र लोकेश बम (२७ रन) अपेक्षाकृत चाँडै आउट हुन पुगे । दीपक बोहरा ६ र पुरन बिक खाता खोल्नै नपाई पेभेलियन फर्कन बाध्य हुँदा एपीएफ ६.२ ओभरमा ६२–५ को स्थितिमा थियो । अघिल्लो खेलमा १४ बलमै कीर्तिमानी अर्धशतक प्रहार गरेका लोकेशले १५ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

सन्दीप जोराले २० बलमा २४ र कप्तान शरदले २५ बलमा १९ रन जोडेर आउट हुँदा एपीएफ सस्तैमा अलआउट हुने जोखिममा पुगेको थियो । तर, आठौं विकेटका लागि भुवन कार्की र अमरसिंह राउटेलाले ४२ रनको साझेदारी गरेपछि एपीएफले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सक्यो । अमरले १५ बलमा ३ छक्का र २ चौकासहित २९ रनको योगदान गरे । भुवनले १७ रन जोडे । अन्तिम विकेटका रूपमा आउट भएका किशोर महतोले ८ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३–३ विकेट लिए । गुलशन झाले २, आसिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

जवाफमा दीपेन्द्रले ६५ रनको उत्कृष्ट अर्धशतकीय योगदान गरे पनि पुलिसलाई जित दिलाउन सकेनन् । अन्य ब्याटरको प्रदर्शन एकरुपको हुन सकेन । प्रमुख ब्याटर तथा ओपनर कुशल भुर्तेलको अभाव बेहोरेको पुलिसका लागि चौथो नम्बरमा आएर अन्तिम ओभरमा आउट भएका दीपेन्द्रले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।


सर्वोत्कृष्ट खेलाडी घोषित आसिफ शेख ।

किशोर महतोले इनिङ्सको पहिलो बलमै पवन सर्राफलाई सन्दीप जोराबाट क्याचआउट गरेपछि नै पुलिस दबाबमा आइसकेको थियो । शीर्षक्रममा अमित श्रेष्ठले ३ र अनिल साहले १० रनमात्र बनाउन सके । एउटा एन्डबाट दीपेन्द्रले रन जोडिरहे पनि अर्को एन्डबाट विकेट झर्नेक्रम रोकिएन ।

दिलीप नाथ (२३) र दीपेन्द्रले पाँचौं विकेटका लागि ५६ रनको अर्धशतकीय साझेदारी गरे । अन्तिम तीन ओभरमा एपीएफका मिडियम पेसरद्वय अविनाश बोहरा र किशोरले कसिलो बलिङ गर्दा पुलिसले ७ विकेट गुमाई १ सय ३६ रनमात्र बनाउन सक्यो । प्लेयर अफ द फाइनल किशोरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अविनाश र अमरसिंह र दीपक बोहराले १–१ विकेट लिए ।

विजेता एपीएफले ५ लाख र उपविजेता पुलिसले ३ लाख रुपैयाँ पुरस्कार पाए । सेमिफाइनलमा पुगेका वाग्मती प्रदेश र त्रिभुवन आर्मीले ५०–५० हजार रुपैयाँ पाए ।

प्रतियोगिताको ६ खेलबाट २ सय २७ रन बनाएका एपीएफका आसिफ शेख सर्वोत्कृष्ट खेलाडी बने । उत्कृष्ट ब्याटर पुलिसका कुशल भुर्तेल चुनिए । उनले समूह चरणका ४ खेलमा १ सय ८३ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका अनिल खरेल उत्कृष्ट बने । उनले ४ खेलमा ११ विकेट लिएका थिए । यो पुरस्कार समूह चरणसम्मको प्रदर्शनका आधारमा मात्र प्रदान गरिएको हो । उत्कृष्ट बलर र ब्याटरले जनही २० तथा सर्वोत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : माघ ६, २०७८ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×